राष्ट्रिय भाषामा अतिक्रमण भइरहेको छ – कार्यवाहक राष्ट्रपति पुन

Vice President Punकाठमाडौँ, कात्तिक १४ गते । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्र्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ ।

नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गर्नुभएका अवसरमा आयोजित अभिनन्दन समारोहमा उहाँले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको बताउनुभयो ।

कावा राष्ट्रपति पुनले भन्नुभयो, “नेपाल मै आयोजना हुने औपचारिक कार्यक्रम पनि सरकारी औपचारिक भाषालाई बिर्सेर विदेशमा भएका झैँ अङ्ग्रेजी भाषामा हुने गरेका छन् । सबै भाषा पढ्नुपर्छ, बोल्नुपर्छ, तर प्राथमिकता भने आफ्नै भाषालाई दिनुपर्छ ।”

कावा राष्ट्रपति पुनले राष्ट्रकवि घिमिरेले राष्ट्रको भाषा साहित्यमा गरेको योगदान अविस्मरणीय रहेको र उहाँका कृति कालजयी र अमर रहेको उल्लेख गर्नुभयो । कावा राष्ट्रपतिले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन पत्रले अभिनन्दन गर्नुभएको थियो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रकवि घिमिरेले मुलुकको भाषा साहित्यका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै परिषद्ले स्थापनाकालदेखि नै स्रष्टालाई जीवित अवस्थामै सम्मान गर्ने प्रचलनको शुरुआत गरेको स्मरण गर्नुभयो ।

वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले कवि घिमिरेका कृति राष्ट्रियताले ओतप्रोत भएको उल्लेख गर्दै उहाँका ‘अश्वत्थामा’ जस्ता कृतिलाई नोवेल पुरस्कारका लागि सरकारले सिफारिश गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा परिषद्का सचिव रमा शर्मा, कोषाध्यक्ष भीमबहादुर अधिकारी, सदस्यद्वय किरण थापा र लक्ष्मण थापाले परिषद्का अध्यक्षसमेत रहनुभएका राष्ट्रकवि घिमिरेले मुलुकका लागि गर्नुभएको योगदानको चर्चा गर्दै परिषद्का काम कारवाहीबारे प्रकाश पार्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter