एटिएमजस्तै सेनेटरी प्याड मेशिन

स्याङ्जा, असार ४ गते । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै गरी सेनेटरी प्याड झिक्न सकिन्छ । विद्यालयका छात्राले आफूलाई आवश्यकता परेका समयमा विद्यालयमा जडान गरिएको सेनेटरी प्याड मेशिनमा एटिएमबाट कार्ड छिराएर पैसा झिके जसैगरी स्मार्ट कार्ड छिराएर प्याड निकालेर प्रयोग गर्न पाएपछि छात्रामा खुशीयाली छाएको छ ।

कक्षा १० की अङ्किता खड्काले विद्यालयमा भेन्डिङ मेशिन राखेपछि धेरै सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेशिन हुनुभन्दा पहिले कक्षाकोठामा पढ्दापढ्दै रजस्वला भएमा पढाइ नै छाडेर घर जानुपर्ने बाध्यता थियो । अहिले त्यो समस्या छैन ।”सोही विद्यालयकी कक्षा ९ की प्रतीक्षा शर्माले रजस्वला हँुदा विद्यालयमा डराइडराइ आउनुपर्ने र बिदा मागेर कक्षा बीचमै छाडेर घर जानुपर्ने बाध्यता मेशिन आएपछि अन्त्य भएको बताउनुभयो ।

विद्यालयकी शिक्षिका जमुना काफ्लेले मेशिन प्रयोगमा आएसँगै छात्राको सिकाइमा धेरै सहजता पाइएको अनुभव सुनाउनुभयो । पहिले पहिले छात्राले लुकाउने गरेका कुरा यन्त्रको प्रयोगसँगै खुलेर राख्न थालिएको र यसले नतिजामा समेत राम्रो प्रभाव पारेकोे शिक्षिकाको भनाइ थियो ।

कक्षा ६ देखि माथिका छात्रालाई लक्ष्य गरी गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त सहकार्यमा रु ८८ हजारको लागतमा महिनावारी स्वच्छता व्यवस्थापनका लागि विद्यालयलाई भेन्डिङ मेशिन उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । रजस्वला भएकै कारण कक्षा छाड्ने विद्यार्थीले अब यो समस्याबाट छुट्कारा पाउने गाउँपालिका उपाध्यक्ष देवी थापाले विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter