हिल्साका लागि एक दिनमा २२ वटा उडान
सिमकोट जेठ ६ गते । मानसरोवर कैलाशका लागि भारतीय धार्मिक पर्यटकहरु आउन सुरु भएपछि आईतबार एक दिनमा हिल्साका लागि सिमकोटबाट २२ उडान हेलिकोप्टरले भरेका छन् । एक दिनमा नेपालगंजबाट सिमकोटका लागि १९२ जना भारतीय पर्यटकहरु जिल्लामा आएपछि हेलिकोप्टरले यति धेरै उडान भरेका हुन ।
दुई दिनमा हवाई मार्गबाट २५४ जना पर्यटकहरु जिल्लामा भित्रिएकोमा १२५ जनालाई हेलिकोप्टरले सिमकोटबाट हिल्साका लागि उडान भरेको विमानस्थल सुरक्षा पोष्टका प्रहरी नायव निरीक्षक सुधिर खड्काले बताउनु भयो । आईतबार बिहान देखि बेलुका सम्म हेलिकोप्टरहरुले उडान भर्ने क्रम जारी रहेको छ । शनिबारबाट पर्यटकहरु जिल्लामा आउन सुरु भएको थियो । समिट र माउण्टेनका दुई वटा हेलिकोप्टरहरु नाईट स्टे बसेर पर्यटकहरुलाई हिल्सामा ओसार्न सुरु गरेका हुन । आईतबार एक दिनमा मात्र १५ फ्लाईट जहाजले सिमकोटका लागि यात्रुहरुको उडान भरेको विमानस्थलले जनाएको छ । बिहानैबाट पर्यटकहरु जिल्लामा आउन थाले पछि र सिमकोटबाट हिल्सा पर्यटकहरु ओसार्न थाले पछि विमानस्थल निकै व्यस्त रहन थालेको छ ।