कम्प्युटर इन्जिनियर बाख्रापालनमा
अर्जुन काफ्ले / स्याङ्जा, जेठ ३ गते । पछिल्लो समय स्याङ्जामा विदेशिएका युवा स्वदेश फर्केर बाख्रापालनमा लागेका छन् । सात वर्षसम्म दुबईमा काम गरेर फर्कनुभएका भीरकोट नगरपालिका ३ रानीडाँडाका केशरजङ्ग अधिकारीले लेकाली बाख्रा फार्ममार्फत व्यावसायिक बाख्रापालन गर्नुभएको हो ।
दुबईमा रहँदा दुबो खुवाएर बाख्रा पालेको देखेपछि उहाँले नेपालमै आएर बाख्रापालन गर्ने सोच बनाएको बताउनुभयो । अहिले उहाँको व्यवसायको अनुशरण गर्नेको सङ्ख्या बढिरहेको अधिकारी बताउनुहुन्छ । गाउँमै २८ रोपनी जग्गा किनेर बाख्रापालन थाल्नुभएका अधिकारीको फार्ममा अहिले ५८ बाख्रा रहेका छन् । उहाँले करिब १२ लाख रुपियाँ लगानी गरेर खरी जातका १८ बाख्रा खरिद गरेर व्यवसाय सुरु गर्नुभएको थियो । अहिले उहाँको लगानी करिब २२ लाख पुगेको बताउनुभयो ।
यो व्यवसायमा धेरै मिहिनेत नगरिकनै वार्षिक चार लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । बाख्रापालनसँगै उहाँले पाँच रोपनी जमिनमा नेपियर, भटमासे, मण्डेलाजातका घाँसखेती गर्नुभएको छ । गण्डकी प्रदेश सरकारबाट साढे दुई लाख रुपियाँ अनुदानसमेत प्राप्त गर्नुभएका अधिकारीले जिल्ला घरेलु विकास कार्यालयबाट कम्बाइन मिल, बोका खरिदका लागि ५० हजार, चापकटर अनुदानमा प्राप्त गर्नुभएको छ ।
त्यस्तै भारतमा कम्प्युटर इन्जिनियर अध्ययन गर्नुभएका कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका त्रिभुवन न्यौपानेले पनि बाख्रापालन व्यवसाय अँगाल्नुभएको छ । चार वर्ष भारतमा राम्रो जागिर गर्नुभएका न्यौपानेले अरूको अधीनमा बसेर काम गर्न मन नपरेपछि नेपालमै फर्किएको बताउनुभयो । goat
पाँचवटा बाख्राबाट व्यवसाय सुरु गर्नुभएका न्यौपानेको फार्ममा अहिले माउ, बोका, पाठापाठी गरी ५५ बाख्रा रहेका छन् । न्यौपानको फार्ममा २५ देखि ७५ प्रतिशतका बोयर बाख्रा छन् भने बयर जातको सय प्रतिशतको बीउ बोका रहेको छ । उहाँले २०७२ सालमा भूमिका कृषि तथा पशुपालन फार्म दर्ता गरी व्यावसायिक रूपमा अगाडि बढेको बताउनुभयो ।
न्यौपानेले सरकारको सहुलियत ऋण पाउन निकै गाह्रो हुने टिप्पणी गर्दै भन्नुभयो, सरकारले कृषकलाई स्रोत र साधन जुटाइदिए युवा कृषिमा आकर्षित हुने थिए । वार्षिक १५ लाख रुपियाँको कारोबार हुने बताउँदै न्यौपानेले १० लाख रुपियाँसम्म बचत गर्न सफल भएको बताउनुभयो ।
बाख्रा चरनमा चराउनुभन्दा बधुवा नै राम्रो हुने भन्दै खोर व्यवस्थापन पक्ष महìवपूर्ण हुने न्यौपानेको भनाइ थियो । अधिकारी र न्यौपानेजस्तै यहाँका १२९ जना युवाले फार्म दर्ता गरी व्यावसायिक रूपमा बाख्रापालन गरेको बाख्रा गाउँ स्याङ्जाका अध्यक्ष सुशील अर्यालले बताउनुभयो ।
उहाँले बाख्रापालन गर्छु भन्ने युवालाई गाउँपालिकाले नमुना बाख्रा प्राविधिक सहयोग, तालिम, विभिन्न परामर्श निःशुल्क रूपमा प्रदान गर्ने गरेको जानकारी दिनुभयो । अर्यालले विदेशमा गएर दुःख गरेर फर्केका युवा स्वदेशमा नै रहुन् भन्ने उद्देश्यले बाख्रा गाउँको अवधारणा ल्याएको बताउनुभयो ।