• Friday, April 11, 2025

सत्य सतहमा ल्याउन कञ्जुस्याइँ नगर्न अनुरोध

काठमाडौँ, फागुन २२ गते । सरकारले सर्वव्यापक सञ्चारको वर्तमान युगमा आफू वा आफ्ना निकाय वा संस्थाका बारेमा उठेका प्रश्नको यथोचित उत्तर दिन सम्बद्ध सबै पदाधिकारीलाई अभिप्रेरित गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज राजधानीमा आयोजना गरेको ‘सूचना प्रवाहमा प्रवक्ताको भूमिका’ विषयको छलफलमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले तथ्यपरक र सम्प्रेषणीय उत्तरले सत्य सतहमा आउने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि निकायमाथि उठेका प्रश्नको जवाफ दिएर सरकारले आफ्नो दायित्व पूरा गर्छ र प्रवक्तामार्फत जनतामा सरकारको उत्तरदायित्व अनुभूत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यथार्थ सधैँ आंैल्याउने गर्नुभएको उहाँले बताउनुभयो ।

प्रवक्ताले सम्बन्धित निकायका सार्वजनिक महत्वका सूचना प्रवाहको जिम्मेवारी लिनुपर्ने तथा आवश्यकताअनुसार पत्रकारलाई अवगत गराउनुपर्नेमा जोड दिँदै सल्लाहकार अर्यालले विभिन्न मन्त्रालयका प्रवक्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका, २०६३ मा आवश्यक परिमार्जन भइरहेको बताउनुभयो ।

“आफ्नो मन्त्रालयसँग सम्बन्धित सूचना आमरुपमा स्वस्फूर्त रुपमा सम्प्रेषण गर्न प्रवक्ताहरू नै अग्रसर हुनुपर्छ, सूचना सम्प्रेषण गर्दा अन्य मन्त्रालय वा निकायसँग समन्वय गर्नु वाञ्छनीय हुन्छ ।” कुनै विषयमा द्विविधा भए सल्लाह एवम् समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्पर रहेको बताउँदै उहाँले आम सञ्चारका माध्यममा आएका विषयको निरन्तर अनुगमन गर्न सुझाउनुभयो ।

भ्रम र अफवाहलाई रोक्ने जिम्मेवारी पनि प्रवक्ताको भएको बताउँदै डा अर्यालले तथ्यपरक प्रस्तुीतबाटै खण्डन गरेर भ्रमको निवारण गर्नुपर्छ भन्नुभयो । सूचना प्रविधिले सत्यतथ्यलाई मात्र होइन अफवाहलाई पनि व्यापक रुपमा फैलाउने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रविधिकै दक्षतापूर्ण प्रयोग आवश्यक भएको उहाँले बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले गहन एवम् चुनौतीपूर्ण भूमिकामा प्रवक्ता रहेकाले विषयको गाम्भीर्य र संवेदनशीलता बुझेर सूचना प्रवाह गर्न सुझाउनुभयो । सरकारका कामकारबाही र जनचासोका विषयबारे सञ्चार वा अन्य कुनै माध्यमबाट समयमै जानकारी दिनु प्रवक्ताको दायित्व भएको बताउँदै उहाँले आफूलाई अद्याविधिक बनाउँदै परिवर्तित समयअनुरुप चल्नुपर्छ भन्नुभयो ।

सचिव गुरूङले सही सूचना सही समयमा प्रवाह गर्दा सकारात्मक सोचको विकास हुने र त्यसले सामाजिक परिवर्तनमा योगदान पुग्नका साथै नकारात्मक धारणा मेट्न मद्दत पुग्ने बताउनुभयो । सरकारी निकायका सूचना समयमै प्रवाह गर्दा त्यसबाट प्राप्त हुने नतिजातर्फ लक्षित गर्दै उहाँले त्यसो भन्नुभएको हो ।

उक्त मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले प्रवक्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका, २०६३ लाई संशोधन गर्न वाञ्छनीय भएकाले त्यससम्बन्धी प्रस्तावित नयाँ निर्देशिका प्रस्तुत गर्नुभयो । पत्रकार तीर्थ कोइरालाले सूचनामा पहुँच विस्तार, सही सूचना समयमै प्रवाह गर्ने र विचार नभइ सूचनामात्र प्रवाह गर्नु प्रवक्ताको दायित्व भएको बताउँदै प्रवक्ताहरूले अध्ययनशील र जिज्ञासु पनि हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

छलफलमा सरकारका मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, संवैधानिक आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा उक्त कार्यालयअन्तर्गतका निकायका प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकृत सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter