वास्तविक शहीदलाई राज्यले उचित सम्मान गर्न सकेन

Martyrकाठमाडौँ, माघ १६ गते ।

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए

बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए

ओँठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को

देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको

शहीदहरुको सम्झनामा भूपि शेरचनले लेख्नुभएको यस कविताले शहीदको गरिमालाई झनै बढाएको छ । तर अहिले शहीदको नाममा भएको विकृतिले शहीदको महत्वलाई झनै घटाएको छ ।

विसं २०६२÷०६३ को जनआन्दोलनका क्रममा धेरैजना व्यक्तिले देशका निम्ति बलिदान दिएका कारण उनीहरुको शालिक बनाउन सम्भव नभएको साहित्यकार तथा राजनीतिज्ञ मोदनाथ प्रश्रित बताउनुहुन्छ ।

“आजभोलि शहीद जसलाई पनि घोषणा गर्ने प्रचलनले शहीदको महिमा घट्दै गएको छ”, उहाँले भन्नुभयो । जनआन्दोलनपछि शहीद छनोट समितिका संयोजकसमेत रहनुभएका उहाँले नेपाल सरकारले कस्तालाई शहीद घोषणा गर्ने विषयमा मापदण्डसमेत बनाएको छ । तर पछिल्लो समयमा जो सूकैलाई शहीद घोषणा गर्ने परिपार्टीले यसको महत्वलाई घटाएको छ ।

शहीद चन्द्र बयलकोटीकी श्रीमती कल्पना बयलकोटीले आफूले जीवनमा नसोचेको अप्रत्यासित घटना सहनुप¥यो, आफ्नो श्रीमान्को मृत्यु ।

बयलकोटी २०६२÷६३ को जनआन्दोलनमा होमिनुभएको थियो । ठमेलमा पसल सञ्चालन गरेर परिवार धान्दै आउनुभएका उहाँलाई त्रिपुरेश्वरमा २०६३ वैशाख ९ गते गोली लागेको थियो । “त्यतिबेला छोराछोरी सानै थिए, मलाई श्रीमान्ले कहिल्यै केही दुःख दिनुभएको थिएन । गोली लाग्ने अघिल्लो दिन तैँले धेरै दुःख पाउँछेस् कल्पना भनेर उहाँले भन्नुभएको थियो”, कल्पनाले गहभरि आँसु झार्दै रासससँग भन्नुभयो, “कहिल्यै केही दुःख नदिने श्रीमान्ले किन यस्तो भन्नुभएको रहेछ, भोलिपल्ट श्रीमान्लाई गोली लागेपछि बल्ल उहाँले थाहा पाएँ ।”

वैशाख ९ गते उहाँहरुको विवाह भएको नौ वर्ष पुगेको थियो । त्यस दिन विवाहको वर्षगाँठ मनाउने योजना दुबैले बनाएका थिए । जनआन्दोलन चलिरहँदा कल्पनाको मनमा भने वर्षगाँठ मनाउन पाउने वा नपाउने भन्ने सङ्कोच थियो । चन्द्रले भन्नुभएको थियो, “जनआन्दोलन भए पनि चिन्ता नगर कल्पना म बेलुका छिट्टै घर फर्कन्छु, राम्रोसँग वर्षगाँठ मनाउनुपर्छ ।”

त्यतिबेला मोबाइलको खासै चलन थिएन, ९ गते राति चन्द्र घर नफर्किएपछि कल्पनाले श्रीमान् ठमेलमा नै साथीको घरमा बस्नुभयो होला भन्ने सोच्नुभयो । घर काठमाडौँकै लामाटार भए पनि उहाँहरु शङ्खमूलमा डेरा गरी बस्दै आउनुभएको थियो । माइती चाबहिलबाट कल्पनाकी भदैले १० गते फुपाजुलाई गोली लागेको र चाबहिलकै मेडिकल अस्पतालमा उपचार भइरहेको खबर पाएपछि उहाँ श्रीमान्लाई भेट्न आस्पताल पुग्नुभयो । “त्यतिबेलासम्म घरबाट एक्लै बाहिर ननिस्किएकी मलाई त्यो बाटो धेरै लामो लाग्यो, हुनत त्यतिबेला मलाई धेरै ठूलो समस्या भएर होला त्यस्तो लागेको”, उहाँले दुखेसो पोख्नुभयो ।

वैशाख १० गते अस्पतालको श्ययामा पुग्दा चन्द्र एमालेका कार्यकर्ता र प्रहरीले निगरानीमा हुनुहुँदोरहेछ । चन्द्रलाई एकदमै नाजुक अवस्थामा देखेपछि कल्पनाले आफ्नो होसहवास गुमाउनुभएछ । पछि माइतीको सहाराले आफूलाई सम्हाल्न उहाँ सफल हुनुभयो । उहाँ भन्नुहुन्छ, “श्रीमान् एकशब्द पनि नबोली बित्नुभयो, उहाँले वैशाख ८ गते भन्नुभएको शब्द मेरो कानमा सधैँ गुन्जिरहन्छ ।” वैशाख ९ गते अस्पतालमा भर्ना हुनुभएका चन्द्रको वैशाख २० गते निधन भएपछि उहाँसहित २१ जनालाई वैशाख २१ गते नै नेपाल सरकारले शहीद घोषणा गरेको थियो ।

आफ्नो श्रीमान्को राजनीतिक योगदानका कारण आफू पनि राजनीतिमा होमिन पुगें । उहाँ हाल काठमाडौँ महानगरपालिका–४ की महिला वडासदस्य हुनुहुन्छ । “श्रीमान्ले नौ वर्षसम्म दिनुभएको मायाले उहाँ नभए पनि जिन्दगीमा अघि बढ्न साहस मिलेको छ”, उहाँले उत्साहित हुँदै भन्नुभयो ।

श्रीमान्को मृत्युपछि उहाँ माइती नजिकै चाबहिलमा डेरा गरी बस्दै आउनुभएको छ । आमाको सानै उमेरमा मृत्यु भएपछि उहाँको बुबाले चन्द्रसँग विवाह गरिदिनुभएको थियो । “कहिलेकाहीँ कसैको मानसिक सहयोग नहुँदा छोराछोरीसँग रिसाउँछु, कान्छी छोरी मलाई बाबा हुनुभएको भए मम्मीले यस्तो भन्नुहुँदैनथ्यो भन्छे”, उहाँले भन्नुभयो । माइती र दिदीबहिनीको पूर्णरुपमा सहयोग पाए पनि आफूलाई श्रीमान्को अभाव सधैँ खड्कने उहाँ बताउनुहुन्छ ।

चन्द्रको मृत्युपछि तत्कालीन सरकारले २१ जना नै शहीद परिवारलाई रु १०÷१० लाख राहत रकम उपलब्ध गराएको थियो । उहाँको पारिवारिक समस्या देखेर तत्कालीन नेकपा (एमाले)ले उहाँलाई २०६३ सालमा जागिर लगाइदिएको सम्झनुहुन्छ । हाल दुई छोरी र एक छोराका लागि वार्षिक रु सात हजार उपलब्ध गराउँदै आएको छ । आफू राजनीतिमा होमिएपछि आर्थिक रुपमा गाह्रो परेको भन्दै उहाँले भन्नुभयो, “वार्षिक रु सात हजारले मात्र परिवार कसरी धान्नु ?” छोराछोरी पनि कमाउने नभएकाले आफूलाई परिवार धान्न निकै गाह्रो भएको उहाँको भनाई छ ।

परिवारलाई राहत उपलब्ध गराए पनि २०६२÷०६३ सालका वास्तविक शहीदको नाममा शालिकसमेत नबनाएकामा उहाँको दुखेसो छ । उहाँ भन्नुहुन्छ, “मेरो श्रीमान्सँगै निधन भएका शहीदको नाममा शहीद स्मारक बनाएर उहाँहरुलाई वर्षैपिच्छे सम्झनैपर्छ र हामी शहीद परिवारले पनि उहाँहरुलाई माल्यार्पण गर्ने अवसर जुराइदिनुपर्छ ।”

“वास्तविक शहीद परिवारलाई सरकारले सम्मान दिनैपर्छ”, कल्पनाले भन्नुभयो । आफू राजनीतिक जीवनमा लागेर माथि उठ्न सकेको भए पनि अन्य शहीद परिवार अझै खुलेर बाहिर राजनीतिक जीवनमा आउन नसकेको उहाँको भनाई छ । “हाम्रो पीडा त एउटै हो । सायद म माइतीको साथले गर्दा नै यहाँसम्म आउन सकेको होला”, उहाँ थप्नुहुन्छ, “प्रत्येक शहीद परिवारलाई म जस्तै सम्मानजनक जीवन जिउने अवसर दिनुपर्छ ।”

त्यस्तै काभ्रेपलाञ्चोकस्थित बनेपाका शहीद मुकेश कायस्थको अवस्था अझै दयनीय छ । विसं २०६२ चैत २८ गते कन्चटमा गोली लागेर घाइते हुनुभएका उहाँ अचेत भएकै १३ वर्ष बितिसक्यो । तर अहिलेसम्म पनि उहाँको स्वास्थ्यमा सुधार नहुँदा उहाँको परिवार निकै चिन्तामा हुुनुहुन्छ । मुकेशकी आमा मिरा कायस्थ भन्नुहुन्छ, “हामी भएनौँ भने छोराको स्याहार कसले गर्ला ?” मुकेशको उपचारका लागि सरकारले मासिक रु १५ हजार र एकजना बिरामी कुरुवाको व्यवस्था गरिदिँदै आएको छ । गत वर्षदेखि छोराको स्वास्थ्यवस्थामा केही सुधार आए पनि असारदेखि पहिलेकै अवस्थामा मुकेश पुग्नुभएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाले शहीद परिवार र शहीदको नाममा रहेको गुठीमा बजेट विनियोजन गर्ने उद्देश्य राखेको महानगरका प्रवक्ता ईश्वरमान श्रेष्ठले बताउनुभयो । जनआन्दोलनमा काठमाडौँभित्र रहेका कति व्यक्ति शहीद छन् भनी तथ्याङ्क नभएकाले उहाँको परिवारका लागि थप काम गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।

विसं २०६२÷०६३ अघि कति व्यक्तिलाई शहीद घोषणा गरियो भन्ने आधिकारिक तथ्याङ्क गृहमन्त्रालयसँग पनि छैन । गृहमन्त्रालयको तथ्याङ्कअनुसार नेपाल सरकारको निर्णयअनुसार २०६३ जेठ २१ गते २१ जनालाई शहीद घोषणा गरेको थियो । त्यस्तै विसं २०६४ फागुन २१ गते ३६, २०६५ पुस ९ गते छ हजार ३४४ गरी जनयुद्ध र मधेश आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गरेको थियो । त्यसैगरी मधेश आन्दोलनमा ज्यान गुमाउने ६३५ जनालाई २०६५ पुस ९ गते शहीद घोषणा गरिएको थियो । त्यस्तै शान्ति मन्त्रालयको प्रस्तावमा २०६७ असार ९ गते एक हजार ८४० जनालाई शहीद घोषणा गरिएको थियो । त्यसैगरी तराई मधेश थरुहट आन्दोलनमा ज्यान गुमाउनेलाई २०७४ माघ ३ गते १९० जनालाई र त्यसकै २२ गते २९७ जनालाई शहीद घोषणा गरेको थियो । जनआन्दोलनमा मृत्यु भएका दुई हजार ८०७ जना सुरक्षाकर्मी तथा राष्ट्रसेवकलाई यही माघ १५ गते शहीद घोषणा गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

KMC to build 100-bed special hospital

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education

32,500 metric ton Urea arrives in Nepal

Writ petition filed in Supreme Court against reshuffle of cabinet




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter