स्वास्थ्यमा सबै जनताको सहज पहुँच हुनुपर्छ – उपराष्ट्रपति पुन

काठमाडौँ, जेठ ३ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्‍याउन ध्यान दिनुपर्ने बताउनु भएको छ । नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँचले मात्र संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन हुनेछ भन्नुभयो ।

कुष्ठ प्रभावितको पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले २०२६ जेठ २२ गते सङ्घको स्थापना भएको थियो । उपराष्ट्रपति पुनले गुणस्तरीय उपचार नपाएर जनताले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नेतर्फ सरकारलाई सचेत बन्न आग्रह गर्दै अझै पनि ग्रामीण क्षेत्रका जनताले स्वास्थ्य सेवा नपाइरहेको अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुष्ठरोग औषधिले पूर्णतया निको हुने रोग हो भन्ने कुरालाई गाउँ तहसम्म पुर्‍याउन आवश्यक छ । जनचेतनाले मात्र कुष्ठरोग प्रभावितलाई हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ ।”

कुष्ठरोग निवारणको घोषणा गरिए पनि अझै देशका विभिन्न भू–भागमा कुष्ठ प्रभावित रोगी भएको चर्चा गर्दै उपराष्ट्रपति पुनले सबै कुष्ठ प्रभावितलाई सहज उपचार तथा पुनर्स्थापनाको पहुँचमा ल्याउन जोड दिनुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले सङ्घद्वारा सञ्चालित खोकना आरोग्य आश्रममा ६५ वर्षदेखि रहेका कुष्ठ प्रभावित लेखी तामाङ, मनमती देवकोटा र कान्छा आलेबुढालाई सम्मान गर्नुभएको थियो । उपराष्ट्रपति पुनले सङ्घका पूर्वअध्यक्षद्वय डा गौरीशङ्करलाल दास र लक्ष्मीदास मानन्धर, उपाध्यक्ष डा खगेन्द्र श्रेष्ठ, पोखरा, धनगढी तथा नेपालगञ्ज शाखाका पूर्वअध्यक्ष क्रमशः डा कुमारशम्शेर राणा, दीव्यप्रसाद पन्त, डा जी राज शाक्य तथा मारवाडी सेवा समितिका अध्यक्ष श्रवणकुमार अग्रवाललाई पनि सम्मान गर्नुभएको थियो ।

सङ्घले दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा कुष्ठ प्रभावितको लालनपालन गर्नाका साथै धरान, पोखरा, नेपालगञ्ज र धनगढी शाखा स्थापना गरी सचेतना र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सङ्घले हालसम्म १८० घर निर्माण गरी २५८ कुष्ठ प्रभावितलाई सामाजिक पुनर्स्थापना गराएको छ ।

यसैगरी सङ्घले काठमाडौँको मण्डिखाटारमा स्थापित छात्र/छात्रावासमा कुष्ठ प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गत आवमा तीन हजार २०० कुष्ठरोगी पहिचान भई उपचारमा आएका थिए । कुष्ठरोगीको निःशुल्क उपचार हुने गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुष्ठरोगका कारण ३१ हजार अपाङ्गसमेत हुन पुगेका थिए ।

सङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले कुष्ठरोग पहिलेजस्तो दूराग्रह, भयग्रस्त र जीवन नै सकिने अवस्थामा नरहेको चर्चा गर्दै कुष्ठरोग निको भइसकेकालाई समुदायमा पुनर्स्थापना गराउन सबैले सहयोग गर्नुपर्छ भन्नुभयो । कुष्ठ प्रभावित प्रीमा घर्ती मगरले आफ्ना हजुरबुबा, बुबा कुष्ठरोगी भएकै कारण रोल्पामा ओढारमा बस्नु परेको पीडा सुनाउँदै अझै पनि समाजले कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रति दश लाख जनसङ्ख्यामा एक जनाभन्दा कम भएमा निवारण भन्ने गरिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter