अन्तर्राष्ट्रिय सगरमाथा दिवस – सौन्दर्य जोगाउने चुनौती

काठमाडौँ, जेठ १४ गते । विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । सगरमाथा शिखरमा पहिलो पटक दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिनुभएको थियो । सोही समयदेखि संसारभरि सगरमाथाको आकर्षण बढ्दो छ ।

सगरमाथा आरोहण इतिहासको यो अवधिमा आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहणका क्रममा हालसम्म २९० बढीको निधन भइसकेको बताइन्छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । सोलुखुम्बुकी स्व पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको थियो । जापानी नागरिक स्व जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिनु हुन्छ ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले वसन्त ऋतुको यस याममा गत जेठ ७ गते आफ्नै २३ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ रेकर्ड बनाउनुभएको हो । उहाँले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो ।

कामिरितापछि हालसम्म आप्पा शेपा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाको १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।

पर्यटन विभागका अनुसार सन् २०१९ को वसन्तकालीन मौसममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । यस मौसममा सगरमाथासहितका ३२ हिमाल आरोहणका लागि ११६ आरोही समूहका ८९५ आरोहीले आरोहण अनुमति लिएका थिए । यस यामको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।

यस पटकको सगरमाथा आरोहण आजबाट सकिएको विभागले जनाएको छ । यस याममा ६०० भन्दा बढीले सगरमाथा आरोहण गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो । कति सङ्ख्यामा आरोहण भयो भन्नेबारे पुष्टि भइनसकेको विभागले जनाएको छ । सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।

दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन ९मे २९ तारिक० को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।

सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो । मानिसले सगरमाथा र नेपालको परिचयलाई जोडेर हेर्नसमेत थाले ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो ।

यसपटक १२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको छ । दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको ३७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमअनुसार बुधबार बिहान ठमेलबाट प्रभातफेरीपछि राष्ट्रिय सभागृहमा औपचारिक समारोह आयोजना गरिनेछ ।

समारोहमा हिलारीकी छोरी सारा हिलारीलगायत विदेशी पाहुनाको सहभागिता रहनेछ । सो अवसरमा ‘अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार’ र ‘तेञ्जिङ हिलारी पुरस्कार’ प्रदान गरिनेछ । यस पटक सगरमाथा हिमाल सफाइ अभियानमा खटिएका शेर्पा टोलीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सगरमाथा राष्ट्रको गौरव भएकाले यसको प्रवद्र्धनका लागि सरकारले विशेष प्रथामिकता दिएको बताउनुभयो ।

सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई महत्व दिएको सन्दर्भमा पनि सगरमाथाले आम मानिसको ध्यान केन्द्रित गरेको छ । सगरमाथाको शान र गौरवलाई चिरस्थायी बनाइराख्न वातावरण र पर्यावरणीय पक्षलाई ध्यान दिन जरुरी देखिएको सरोकारवालाले औँल्याउने गरेका छन् ।

पछिल्लो समय विश्व तापमान वृद्धिले जलवायु परिवर्तनको जोखिम बढेको र त्यसको प्रत्यक्ष असर हिमालमा परेको छ । हिमालहरु कालापत्थरमा परिणत हुने हुन् कि भन्ने चुनौती थपिएको छ । यसर्थ, समयमै विश्वको सम्पत्ति सगरमाथा संरक्षणका लागि जुट्न सरकारले विश्व समुदायलाई आह्वान गरिसकेको छ । सरकारी तथा निजी क्षेत्रको साझेदारीमा सगरमाथा सफाइ अभियान पनि यसै वर्ष शुरु गरिएको थियो । सगरमाथाको क्याम्प ४ सम्म पुगेर १० हजार ८२४ केजी फोहर सङ्कलन गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter