सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु

काठमाडौंँ, वैशाख ३१ गते । वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

कूल १२ आरोहीमध्ये पाँच जना डोरी टाँग्ने शेर्पा छन् भने अन्य सात जनामा एक नेपालीसहित चीन, पाकिस्तान र ग्रिसका दुई÷दुई आरोही छन् । विश्वको चौथो अग्ला शिखरमध्ये ल्होत्से चौथो स्थानमा पर्छ । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ अग्ला हिमालमध्ये नेपालमा आठ वटा हिमाल रहेका छन् । ल्होत्सो आरोहणका लागि १० आरोही समूहका ९२ आरोही गएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

यसैगरी पाँचौँ अग्लो मकालु (८,४६३ मि) हिमालको पनि आज सफल आरोहण भएको छ । सेभने समिट ट्रेकबाट गएका पाँच शेर्पा मकालुको सफल आरोहण गरेका हुन् । कम्पनीका अध्यक्ष मिङमा शेर्पाले दिएको जानकारीअनुसार शेर्पा आरोही मकालु आरोहणका लागि डोरी टाँग्न चुचुरोमा गएका थिए । केही दिनअघि अन्नपूर्ण हिमालको आरोहण भएको थियो तर, कति आरोही चुचुरोमा गए भन्ने यकिन जानकारी प्राप्त भएको छैन । अन्नपूर्णको आरोहणसँगै यो यामको हिमाल आरोहण शुरु भएको थियो ।

संसारकै आकर्षण सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै शेर्पा समूह चुचुरो नजिक पुगेका छन् । यो यामको सगरमाथा आरोहणका लागि एक्सिपिडिसन अपरेटर्स एशोसिएशनबाट गएका आठ शेर्पा डोरी टाँग्न सगरमाथाको चुचुरो नजिक पुगेका हुन् । सगरमाथाको बाटो पहिल्याउँदै गएका आठ शेर्पाको टोली दुई दिनदेखि सगरमाथाको साउथ कोल (८००० मि. उचाइ) मा छन् । मौसमले साथ दिए आजै सगरमाथाको चुचुरो (८,८४८ मिटर) मा पुगेर डोरी टाँग्ने सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

“शेर्पा समूह हिजो साउथ कोल पुगेर समिटको प्रयासमा थिए । मौसमले साथ दिए आज चुचुरोमा पुगेर डोरी टाँग्ने सम्भावना छ, आज साँझसम्म परिणाम आउँला”, श्रेष्ठले भन्नुभयो । शेर्पाले टोरी टाँगेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको ढोका खुल्नेछ । अहिले सबै आरोही सगरमाथाको आधार शिविरमा रहेका छन् । सामान्यतया मे महीनाको १२ देखि १८ तारिखसम्म दोस्रो शिविरदेखि चुचुरोमा डोरी टाँगिन्छ । विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् ।

पर्यटन विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यो याममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यो याममा हिमाल आरोहणबाट करीब ५० करोड रोयल्टी जम्मा भएको छ । यसमा सबैभन्दा धेरै ४३ करोड ८९ लाख २७ हजार रहेको छ ।

यसअघि सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) को आठको शेर्पा समूहले क्याम्प–२ सम्म बाटो बनाइसकेको थियो । सगरमाथाको दोस्रो शिविरसम्म हिमनदी, हिमखाल्डा तथा जोखिमपूर्ण ठाउँ प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिन्छ । सगरमाथा आरोहणमा भन्दा आधार शिविरदेखि क्याम्प–१ र क्याम्प–२ पुग्नु जोखिम मानिने गरेको आरोही बताउँछन् ।

आइसफल डाक्टरका अनुसार विगतमा भन्दा यस पटक सगरमाथा आरोहणका लागि बाटो राम्रो भएको छ । अनुकूल मौसमले आरोहण उत्साहजनक हुने अपेक्षा गरिएको एसपिसिसीका अध्यक्ष शेर्पाले उल्लेख गरे ।

सगरमाथा आरोहणको समय सामान्यतः ७५ दिनको हुन्छ । त्यससमध्ये ५० दिन हिमाल आरोहणमै बित्छ । आरोही फुर्वा तेञ्जिन शेर्पाको अनुभवमा समिटका लागि गएका सबै आरोही मे २९ मा आधार शिविर झरिसक्नुपर्ने हुन्छ । सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए । जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सन् २०१७ मा ३८ आरोही समूहका ३७२ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter