पर्यटक लोभ्याउँदै सत्खलुवा ताल (आलेख)

Fewa Lakeबाँके, मङ्सिर २८ गते । धान र तोरी मनग्य फल्ने फाँटहरु, वनजङ्गल, जीवजन्तु, नदी र तालहरुले जो कोहीलाई लोभ्याउँछ । नेपालकै बढी अन्न फल्ने, थारु बहुल, जातीय र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । यस्तै उपहारमध्येको एक हो, बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको यो ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

पाँच वर्षअघि माछाको ठेक्का रद्द गरी संरक्षण थालिएको सत्खलुवा तालमा अहिले डुङ्गा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको छ । तालकै कारण यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा तालमा पर्यटक डुङ्गामा सयर गर्न लालायित हुन्छन् । तालमा पानी खान आउने जङ्गली जनावरको अवलोकनका लागि पनि पर्यटक आउने गरेका स्थानीयवासी बताउँछन् ।

निकुञ्जभित्रका चुरे पहाडका सातवटा खोलाको पानी जम्मा भएर बनेकाले यो तालको नाम सत्खलुवा राखिएको बूढापाका बताउँछन् । जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको यस ताल वरपर विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जङ्गली जनावरको बसोबास छ । हिउँदको समय विशेष गरी चैत–वैशाखको खडेरीमा जङ्गली जनावर तिर्खा मेट्न यो तालमा आउने गर्छन् । भर्खरै संरक्षणको शुरुआत गरिएको भए पनि हाल ताल वरपर रैथाने चराका साथै आगन्तुक चराको पनि सङ्ख्या बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।

यस तालमा संसारबाट लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । साठी बिघा क्षेत्रफलमा फैलिएको पूर्व–पश्चिम राजमार्गमा पर्ने बैदीचोकदेखि झण्डै ४ किलोमिटर उत्तरपूर्वमा रहेको सत्खलुवा ताल संरक्षणमा स्थानीयवासीको सक्रियता निकै बढेको छ । स्थानीयवासीको सक्रियतासँगै अहिले त्यहाँ घुम्न जानेहरुको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय स्थानीय बासिन्दाले संरक्षण र प्रचारप्रसारमा जोड दिन थालेपछि पर्यटकहरुको आवागमन पनि बढ्न थालेको बताउनुहुन्छ, सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुनिल चापागाईं ।

“विगतमा माछापालन र सिँचाइका लागि प्रयोग हुँदै आएको यस तालको दुई वर्षदेखि पूर्ण संरक्षणका लागि लागिपरेका छौं,” उहाँले भन्नुभयो – “अहिले माछा मार्न र सिँचाइमा पूर्ण बन्देज लगाइएको छ ।” सत्खलुवा तालको सहायक तालका रुपमा नजीकै सपदुवा र सतञ्ची ताल पनि छन् । ती ताललाई पनि संरक्षण गरिएको छ । ताल संरक्षण गरे वातावरण जोगिने, जीवजन्तुको संरक्षण हुने र स्थानीयवासीले पनि लाभ लिनसक्ने भएकाले संरक्षणमा जुटेको चापागाईंको भनाइ छ । खुला चरिचरनको रुपमा रहेको ताल वरपरको वनलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गरेर स्थानीयवासीकै पहलमा तारबारसमेत गरिएको छ ।

तारबार निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद अधिकारीका अनुसार नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदान गरी रु २८ लाख २८ हजारको लागतमा ताल तथा ताल वरपरको चरिचरन क्षेत्र संरक्षणका लागि तारबारसमेत गरिएको छ । चैत–वैशाखको खडेरीका बेला बर्दिया राष्ट्रिय निकुन्जदेखि चुरे क्षेत्रका जीवजन्तुको पानी खाने ठाउँ सत्खलुवा ताल नै हो । ताल र आसपासमा बाघ, गैंडा, हात्ती, सालक, अजिङ्गर र विभिन्न जातका चरा अवलोकन गर्न सकिन्छ । सत्खलुवा ताललाई सरकारी पक्षबाट संरक्षित क्षेत्रको रुपमा घोषणा गरिनुपर्ने स्थानीयवासीको माग छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, पर्यटन बोर्ड, प्रकृति संरक्षण कोषलगायतले केही सहयोग गरे पनि पर्याप्त नभएको संरक्षण समितिका अध्यक्ष चापागाईंको गुनासो छ । उहाँले भन्नुभयो – “हामीले आफ्नै पहलमा यतिसम्म गर्न सकेका छौं । सरकारी निकायबाट सहयोग नहुँदा ताल संरक्षणका लागि सोचेअनुसार गर्न सकिरहेका छैनौं । राज्यले नै यसको संरक्षणमा ध्यान दिनुपर्छ ।” बर्दियाको चिनारीकै रुपमा रहेको सत्खलुवा ताल हेर्न र चरा अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ ।

पर्यावरणीय र पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर यस तालको बेलैमा संरक्षण गरी उजिल्याउन राज्यको भूमिका जरुरी रहेको स्थानीयवासीको भनाइ छ । अहिले यो ताल वरिपरि दैनिक वनभोजका लागि पुग्नेहरुको घुइँचो छ । जैविक विविधताका हिसाबले महत्वपूर्ण रहेको ताल वरपर निकुञ्जका जङ्गली जनावरको समेत बासस्थान बढ्दै गएको छ । शान्त वातावरण र मनोरम दृश्यका साथै गर्मीमा पानी खान आउने जङ्गली जनावर सजिलै हेर्न पाइने हुँदा यो तालप्रति पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थानीयवासीले गाउँदेखि तालसम्म साप्ताहिक रुपमा सरसफाइसमेत गर्दैआएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter