सरकारले थाल्यो युवा स्वरोजगार कार्यक्रम

government logoरोल्पा, असोज २६ गते । युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् ।

गाउँ युवाबिहीन हँुदा विकास गतिविधिमा असर देखिन थालेपछि स्थानीयस्तरमै यस्तो कार्यक्रमको थालनी गरेको स्थानीय सरकारहरुले जनाएका छन् । व्यावसायिक कृषि तथा पशुपालनमार्फत गाउँघरमै रोजगारीका अवसर सिर्जना गर्नका लागि परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु ३० लाख बजेट विनियोजन गरेको बताएको छ ।

विनियोजित बजेटबाट बेरोजगार युवाहरुलाई व्यावसायिक कृषि तथा पशुपालनका लागि सहयोग गरिने गाउँपालिका अध्यक्ष नीमकान्त डाँगीले जानकारी दिनुभयो । ‘‘विदेश जाने मात्रा बढ्दै जाँदा दक्ष जनशक्ति अभाव देखिएकाले उनीहरुलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याएका हौँ’’ अध्यक्ष डाँगीले भन्नुभयो ।

रोल्पा नगरपालिकाले समेत नगरपालिका युवा स्वरोजगार कोष स्थापना गरेको छ । कोषमा चालु आर्थिक वर्ष रु ३० लाख विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुनले जानकारी दिनुभयो । कोषमा हरेक वर्ष बजेट थप्दै जाने बताइएको छ ।

कोषको रकमबाट नगरपालिकाभित्रका बेरोजगार युवालाई स्वरोजगार बनाउन विभिन्न तालीम तथा अन्य सहयोग गरिने बताइएको छ । कृषि तथा गैरकृषि क्षेत्रबाट युवालाई स्वरोजगार बनाउन कोष परिचालन गरिने बताइएको छ ।

एक घर एक रोजगारको अवधारणाअनुसार नगरपालिकाले प्राविधिक जनशक्ति उत्पादन गर्ने भन्दै हरेक वर्ष नगर क्षेत्रका एक सय विद्यार्थीलाई छात्रवृत्तीसमेत वितरण गर्दै आएको छ ।

‘‘कृषि, भेटनरी, स्वास्थ्य तथा इञ्जीनीयरिङ विषय अध्ययनका लागि छात्रवृत्ति वितरण गरेका छांैँ’’ नगर प्रमुख पूर्ण केसीले भन्नुभयो ‘‘छात्रवृत्तिले हरेक घरमा कम्तीमा एक जनालाई रोजगार बनाउन सहयोग गर्ने अपेक्षा गरेका छांैँ ।’’

देशभित्र रोजगारीको अवसर नभएको भन्दै रोल्पाबाट खाडीमूलुक जाने युवाको सङ्ख्या दिनानुदिन बढिरहेको बेला स्थानीय सरकारको यस्तो कदमले युवा जनशक्ति विदेश पलायनको समस्या कम हुने अपेक्षा गरिएको छ ।

सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट सडक निर्माणका लागि आउने बजेट समेत स्काभेटर प्रयोगमा खर्च गर्ने भएकाले घरदैलोमा आएको रोजगारीको अवसरबाट वञ्चित हँुदै आएका युवा बाध्य भएर वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

भारतबाहेक खाडी मुलुकमा जाने रोल्पाली युवा युवतीको सङ्ख्या करीब ४५ हजार रहको बताइन्छ । जिल्ला प्रशासन कार्यालय रोल्पाबाट साधारण र द्रुत सेवाबाट करीब ४९ हजारले राहदानी बनाएको तथ्याङ्क छ ।

अदक्ष कामदारको रुपमा विदेशिने उनीहरुको पारिश्रमिक समेत निकै कम हुने गरेको छ । जोखिमपूर्ण काम गर्न बाध्य रोल्पालीमध्ये हरेक वर्ष ठूलो सङ्ख्यामा लाश बनेर फर्कने गरेका छन् ।

विदेश जानेमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेको बताइन्छ । सबैभन्दा बढी उत्पादनशील जनशक्ति मानिने यो समूहका युवाको विदेश पलायनले जिल्लाका गाउँघर युवाबिहीन हुने मात्रै हैन खेतबारी बाँझिदा भविष्यमा विकराल अवस्था सिर्जना हुनसक्ने जिल्लावासीको चिन्ता रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter