काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो

काठमाडौँ, वैशाख २५ गते । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ ।

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड सो) कार्यक्रम गरिएको हो । बुद्धको प्रतिमा र मायादेवी मन्दिरको ठूलो आकृतिलाई गाडीमा सजाएर प्रदर्शन गरिएको थियो ।

प्रदेश नं ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको आयोजना तथा सिद्धार्थ होटल एशोसिएशन, नेपाल (सान) को नेतृत्वको टोलीले देशैभर सडक प्रदर्शनी अभियान शुरु गरेको छ । आगामी जेठ ४ गते परेको २५६३ औँ बुद्ध जयन्तीका अवसरमा घोषणा हुन गइरहेको लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न प्रचार अभियान शुरु गरिएको रोड सो कार्यक्रमका संयोजक रवीन्द्र शर्मा घिमिरेले जानकारी दिनुभयो ।

लुम्बिनीको भैरहवाबाट शुरु गरिएको अभियान, रुपन्देहीको बुटवल, पाल्पाको तानसेन, स्याङ्जाको पुतलीबजार, कास्कीको पोखरा, तनहुँको दमौली हुँदै काठमाडौँ आएर सडक प्रदर्शन गरी लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको छ । दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि भएको कार्यक्रममा सांसद, पूर्वमन्त्री तथा काठमाडौँका पर्यटन व्यवसायी र लुम्बिनीबाट आएका व्यवसायीसहितको टोलीले लुम्बिनी भ्रमण गई अभियानलाई सफल पार्न आग्रह गर्नुभयो ।

सो अवसरमा प्रतिनिधिसभाका सांसद घनश्याम भुसालले लुम्बिनीबाट बुद्धको सन्देश बोकेर काठमाडौँ आएको टोलीलाई स्वागत गर्दै राष्ट्रिय अभियानलाई सफल पार्न सबैको साथ चाहिने खाचो औँल्याउनुभयो । उहाँले लुम्बिनी प्रवद्र्धनको विषय केवल लुम्बिनीवासीको मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो र सरोकारको विषय भएको उल्लेख गर्दै अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अभियान २०२० लाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण वर्षको आयोजना गरिनु नेपाल भ्रमण वर्षलाई सफल बनाउने एक महत्वपूर्ण आधार भएको र यसलाई राष्ट्रिय अभियानका रुपमा सफल पार्नु सबैको दायित्व भएकाले सफल पार्न केन्द्र सरकार र सांसदलगायतको पूर्ण साथ सहयोग रहने बताउनुभयो ।

प्रदेश नं ५ का प्रदेशसभा सांसद विष्णु पन्थीले नेपाल भ्रमण वर्षलाई सफल बनाउन लुम्बिनीमा धेरै सङ्ख्यामा पर्यटक भित्र्याउने लक्ष्यका साथ अभियान चलाइएको बताउनुभयो । पूर्वमन्त्री दीपक बोहोराले लुम्बिनी भ्रमणलाई सफल बनाउन व्यवसायीको सक्रियतामा चलाइएको अभियानले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

अभियानको दोस्रो चरणको कार्यक्रम नारायणघाट, हेटौँडा, वीरगञ्ज, जनकपुर, इटहरी हुँदै पूर्वमेचीसम्म लुम्बिनी भ्रमण वर्षको प्रचारार्थ सडक प्रदर्शनी हुनेछ भने तेस्रो चरणमा दाङ, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतमा गरिनेछ । त्यस्तै, चौथो चरणमा भारतको कुशिनगर, वनारस र सारनाथमा सडक प्रदर्शनी गरिने लुम्बिनी भ्रमण वर्ष मूल आयोजक समितिले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter