सरकार–सिके सहमतिः प्रमद्वारा हिंसाको बर्काे फाल्न आग्रह

काठमाडौँ, फागुन २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताउनुभएको छ ।

नेपाल सरकार सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर जाने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल एउटा सार्वभौम राष्ट्र हो । यसको जमीन एक इञ्च पनि कसैलाई छुट्याउन, टुक्र्याउन वा दिन मिल्दैन । त्यसका नाममा कुनै सहमति हुन सक्दैन ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संविधानले सार्वभौमसत्ता सुनिश्चित गरेकाले जनताका सबै समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट जनताको अभिमत लिएर संसद् बनाउन, सरकार गठन र संविधान सशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

सरकारले सबै पक्ष र देशवासीमा समस्यालाई आफ्नो समस्या ठानेर फराकिलो दायराका साथ राष्ट्र निर्माण गर्न चाहेकाले यसमा सहयोग पु¥याउनसमेत उहाँले सबैमा आह्वान गर्नुभयो ।

गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतलाई असाधारण निर्णय गर्न सक्ने अध्यक्ष प्रचण्डसँग तुलना गर्दै प्रधानमन्त्री ओलीले ‘शान्तिको पक्षपोषण गर्ने’ राउतमा पनि त्यस्तै छाँटकाँट देखिएको भनी प्रशंसा गर्नुभयो । इञ्जिनीयर र वैज्ञानिक (टेक्नोक्र्याट) रहेका राउत गलत बाटोमा गएर बिग्रने हो कि भन्ने चिन्ता आफूमा पनि रहेको उल्लेख गर्दै प्रधामन्त्री ओलीले राउत प्राविधिक मात्र नभएर प्रबुद्ध व्यक्ति (थिङ्क ट्याङ्क) समेत भएको पाइएको चर्चा गर्नुभयो । सरकार र गठबन्धनबीच आज ११ बुँदे सहमति भएको थियो ।

प्रधानमन्त्री ओलीले सरकारले पानीजहाज र रेलका कार्यक्रम ल्याउँदा गलत भयो भनेर भ्रम फिँजाइएको जिकिर गर्दै सबै बजेट र जनशक्ति पानीजहाजका लागि नभई जम्मा १६ कर्मचारी मात्र खटाइएको उल्लेख गर्नुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, “हो मानिसलाई पनि खाना चाहिन्छ तर यसो भन्दैमा शिक्षा, सडक, पूर्वाधार विकास चाहिँदैन ? त्यसो हो भने हामीले कहिले समृद्धि हासिल गर्ने ?”

मुलुकमा सुशासन कायमका लागि भ्रष्टाचारका घटनामा कारवाही हुन थालेको उल्लेख गर्दै उहाँले विगतमा भ्रष्टाचार हुने गरेको र वर्तमान सरकारले कारवाही थालेको जिकिर गर्नुभयो ।

सरकार र अदालतलाई एकै रुपमा नहेर्न आग्रह

सांसद रेशम चौधरीका सम्बन्धमा अदालतले गरेको फैसलाका सम्बन्धमा राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थनसँग जोडेर आएको प्रतिक्रियाबारे प्रधानन्त्री ओलीले भन्नुभयो, “अदालत राज्यको अङ्ग भए पनि सरकारको अङ्ग होइन । अदालत र सरकारको काम अलग अलग हो ।” उहाँले भन्नुभयो, “आवेश र उत्तेजनामा आएर राष्ट्रको एकतामा फाटो ल्याउने राजनीति नगर्न म आग्रह गर्छु । विगतमा फरक ढङ्गले राजनीतिमा लागेका कार्यकर्ताहरु कुनै अलमलमा पर्नु पर्दैन । अनेकतामा एकता नेपालीको विशेषता हो । समृद्धि र एकताको बाटोमा सामेल हुन आग्रह गर्दछु ।”

‘कम्युनिष्टका नाममा लुट सहिन्नँ’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्टको बर्काे ओडेर जनतामा लुट नगर्न चेतावनी दिँदै त्यस्ता कामले कम्युनिष्यट पार्टीको बदनाम हुने भएकाले सो पार्टीलाई नाम परिवर्तन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पूरा गर्न बम पड्काउने, टुट्ने र घरमा बन्दुक राख्नेहरुलाई सरकारले खानतलासी गरी कारवारी गर्छ ।”

अब मूलधारको राजनीति गर्छु ः राउत

कार्यक्रममा गठबन्धनका संयोजक डा राउतले मधेशका समस्या समाधान गर्ने सन्दर्भमा भएको सहमतिको नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक स्थान रहेकाले सबैलाई खुशी तुल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही वर्षदेखि देशमा विकराल समस्याका रुपमा उठेको मुद्दाप्रति राज्य र हामी कसरी समाधान गर्ने भन्नेमा निकै चिन्तित थियौँ । यो विषय आज सहज, शान्तिपूर्ण र सुरक्षित रुपमा अवतरण भएको छ । आज यो दिन साँच्चिकै ऐतिहासिक रहेको छ ।”

राउतले भन्नुभयो, “हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो भाव हो, गान्धी र बुद्धको आदर्श मान्दै आएका थियाँै, राज्यद्वारा दमन गरिए पनि हामीले कहिल्यै प्रतिशोध गरेनौँ, बरु दमन गर्नेलाई गुलावको फूल दिने अभियान चलाएका थियौँ । वर्तमान सरकारले सहमति गराएको छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्तरबाट मुद्दाको पक्षलाई बुझेर राजनीतिकरुपमा प्रयत्न र सन्देश प्रदान गर्नुभएको भनी त्यसका लागि उहाँ धन्यवादका पात्र भएको राउतले जनाउनुभयो । सकारात्मक सोचका आधारमा मुलुकलाई समृद्धितर्फ अघि बढाउन सबैलाई साथ र सहयोग पु¥याउने आग्रह पनि उहाँले गर्नुभयो । उहाँले आफ्नो अधिकारको लागि आफूहरु लडेको उल्लेख गर्दै समुदाय समुदायबीच फाटो ल्याउने पक्षलाई स्थान नदिइ विकास, समृद्धि र सुख प्राप्तिको कामका लागि सबै लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुन्थ्यो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter