• Saturday, April 12, 2025

द्वन्द्वपीडित भन्छन् ः ‘हाम्रा समस्या कसैले पूरा गरेनन्’; द्वन्द्वपीडितको पीडा घटेको छ ः दाहाल

File Photo

लमही,मङ्सिर ५ गते ।‘धेरै संस्थाहरु गाउँमा आउँछन्, तपाईका समस्या के–के छन्, भन्छन् । कार्यक्रम गर्छन्, अनी फर्कन्छन् । हामी पीडित भएदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले यस्ता धेरै कार्यक्रम गरे । तर, हाम्रा दिन कहिल्यै फेरिएनन् ।’ यी हुन्, दाङको दंगीशरण गाउँपालिकाका द्वन्द्वपीडितले पोखेका पीडा ।

पीडित बासुदेव चौधरीले भन्नुभयो, “द्वन्द्वपीडित परिवारलाई राहत दिन पहल थाल्ने, स्वरोजगार बनाउने, पीडित परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने नाममा विभिन्न संघसंस्थाले कार्यक्रम गर्छन् ।” कार्यक्रममा सहभागी भए वापतको भत्ता पाउने बाहेक अन्य कुनै उपलब्धि नभएको द्वन्द्वपीडितको गुनासो छ ।

सरकारी तथा गैरसरकारी संस्थाले अहिले पनि द्वन्द्वपीडितका समस्या समाधान गर्न कुनै पहल नथालेको गुनासो उनीहरुको छ । अझै पनि द्वन्द्वपीडितका समस्या ज्यूँका त्यूँ रहेको उनीहरुको भनाई छ । “पटक पटक विभिन्न संघसंस्था हाम्रा समस्या बुझ्न आउँछन्”, द्वन्द्वपीडित चौधरीले भन्नुभयो, “ समस्या समाधान गर्न कुनै पनि निकायबाट पहल भएको छैन् ।” अहिले द्वन्द्वको समयमा घाईते भएकाको अवस्था नाजुक रहेको उहाँले बताउनुभयो । द्वन्द्वमा घाईते भएका चौधरीले भन्नुभयो, “म आफै द्वन्द्वकालको घाईते हुँ, अहिले केही काम गर्न सक्दिन्, दैनिकी चलाउन समस्या छ ।”

अछामको मंगलसेनमा २०५८ सालमा भएको भिडन्तमा चौधरीको खुट्टामा गोली लागेर भाँच्चिएर घर ब्यवहार चलाउन समस्या परेको उहाँले बताउनुभयो । “बिदेश गएर कमाऔं भने पनि सक्दिन्, घरमा केही ब्यापार, ब्यवसाय गरौं भने पनि सकिदैन” उहाँले भन्नुभयो, “कसरी जिन्दगी कटाउने भन्ने पीडा छ ।”

बिरामी परेको बेलासमेत औषधी ल्याउने पैसासमेत नहुने गरेको उहाँको दुखेसो छ । युद्धको समयमा गोली लागेको बायाँखुट्टा अहिले दायाँखुट्टाभन्दा छोटो हुँदा कुनै पनि काम गर्न नसक्ने उहाँले बताउनुभयो । चौधरी जस्तै द्वन्द्वकालका घाईते, बेपत्ता परिवार, सहिद परिवारहरुको अवस्थापनि उस्तै छ । वेपत्ता हरिराम चौधरीका आफन्त मसुरीले अहिले घरपरिवारको खर्च चलाउन तथा छोराछोरीलाई पढाउन समस्या हुने गरेको बताउनुभयो । “सरकार तथा विभिन्न संघसंस्थाले सहयोग गर्ने आश्वासन त दिए” उहाँले भन्नुभयो, “तर, अहिलेसम्म हाम्रा समस्या समाधानमा चासो देखाएको छैन् ।” द्वन्द्वपीडितको सहज जीवनयापनको लागि राज्यले उचित रोजगारको व्यवस्था गरिदिनु पर्ने उनीहरुको माग छ ।

स्थानीय सरकारलाई सम्पूर्ण सम्बैधानीक अधिकार दिईएकाले आफ्नो क्षेत्राधिकार भित्र रहेका द्वन्द्वपीडितका पीडामाथी मलम पट्टीलगाउनु पर्ने उहाँहरुको माग छ । “केन्द्र सरकारले हाम्रा पीडामा मलम लाउन सकेन” द्वन्द्वपीडित बासुदेवले भन्नुभयो “अब स्थानीय सरकारले हाम्रा समस्या पहिचान गरी ती समस्या समाधान गर्ने तर्फ जागरुक हुनुपर्छ ।” स्थानीय तहको क्षेत्र भित्रका द्वन्द्वपीडितको पहिचान गर्न उनीहरुले माग गरेका छन् ।

द्वन्द्वपीडितको पीडा घटेको छ ः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताउनुभएको हो । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताउनुभयो ।

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन । पहिलाको भन्दा त धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।”

शान्ति सम्झौताको हस्ताक्षरकर्ता समेत रहनुभएका दाहालले थप्नुभयो “प्रधानमन्त्री कै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिनुभएको छ त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको छ ।”

भरतपुर विमानस्थल जोखिमपूर्ण छ, यसको विस्तारको काम के भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा उहाँले विमानस्थलको विस्तारका लागि छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभया,े “भरतपुर विमानस्थल विस्तारको काम अहिले छलफलमा नै छ ।”रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter