व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य सङ्घलाई

Chitwanचितवन, असोज २८ गते । भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनले पाउने भएको छ । महानगरपालिका र सङ्घबीचमा यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो ।

दुई संस्थाको बीचमा भएको सम्झौतामा सङ्घले व्यवसाय दर्ता गर्न उत्प्रेरित गर्ने, कर सम्बन्धी ऐन, नियम तथा मापदण्डका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने, बक्यौता कर उठाउनेलगायतका कार्यमा सहयोग गर्नेछ । सङ्घले सो उद्देश्य प्राप्तिका लागि महानगरसँग सहकार्य गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार चार वर्षका लागि उद्योग वाणिज्य सङ्घसँग यो सम्झौता गरिएको हो । यसबाट महानगरमा व्यावसायिक कर बढ्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा महानगरले व्यावसायिक कर बापत रु पाँच करोड सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ । दायरा फराकिलो बनाउँदै लक्ष्यअनुरुप कर उठाउने उद्देश्यसाथ महानगरपालिका अघि बढेको उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले नयाँ व्यवसायीलाई करको दायरामा ल्याउन र कर नतिरेका पुराना व्यवसायीलाई कर तिर्न उत्प्रेरित गर्ने खालका कार्यक्रम सङ्घले गर्ने बताउनुभयो । करबापत आएको रकमबाट सार्वजनिक सरोकारका विकास निर्माण, व्यावसायिक हित र व्यवसायीलाई करको दायरामा ल्याउन खर्च गरिने सङ्घले जनाएको छ ।

महानगरपालिकामा दश हजार हाराहारी व्यवसाय रहेका छन् । तीमध्ये आधा मात्रै करको दायरामा आएको महानगरपालिकाले जनाएको छ । यसअघि नगरपालिका हुँदा २०५७ सालदेखि १० वर्षसम्म उद्योग वाणिज्य सङ्घलाई उठेको करको १५ प्रतिशत दिने गरी सम्झौता भएको थियो । तर २०६७ साल यता सम्झौता नवीकरण हुन सकेको थिएन । जनप्रतिनिधि आएपछि पुनः सम्झौता भएको हो । महानगरपालिकाले चालु आर्थिक वर्षमा व्यवसाय करसहित आन्तरिक आम्दानी रु ५५ करोड उठाउने लक्ष्य लिएको छ । गतवर्ष रु ३० करोड रुपैयाँ सङ्कलन गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter