दाताको सहयोगमा घाँसे मैदान व्यवस्थापन गर्दै निकुञ्ज

चितवन, जेठ २ गते । चितवन राष्ट्रिय निकुञ्जमा दाताको सहयोगमा ८६ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिँदैछ । नियमित घाँस व्यवस्थापन थोरै क्षेत्रफलमा हुँदा घाँसको अभावमा वन्यजन्तु बस्ती पस्न थालेपछि निकुञ्जको आग्रह र दाताको सहयोगमा थप क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रको ट्याम्पल टाइगर नजिकै ३५ हेक्टरमा घाँसे मैदान व्यवस्थापनको काम शुरु भएको छ । ताल परियोजनाको सहयोगमा रु १८ लाख खर्च गरेर घाँस व्यवस्थापन गर्न शुरु गरिएको हो ।

यसैगरी निकुञ्जको पश्चिम क्षेत्रमा रहेको खोरिया मुहान र टाइगर टप क्षेत्रमा २५ दशमलव पाँच हेक्टरका दरले ५१ हेक्टरमा घाँसे मैदान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । ‘जेडएसएल’ नामक दाताको रु २५ लाखको सहयोगमा सो क्षेत्रमा घाँसे मैदान व्यवस्थापन थालिएको हो ।

निकुञ्जको नियमित कार्यक्रमअन्तर्गत विभिन्न १५ ठाउँमा ८० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भएको छ । एकपटक घाँसे मैदान व्यवस्थापन गर्दा एक हेक्टरमा रु ५० हजार हाराहारी खर्च हुने गरेको छ । घिमिरेका अनुसार अग्ला ठूला ढड्डी फाँड्ने, घाँसलाई अतिक्रमण गर्ने झार र बुट्यान उखेल्ने, अग्ला घाँस काट्ने जस्ता काम व्यक्तिमार्फत गरिँदै आएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार बजेट अभावमा आवश्यक मात्रामा घाँस व्यवस्थापन गर्न कठिन हुने गरेको छ । निकुञ्जमा १० हजार हेक्टर क्षेत्रफलमा घाँस रहेको छ । जसमध्ये एक हजार हेक्टर क्षेत्रफल व्यवस्थापन गर्नुपर्ने भए पनि हरेक वर्ष २०० हेक्टर हाराहारी मात्र व्यवस्थापन हुँदै आएको छ । जसका कारण निकुञ्जभित्रका वन्यजन्तु घाँस खोजीका लागि बस्ती पस्ने गरेका छन्

निकुञ्ज विशेष गरेर एकसिङ्गे गैँडा र पाटेबाघका लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरूङ्गी र ४५ प्रजातिका जलथल तथा घस्रने प्राणीसँगै १०० भन्दा बढी जातका माछा पाइन्छ । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गुर बाँदर आदि पर्दछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter