सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने – मन्त्रि बाँस्कोटा

काठमाडौँ, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।

‘गोरखापत्र’ प्रकाशन ११९ औँ वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सव तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाहका लागि आमसञ्चार माध्यमसँग आग्रह गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले विभिन्न चुनौतीका बीच सरकारले जनताको आकाङ्क्षानुसार काम गर्दै आएको र आगामी दिनमा समेत प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले सरकारले यस वर्ष नेपाली पत्रकारिताको धरोहर ‘गोरखापत्र’लाई नयाँ परिवर्तनको वर्षका रुपमा अगाडि बढाउने योजना बनाएको छ भन्दै जिम्मेवारीका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

“गोरखापत्रमा पछिल्लो समयमा हिजोका दिनमा भन्दा सुधार आएको छ तर अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता छ, निरन्तरताको क्रमभङ्गता ‘गोरखापत्र’को आवश्यकता हो, त्यसका लागि कामप्रति जिम्मेवार हुनुहोस्, गलत गर्नेलाई कुनै पनि हालतमा छाडिने छैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले ‘गोरखापत्र’ बलियो भयो भने राज्य बलियो हुने र राज्य बलियो भयो भने ‘गोरखापत्र’ बलियो हुनेछ भन्दै आफू यसका संस्थानका प्रकाशन स्तरीय बनाउनेतर्फ अभिप्रेरित भएको बताउनुभयो । ‘गोरखापत्र’का प्रधानसम्पादक श्रीओम श्रेष्ठले गोरखापत्रलाई परिमार्जन गर्दै गुणस्तर र विषयवस्तुमा ध्यान दिई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘गोरखापत्र’ले ‘गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार’ पुण्य पौडेल (कास्की) लाई प्रदान गरेको छ । पुरस्कारको राशि रु ५५ हजार ५५५ छ । त्यसैगरी ब्रदर बुक्स प्रकाशन, जनज्योति पुस्तक पसल र विपीन जनरल स्टोर्सलाई संस्थानका प्रकाशन बढी बिक्री गर्ने बिक्रेताका रुपमा सम्मान गरेको छ । प्रकाशनमा सबैभन्दा बढी विज्ञापन कारोवार गर्ने विज्ञापन एजेन्सी भेराइटिज कन्सल्टिङ नेटवर्क प्रालि, कलश एडभरटाइजिङ सर्भिस प्रालि र जोइन मिडिया हाउस प्रालिलाई समेत सम्मान गरिएको छ ।

नेपाली भाषाको पहिलो अखबारका रुपमा परिचित ‘गोरखापत्र’ विसं १९५८ वैशाख २४ गतेदेखि निरन्तर प्रकाशनमा छ । गोरखापत्र प्रकाशनको दिनलाई स्मरण गर्दै सरकारले चार वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै आएको छ । अहिले गोरखापत्रमा ३८ भाषाका सामग्री प्रकाशन हुने गरेको छ भने अङ्ग्रेजी भाषामा दैनिक ‘द राइजिङ नेपाल’, साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’, बालबालिकाका लागि मासिक ‘मुना’ र युवाहरुका लागि मासिक ‘युवा मञ्च’ पत्रिका तथा सामयिक रुपमा केही बेला बेलामा केही प्रकाशन गर्ने गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter