सहासले बाँचेको जीवनः ‘चटपट बेचेर डायलायसिस’

बलेवा, वैशाख २१ गते । बागलुङ–पोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी साधनका यात्रुले देख्ने अनुहार हो– ‘गोलमान गुरुङ’ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६स्थित लुम्लेको सडक छेवैमा रहेको ‘गुरुङ खाजा घर’को देब्रेपट्टि गुरुङले चनाचटपट बेच्न थालेको धेरै भएको छैन ।

खाजा, खाना र चियाका लागि बिसौनी बनेका लुम्लेका कयौँ साना होटल तथा रेष्टुँरामध्येको एक गुरुङ खाजा घरको छेवैमा गोलमालले चनाचटपट र पानीपुरी बेच्ने गर्नुभएको छ । सवारी साधनमा सवार कतिपयले खट्टोपिरो, अमिलो खोज्ने भएकाले गुरुङले रेष्टुरेण्टको छेवैमा चनाचटपट बेच्दै आउनुभएको हो । सडकमा हुईकिरहेका यात्रीलाई लक्ष गरेर ५९ वर्षीय गुरुङ चनाचटपट भन्दै कराउनुहुन्छ । कतिपयले आवश्यकताले त कतिपयले एक बृद्धले कराइरहेको देखेर सहानुभूति राख्दै चनाचटपट खान पुग्छन् । बेलाबेलामा ठट्टा गर्ने, लोकशैलीका गीत गुनगुनाउने र समसामयिक राजनीतिका कुरा गर्ने गुरुङले उहाँको नजिक पुगेका ग्राहकलाई केही बेर भुलाउनुहुन्छ र चनाचटपटको व्यापार गर्नुहुन्छ ।

बजारबाट ल्याएको चाउचाउ, गाउँकै खुर्सानी, अमिलो, लसुन, प्याजलगायत सामग्री मिश्रण गरेर बनेको चटपट खाने यात्रुले मुख मिठाएर गुरुङको चटपटको मूल्य तिर्छन् र खुशी हुँदै फर्किन्छन् । एक वृद्ध मानिसले सडकछेउमा कराइकराइ के–का लागि चटपट बेचिरहे्को देख्दा यसमा प्रशस्त फाइदा हुने र सम्पत्ति जोड्नका लागि उहाँले यसो गरिरहेको हुनसक्ने सोच्लान । उमेरले तीनबिस काट्नै लागेका वृद्धको हेरचाह गर्ने कोही नभएर वा दैनिकी गुजार्नका लागि सहयोग गर्ने सन्तान भए पनि कमाउने लालसाले छोडेको छैन भन्नेहरु पनि छन् तर उहाँको कथा र व्यथा भने बेग्लै छ ।

छ वर्ष पहिला दुवै मिर्गौलाले काम गर्न छाडेपछि कयौँ ठाउँमा उपचार गराएर थाक्नुभएका गुरुङले अहिले हप्तामा दुई पटक डायलायसिस गराउनुपर्छ । उमेरमा कमाएको पैसा र पैतृक सम्पत्तिसमेत उपचारमा खर्च भएपछि अहिले अस्पताल जाने गाडी भाडा जुटाउनका लागि उहाँले चटपटको व्यापार गर्दै आउनुभएको हो ।

दुवै मिर्गौलाले काम गर्न छाडेकाले देशका ठूला शहरमा पुगेर नाम चलेका अस्पतालमा उपचार गराउँदा सबै सम्पत्ति सकिए पनि गुरुङले हिम्मत भने पटक्कै हार्नुभएको छैन । नियमित डायलायसिस गर्न चिकित्सकले भनेकाले सातामा दुईपटक उहाँ अस्पताल पुग्नुहुन्छ । अस्पतालमा लाग्ने शुल्क सरकारले निःशुल्क गरे पनि हरेक साता लुम्लेबाट पोखरा पुग्ने र फर्कने यातायात खर्च उहाँ आफैँले जुटाउनुपर्छ । पोखराको गण्डकी अस्पतालमा डायलायसिस गराउने उहाँले यातायात खर्च, पोखराको बसाइँमा लाग्ने खर्च र सामान्य घर खर्च चनाचटपटको व्यापारबाट नै जुटाउने गर्नुभएको छ । “भारी बोक्न सक्दिनँ, गह्रौँ काम केही गर्न हुँदैन”, गुरुङले भन्नुभयोे, “खर्च जुटाउनकै लागि सडकको छेउमा बसेको छु ।”

बिरामी परी शरीर कमजोर भएर र लाखौँको सम्पत्ति सकिँदा पनि हिम्मत नहारेको उहाँको भनाइ छ । “आँट्नुपर्छ केही न केही गरे जीवनमा गुजारा चल्छ”, गुरुङ भन्नुहुन्छ, “छ वर्षदेखि उपचार गराइरहेको छु, जसोतसो चलेकै छ ।” मिर्गौलाको उपचार महङ्गो हुने भए पनि पहिले दाजुभाइको सहयोग र अहिले चनाचटपटको व्यापारले आफूलाई सहज बनाएको उहाँले बताउनुभयो ।

सामान्य आर्थिक हैसियत भएका गुरुङको परिवारमा श्रीमतीसहित तीन सन्तान छन् । दुई छोरी र एक छोराले विद्यालयतहको अध्ययन गरिरहेकाले खर्च जुटाउन सहयोग गर्ने अरु कोही नभएको उहाँको भनाइ थियोे । विद्यालय बिदा भएको बेला छोराछोरीले चटपटको व्यापारमा सघाउने गरेको गुरुङले सुनाउनुभयो । “खर्च कटाएर महीनामा रु १५हजारदेखि २०हजारसम्म र बचाउने गरेको छु”, उहाँले भन्नुभयो, “प्राण धान्ने उपाय बनेको छ चटपट ।”

उहाँ बिरामी हुनुपूर्व किसानी गर्नुहुन्थ्यो । पुर्खाले आर्जेको जमीनमा खेती किसानी गरेर गुजारा चलेकै बेला बज्रपात आइलागे पनि आफूले हिम्मत नहारेको गुरुङले बताउनुभयो । छिमेकी र दाजुभाइको सहयोगले पहिलो चरणको उपचारमा सघाए पनि राज्यका तहबाट कुनै सहयोग नपाएको उहाँको गुनासो थियो । “मेसिनको शुल्क त तिर्नुपर्दैन तर अस्पताल जानेआउने कसरी गर्नु, हामीजस्ता पीडितको पहिचान गरी सरकारले सुविधा दिनुपर्ने हो”, गुरुङले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

KMC to build 100-bed special hospital

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education

32,500 metric ton Urea arrives in Nepal

Writ petition filed in Supreme Court against reshuffle of cabinet




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter