अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा

Avilekhayalaकाठमाडौँ, असोज १७ गते । विभिन्न दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखका रुपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्न स्थापना गरिएको राष्ट्रिय अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा परेको छ ।

मन्त्रिपरिषद्ले विसं २०७१ वैशाख २४ गते गरेको निर्णयअनुसार अभिलेखालय रहेको रामशाहपथस्थित भवन सर्वोच्च अदालतका लागि खाली गर्नुपर्नेछ । राष्ट्रियरुपमा महत्वपूर्ण दस्तावेज रहेको यो भवन सर्वोच्चको ग्यारेज बनाउन पटकपटक पत्राचार भइसकेको छ । मन्त्रिपरिषद्ले अभिलेखालयलाई नारायणहिटी दरबार सङ्ग्रहालयमा सार्ने निर्णय गरेको थियो ।

हाल रहेको स्थानबाट सारिए अभिलेखका रुपमा राखिएका दस्तावेज सुरक्षित नरहने आज आयोजित अभिलेखालयको ५१ औँ वार्षिकोत्सवका अवसरमा जानकारी गराइयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखालयमा सङ्ग्रह गरिएका बहुमूल्य चीजबीज दुरुस्त हुने सुनिश्चित नभएसम्म कहीँ नसारिने प्रतिबद्धता जनाउनुभयो ।

“यो विषयप्रति मन्त्रालयको गम्भीररुपमा ध्यानाकर्षण भएको छ, खेलाची तरिकाले अभिलेखालय सर्दैन, यो सार्नु अघि १०० चोटी सोच्नुपर्छ, अभिलेखालयलाई यहाँबाट नसार्न आवश्यक परे मन्त्रिपरिषद् बैठकमा पुनःविचारको प्रस्ताव लैजान्छु”, उहाँले भन्नुभयो ।

अभिलेखालय अरुले सार्न लागेको भए सर्वोच्चले नसार्न फैसला गर्नुपर्नेमा आफैँ पटकपटक पत्राचार गर्नु गलत रहेको मन्त्री अधिकारीको भनाइ थियो । खोज गर्ने ज्ञान केन्द्रका रुपमा यसको विकास गरिनुपर्नेमा उहाँको जोड थियो । यहाँ रहेका सामग्रीलाई प्रविधिको उपयोग गरी संरक्षण गरी बाहिर रहेका सामग्री जुटाउन लाग्न मन्त्री अधिकारीले निर्देशन दिनुभयो ।

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण सङ्ग्रह रहेको स्थलमा सर्वोच्चको ग्यारेज राख्ने विषय आपत्तिजनक रहेको बताउनुभयो ।

“अभिलेखालय हावापानी मिलाएर उपयुक्त स्थानमा बनाइएको छ, भूकम्प प्रतिरोधात्मक यो भवन अन्यत्र सार्दा यहाँका सामग्री रहँदैनन्, यसैले अन्त सार्ने कुरा मान्य हुन सक्दैन, ‘नवग्रन्थ’, ‘प्रज्ञापारमिता’ जस्ता दुर्लभ ग्रन्थ यहाँ छन्”, उहाँले भन्नुभयो ।

सिल्भाँ लेभीले अभिलेखालयमै बसेर दुई भागको नेपालको इतिहास लेखेको शताब्दी पुरुष जोशीले स्मरण गर्नुभयो । यहाँ बसेर अध्ययन गर्न चाहनेका लागि धेरै सामग्री एकै ठाउँमा जुटेकाले यसको संरक्षणमा सबैको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अभिलेख संरक्षण ऐन २०४६ र नियमावली २०६३ अनुसार ऐतिहासिक दस्तावेज संरक्षणका लागि अभिलेखालय सार्न नसकिने बताउनुभयो । इतिहास र संस्कृतिको अध्ययनका लागि महत्वपूर्ण केन्द्रका रुपमा यसको विकास गरिनुपर्ने उहाँको भनाइ थियो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले नेपालसम्बन्धी जानकारी लिने शोध केन्द्रका रुपमा रहेको अभिलेखालयले राजश्वसमेत राम्रो उठाइरहेको सुनाउनुभयो । यसै कारण हालै अभिलेखालयको स्तरवृद्धि भई विभागस्तरको कार्यालय बनेको उहाँले सार्वजनिक गर्नुभयो ।

अभिलेखालयकी निमित्त प्रमुख सौभाग्य प्रधानाङ्गले २०२४ असोज १७ गते स्थापना भएको संस्थामा हाल पाँचौँ शताब्दीदेखिका ताडपत्र, भोजपत्र र नीलपत्रमा लेखिएका ३२ हजार हस्तलिखित ग्रन्थ रहेको जानकारी गराउनुभयो । दुई लाख पुस्तकको माइक्रोफिल्म गरी सुरक्षितरुपमा राखिएको उहाँको भनाइ छ ।

अभिलेखालयले प्रकाशन गरेका पुस्तक, ऐतिहासिक दस्तावेजलगायत सामग्री आजैदेखि प्रदर्शनी शुरु गरिएको छ । प्रदर्शनी असोज २६ गतेसम्म जारी रहने जनाइएको छ । यहाँ धर्म, आयुर्वेद, ज्योतिष, तन्त्र आदि विषयका महत्वपूर्ण हस्तलिखित ग्रन्थ छन् ।

आठौँ शताब्दीको ‘सद्घर्मपुण्डरिक’, नवौँ शताब्दी शुरुवात ताकाको ‘स्कन्दपुराण’, सन् १३८० को जयस्थिति मल्लकालीन पहिलो लिखत कानूनका रुपमा रहेको ‘न्यायविकासिनी’ (मानवधर्म न्यायशास्त्र) जस्ता प्रसिद्ध हस्तलिखित ग्रन्थ पनि अभिलेखालयमा सुरक्षित छन् ।

यसैगरी ऐतिहासिक सरकारी कागजात सनद, सवाल, लालमोहर, स्याहा मोहर, एकछापे, द्विछापे, सन्धि सम्झौता र नेपालको पहिलो समाचारपत्रका रुपमा रहेको गोरखापत्र, द राइजिङ नेपाल, निजामती कर्मचारीको अभिलेख सुरक्षित रहेको जनाइएको छ ।

सो अवसरमा अभिलेखालयले यस वर्ष प्रकाशन गरेको ‘अजीर्णमञ्जरी’, ‘अनुपानमञ्जरी’ र ‘नेपाल र भारतका ऐतिहासिक दस्तावेजको अध्ययन’ को मन्त्री अधिकारीले विमोचन गर्नुभयो ।

‘अजीर्णमञ्जरी’ र ‘अनुपानमञ्जरी’ नामक दुई आयुर्वेदिक ग्रन्थका विषयमा समीक्षा गर्नुहुँदै सह प्रा डा सुदनकुमार पौडेलले गाउँघरमै पाइने जडीबुटीले अजीर्णलगायत रोगलाई ठीक गर्न सकिने तरिकाबारेमा पुस्तकमा चर्चा गरिएको उल्लेख गर्नुभयो । दुवै पुस्तकको सम्पादन डा छत्रपति दाहालले गर्नुभएको हो ।

‘नेपाल र भारतका ऐतिहासिक दस्तावेजको अध्ययन’ पुस्तकका बारेमा समीक्षा गर्नुहुँदै डा राजन खतिवडाले दुवै देशका प्राचीन परम्परालाई जान्न पुस्तक उपयोगी रहेको जानकारी दिनुभयो । दस्तावेज विभिन्न लेखकको लेखको सङ्ग्रह हो ।

सो अवसरमा ऐतिहासिक अभिलेख उपलब्ध गराउनुहुने पूर्वसचिव दुर्गानिधि शर्मा, प्रा जगतप्रसाद उपाध्याय र प्रकाश ढकाललाई सम्मान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter