अपाङ्गता भएकालाई स्वरोजगार बनाउन माग

लम्की, जेठ १३ गते । अपाङ्गता भएकाहरुले आफूहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने खालका योजना ल्याउन स्थानीय तहसँग माग गर्न थालेका छन् । कैलालीको जोशीपुरमा जनप्रतिनिधिसँंग गरिएको छलफलमा अपाङ्गता भएकाहरुले आफूहरुलाई उत्प्रेरित गर्ने खालका सीप तथा तालीम प्रदान गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन् ।

अपाङ्गता भएकाहरुका अगुवा नन्दराज भट्टले स्थानीय तह, प्रदेश र सङ्घले अपाङ्गता भएकाहरुलाई जीविकोपार्जनमा सघाउन मद्दत पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो । ‘‘अपाङ्गता भएकाहरुलाई कमजोर रुपमा हेर्ने मानसिकता र उनीहरुले पनि आफूमा रहेको हीनताबोधले गर्दा अरुको सहारामा जिन्दगी बाँच्नुपरेको छ’’, भट्टले भन्नुभयो, ‘‘दृढ इच्छाशक्ति र कामप्रतिको लगनशीलता भएमा आत्मनिर्भर र सफल हुन सकिन्छ, त्यसका लागि स्थानीय सरकारको सहयोग आवश्यक छ ।’’

कैलालीमा कोही जन्मजात त कोही विभिन्न रोग तथा दुर्घटनामा परेर अपाङ्गता बन्नुपरेको छ । ‘‘समाजमा त्यस्ता व्यक्तिप्रति करुणा भाव व्यक्त गर्नेहरु प्रशस्तै भेटिन्छन् तर उनीहरुको उत्साह र सम्भावनालाई जगाउनेहरु एकदमै न्यून छन्’’, भट्टले भन्नुभयो ‘‘ नीतिगत रुपमै अपाङ्गता भएकाहरुको जीविकोपाजर्नमा मद्दत पुग्ने वातावरण तयार हुनुपर्छ ।’’

उनीहरुसंँगको छलफलपछि कैलालीका जोशीपुर र जानकी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको मुख्य माग सम्बोधन गर्ने गरी गाउँपालिकामा तीन वर्षभित्र सम्पन्न गर्ने गरी २० बूँदे प्रतिबद्धता जनाएका छन् ।

गाउँपालिकाका अपाङ्गतालाई परिचयपत्र दिने, सूचना डिजिटल प्रविधिमा राख्ने, निःशुल्क रुपमा प्रदान गरिने अनियमित छात्रवृत्ति अन्त्य गर्ने तथा सामाजिक एवं विकासात्मक कार्य र नीतिनियम बनाउने कार्यमा अपाङ्गतालाई समान र समतामूलक रुपमा सहभागिता गराउने प्रतिबद्धता गरेका छन् । जनप्रतिनिधिले अपाङ्गता भएकालाई सेवासुविधा र बेसहारा बालबालिकालाई विद्यालयको पहुँचमा अभिवृद्धि, आर्थिक रुपमा कमजोरलाई क्षमतानुसारको स्वरोजगारको व्यवस्था, शौचालय र बैङ्कमा पहुँचयुक्त एटिएम, अपाङ्गता आकस्मिक कोष स्थापनालगायत विषयका प्रतिबद्धतापत्रमा जोशीपुर गाउँपालिकाका उपाध्यक्ष गीता कठरिया र जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले हस्ताक्षरसहित प्रतिबद्धता जनाउनुभएको छ ।

कैलालीमा सर्वाङ्गीण अपाङ्गता विकास नेपालको तथ्याङ्कानुसार १५ हजार ३७५ अपाङ्गता भएका व्यक्ति छन् । पूर्ण अपाङ्गता भएका ९६० र आंशिक अपाङ्गता भएका एक हजार आठ सय छन् । त्यस्तै दुई हजार ४८० रातो कार्ड, चार हजार २५० नीलो कार्ड, तीन हजार ५३४ पहेंलो कार्ड र बाँकी सेतो कार्ड पाएका अपाङ्गता भएका व्यक्ति छन् ।

रातो कार्ड प्राप्त व्यक्तिले मासिक रु दुई हजार तथा अन्यले कार्डका आधारमा शिक्षा, स्वास्थ्य र यातायातमा ५० प्रतिशत छुट तथा विकासात्मक कार्यमा आरक्षण र समावेशिताको अवसर पाउँदै आएका थिए ।

जिल्लास्तरमा महिला तथा बालबालिका कार्यालयको सहयोगमा विभिन्न समयमा सरकारबाट वितरित परिचयपत्र र कार्ड अहिले खारेज भइसकेको छ । जिल्लामा सो कार्ड खारेज भएपछि स्थानीय तहमार्फत कार्ड वितरण तथा सेवासुविधा दिने कार्य केही स्थानीय तहले शुरु गरिसकेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter