‘सार्वजनिक शिक्षा सुधारमा प्राथमिकता : कार्यवाहक प्रम’

काठमाडौँ, जेठ २९ गते । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताउनुभएको छ ।

तारकेश्वर नगरपालिका गोलढुङ्गास्थित पृथ्वीनारायण माविको नवनिर्मित भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधानको मौलिक हकको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा शिक्षा क्षेत्रमा सुधारका लागि सामुदायिक विद्यालय गुणस्तर अभिवृद्धि दशक सञ्चालन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबल र कुशल जनशक्तिको आवश्यकता पर्छ । त्यस्तो जनशक्ति गुणस्तरीय शिक्षाबाट मात्रै प्राप्त हुन्छ । शिक्षाले उत्पादन, श्रम, रोजगार र आत्मनिर्भरतालाई जोड्न सक्नुपर्छ । त्यसका लागि हामी नीतिगत र कार्यक्रमिक पुनःसंरचनाको चरणमा छौँ ।”

उहाँले ७० प्रतिशतसम्म प्राविधिक शिक्षाको धारलाई प्राथमिकता दिइएको र आगामी आर्थिक वर्षमा मुलुकका ७० जिल्लासम्म पूर्ण साक्षर घोषित हुने पनि बताउनुभयो । दक्षिण कोरियाली संस्था अम हाँेङ गिल ह्युमन फाउण्डेशनको करीब रु २० करोड सहयोगमा निर्माण हुने पुस्तकालय तथा बहउद्देश्यीय कभर्ड हलको उपप्रधानमन्त्री पोखरेलले शिलान्यास गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले कोरियाली नागरिक अम होँङलाई नेपालको मानार्थ नागरिकता दिने विषयमा सरकारले चाँडै निर्णय गर्ने पनि सुनाउनुभयो । अम होँङले सन् २००२ मा सगरमाथा आरोहण गर्नुभएको थियो भने संस्था खोली नेपालमा सामाजिक काम गर्दै आउनुभएको छ । उहाँले संसारका आठ हजार मिटरभन्दा अग्ला १६ हिमाल चढेर कीर्तिमान राखिसक्नुभएको छ । फाउण्डेशशनले यसअघि नेपालमा विभिन्न १५ विद्यालयमा भवन निर्माण गरिसकेको छ । सो फउण्डेशनको कार्यकारी निर्देशक अम होँङ नै हुनुहुन्छ । उहाँले नेपाली विद्यार्थीको सुन्दर सपना पूरा भएमा देशको भविष्य उज्जल हुने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारले शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेट अझै अपर्याप्त भएको गुनासो गर्नुभयो । नेपालका लागि कोरियाली राजदूत छङ उन, नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव राधिका अर्याललगायतले विद्यालयको सफलताको कामना गर्नुभएको थियो । विसं २०३२ मा स्थापित सो विद्यालयमा हाल १०२० विद्यार्थी रहेका प्रधानअध्यापक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter