भ्रष्टाचार न्यूनीकरण साझा एजेण्डा हुनुपर्छ – प्रमुख आयुक्त घिमिरे
भीमदत्तनगर, कात्तिक १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने धारणा राख्नुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालयको नवनिर्मित भवनको आज बिहान उदघाट्न गर्दै प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार न्यूनीकरण सबैको साझा एजेण्डा बने मात्रै उल्लेखनीय काम गर्न सकिने बताउनुभयो । मुलुकमा सङ्घीय, प्रदेश र स्थानीय गरी सबै सरकार स्थापित भइसकेको अवस्थामा मूलुकमा सुशासन स्थापना अबको मूल विषय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“सुशासन स्थापनाका लागि चुनौती पनि छन्, आयोग त्यसका निम्ती प्रतिवद्ध भएर अगाडि बढेको छ ।”
विकास निर्माणको काममा बेथिति रहेको बताउँदै प्रमुख आयुक्त घिमिरेले विकास निर्माणको काममा ढिलासुस्ती गर्नेमाथि आयोगले निगरानी बढाएको जानकारी दिनुभयो ।
घिमिरेले भन्नुभयो, “ हामीले मन्त्रालयबाट पनि ठेक्काको विवरण मागेका छौं, ८÷१० वटा निर्माण कम्पनीमाथि अनुसन्धान अघि बढेको छ ।” स्थानीयतहमा भ्रष्टाचार बढेको उजुरी आयोगमा धेरै आइरहेको बताउँदै उहाँले आयोगले सातवटै प्रदेशमा आयोगका सरोकारका विषय र स्थानीयतहको गतिविधि सुक्ष्म रुपमा हेरिरहेको सन्देश दिइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “‘स्थानीयतहको वडाध्यक्षस्तरसम्म अभिमुखीकरण कार्यक्रम लैजान आयोग र सरकार लागिरहेको छ, अर्थ मन्त्रालय त्यसका लागि आवश्यक स्रोत जुटाउन सकारात्मक देखिएको छ ।”
आयोगका सचिव रामेश्वर न्यौपानेले सङ्क्रमणकाल भन्दैमा भ्रष्टाचार गर्ने छुट कसैलाई नरहेको बताउनुभयो । मुलुकको राज्य व्यवस्था पुर्नसंरचना भएसँगै आयोग पनि सातवटै कार्यालयमा पुगिसकेको बताउँदै उहाँले आयोग थप विज्ञताको उपयोग गर्दै अघि बढिरहेको जानकारी दिनुभयो । सचिव न्यौपानेले भन्नुभयो, “विकास निर्माणका विषयमा अनुसन्धान गर्न केन्द्रीय कार्यालयमा इञ्जिनीयरिङ प्रयोगशाला स्थापना गरेका छौं, विकास निर्माणका काममा देखिएको ढिलासुस्ती र गैर जिम्मेवारीबारे आयोग गम्भीर छ ।” उहाँले इञ्जिनीयरिङ प्रयोशाला आयोगको सातै प्रदेश कार्यालयमा राखिने बताउनुभयो ।
आयोगमा ९१६ कर्मचारी दरबन्दी रहेको जानकारी दिँदै उहाँले उच्च प्रविधिको प्रयोग पनि आयोगको प्राथमिकतामा रहेको बताउनुभयो । रु सात करोड ३८ लाख ९८ हजारको लागतमा आयोगको दुई भवन बनाइएको हो । विसं २०७० सालमा सम्र्पक कार्यालयका रुपमा स्थापनाभएको यहाँको आयोगको कार्यालयलाई केही समयअघि सुदूरपश्चिम प्रदेश कार्यालयको रुपमा विस्तार गरिएको थियो । रासस