• Monday, May 19, 2025

कोप २४ : जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेला

climateकाठमाडौँ, मङ्सिर १४ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षहरुको २४ औँ सम्मेलन (कोप २४) पोल्याण्डको काटबिचेमा सन् २०१८ डिसेम्बर २ देखि १४ सम्म आयोजना हुने भएको छ । विश्वका १९६ मुलुकका राजनीतिज्ञ, गैरसरकारी संस्था, अध्ययन संस्था तथा व्यावसायिक क्षेत्रका प्रतिनिधि गरी करीब ३० हजार व्यक्तिले भाग लिने सो सम्मेलनलाई जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेलाका रुपमा लिइएको छ ।

सो सम्मेलनको प्रमुख उद्देश्य पेरिस जलवायु परिवर्तन सम्झौता कार्यान्वयनका निर्देशिका पारित गर्नु रहेको छ । पृथ्वीको औसत तापक्रम वृद्धि सकेसम्म १.५ डिग्री सेल्सियसमा कायम राख्ने उद्देश्य प्राप्त गर्ने सो सम्झौताले लक्ष्य राखेको छ । सोे सम्झौता पूर्ण रुपमा कार्यान्वयन हुँदा मौसम परिवर्तनका प्रभाव नियन्त्रण गर्न कार्य गर्न सकिन्छ र उत्सर्जन घटाउन महत्वाकाङ्क्षी काम गर्न सकिन्छ ।

यसले विकासशील मुलुकलाई प्रविधि सहयोग, क्षमता विकास तथा वित्तीय सहयोगका लागि कार्यान्वयनको बलियो उपाय उपलब्ध गराउँछ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घको संरचना महासन्धि सन् १९९२ मा ‘रियो पृथ्वी सम्मेलन’ मा पारित भएका तीन महासन्धिमध्ये ‘रियो महासन्धि’ एक हो । यसमा विश्वका प्रायः सबै मुलुक सदस्य छन् । सो महासन्धिलाई पारित गर्ने मुलुकलाई ‘महासन्धिका पक्ष’ भन्ने गरिन्छ । जलवायु प्रणालीमा डरलाग्दो मानवीय हस्तक्षेप हुन नदिने नै युएनएफसिसिसीको अन्तिम लक्ष्य हो ।

पक्षको सम्मेलन (कोप) युएनएफसिसीको सर्वोच्च संस्था हो । यसमा महासन्धिका पक्षका प्रतिनिधि रहने गरेका छन् । यसको बैठक हरेक वर्ष बस्ने गर्छ । महासन्धिका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक निर्णय कोपले लिने गर्छ र यी व्यवस्था कार्यान्वयनलाई नियमित रुपमा पुनरवलोकन गर्छ ।

कोपको माराकेसमा सन् २०१६ नोभेम्बरमा भएको सम्मेलनले पोल्याण्डमा हुने सम्मेलनका विषयमा निर्णय गरेको हो । यस अवधिमा काटबिचे जलवायु संरक्षणका विषयमा विश्वव्यापी छलफलको केन्द्र हुनेछ । पोल्याण्डले सन् २००८ मा पोजनान र सन् २०१३ वार्सामा पनि यस्तो सम्मेलन गरिसकेको छ ।

यसै सम्मेलनमा क्योटो संलेख (क्योटो प्रोटोकल)का पक्षहरुको १४ औँ बैठक र पेरिस सम्झौताका हस्ताक्षरकर्ताहरुको सम्मेलन पनि आयोजना हुनेछ । सम्मेलनको अवधिमा डिसेम्बर ४ मा जलवायुसम्बन्धी उच्चस्तरीय कार्यसम्मेलन हुनेछ । जलवायु परिवर्तन नियन्त्रणका लागि नीतिगत विकल्प कार्यान्वयन गर्न उच्चस्तरीय सहभागिता बलियो बनाउने सम्मेलनको लक्ष्य रहेको छ ।

यसै सम्मेलनका समयमा वैज्ञानिक तथा प्राविधिक सल्लाहका लागि सहायक निकायको ४९ औँ बैठक तथा कार्यान्वयनका लागि सहायक निकायको बैठक पनि बस्नेछ । सम्मेलनमा नयाँ तथा सबलीकरण स्वेच्छिक प्रयास, पाइला तथा गठबन्धनको घोषणा गर्न पक्षहरुलाई अवसर प्रदान गर्ने, भएका प्रगति समीक्षा गर्ने तथा पक्ष, अन्तर्राष्ट्रिय संस्था, अन्तर्राष्ट्रिय सहकारी प्रयास तथा गैरसदस्यीय पक्षहरुका उच्चतहका पदाधिकारीको सहभागितालाई अवसर दिने काम हुनेछ ।

सम्मेलनमा मानवीय आवास, उद्योग, पानी, महासागर, तटीय क्षेत्र, ऊर्जा तथा भूमिका उपयोगका विषयमा पनि विभिन्न बैठक आयोजना हुनेछन् । सम्मेलनका समयमा वित्त तथा जलवायु परिवर्तन नियन्त्रणका कार्य, जिम्मेवारीपूर्ण उपभोग तथा उत्पादन तथा जलवायु, उचित काम तथा आर्थिक विकास तथा जलवायु परिवर्तन, जलवायु परिवर्तन नियन्त्रणका कार्य तथा लचकपना, भूमि उपयोग, पानी तथा ऊर्जा, महासागर, तटीय क्षेत्र तथा यातायात, उद्योग, नयाँ खोज तथा आधारभूत संरचना तथा जलवायु परिवर्तनसम्बन्धी बैठक हुनेछन् ।

यसै सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धमा अन्तरराष्ट्रिय अनुसन्धान, जलवायु परिवर्तन नियन्त्रणका लागि फेशन उद्योगको प्रयास, जलवायु परिवर्तन नियन्त्रणका लागि खेलकूद क्षेत्रको प्रयास, जलवायु परिवर्तन नियन्त्रणका लागि पर्यटन क्षेत्रका प्रयासका विषयमा छलफल आयोजना हुनेछ । यसै अवधिमा परिवर्तनका लागि उचित समय र शिक्षाका सम्बन्धमा उच्चस्तरीय पुरस्कार वितरण पनि हुनेछ ।

सम्मेलनले मौसम परिवर्तनले विश्वलाई कसरी प्रभाव पारिरहेको छ र कसरी विभिन्न पक्ष र सरोकारका पक्षले चुनौतीको सामना गर्न सहयोगात्मक रुपमा प्रयास गरिरहेका छन् भन्ने मौलिक दृष्टि प्रदान गर्छ । सम्मेलनका समयमा मौसम परिवर्तनका समस्या समाधान गर्न काम गरिरहेका उच्चस्तरीय कर्मीहरुले सन् २०१८ मा आफूले गरेका कामका विषयमा प्रतिवेदन प्रस्तुत गर्नेछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter