समृद्धि, सभ्यता र शान्तिका लागि योगध्यान आवश्यक छ – प्रम

काठमाडौँ, असार ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताउनुभएको छ । पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालीका पुर्खा ध्यानका सर्जक भएकाले नेपाललाई विश्व ध्यान केन्द्रका रुपमा स्थापना गर्नुपर्ने बताउनुभयो ।
“अस्वस्थ चिन्तनबाट बच्न योग गरौँ, कर्म र योग दुवै गरौँ, ध्यानले असहिष्णुताबाट जोगाउँछ, ऋषिमुनिले योगलाई जीवनपद्धति बनाएकाले जरिला भरिला बने, आहार, विहार एवं व्यायामले जीवनलाई सन्तुलित बनाउने भएकाले यसको अभ्यास जरुरी छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
वाल्मीकि, विश्वामित्र, वशिष्ठ, व्यासजस्ता ऋषिमुनिले नेपालभूमिमै साधना गरेकाले यो तपोभूमि, ज्ञानभूमि एवं शान्तिभूमिका रुपमा विश्वमा परिचित भएको उहाँले बताउनुभयो । केही स्थानमा त्रेतायुगका योगस्थ अवस्थाका मुद्रा भेटिएकाले योगको प्राचीनतालाई प्रमाणित गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । दिनभर ताजारुपमा काम गर्ने क्षमताका लागि समय निकालेर योग अभ्यासको परम्परा बसाल्ने सुझाव पनि उहाँले दिनुभयो ।
कार्यक्रममा शिक्षामन्त्री एवं अन्तरराष्ट्रिय योग दिवस मूल समारोह समितिका संयोजक गिरिराजमणि पोखरेलले विद्यालय तहको पाठ्यक्रममा योगलाई समेटेर जाने गृहकार्य भइरहेको जानकारी दिनुभयो । सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको अभियान पूरा गर्न पनि योग र ध्यानलाई प्रवद्र्धन गर्न लागिएको मन्त्री पोखरेलको भनाइ थियो । मन्त्रालयका सचिव खगराज बरालले विद्यार्थीका माध्यमबाट घरघरमा योगाभ्यासको संस्कृति पुनस्थापना गर्न विद्यालय तहदेखि योग शिक्षा अघि बढाउन लागिएको बताउनुभयो ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पूर्वीय दर्शनको एउटा अङ्ग योगको विकासका लागि नेपाल र भारतले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सा विभागका प्रमुख डा हरिप्रसाद पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले पनि योग, प्राकृतिक चिकित्सा, जडीबुटी, आयुर्वेदलगायत पाठ्क्रम तयार पारेकाले यसको क्षेत्र विस्तार हुने आशा व्यक्त गर्नुभयो । योग र प्राकृतिक चिकित्साको शिक्षण अस्पतालसमेत नेपालमा खुल्न लागेको जानकारी पनि उहाँले दिनुभयो । आदिकालमा ‘योग सबैका लागि सधैँका लागि’ भनेर चिनिएकाले त्यो मान्यता पुनस्थापना हुनुपर्ने बताउँदै डा पोखरेलले ‘अष्टावक्र गीता’लाई राष्ट्रिय ग्रन्थका रुपमा घोषणा गर्न सरकारसँग माग गर्नुभयो ।
स्वामी आनन्द अरुणले धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ प्राप्तिका लागि शरीर स्वस्थ हुनुपर्ने एवं त्यसका लागि नियमित योगाभ्यास आवश्यक रहेकामा जोड दिनुभयो । अहङ्कार एटम बमभन्दा खतरनाक भएकाले शान्त रहन योग तथा ध्यानको अभ्यास जरुरी रहेको विचार उहाँले राख्नुभयो ।
माक्र्सवादी गुरुकुलका अध्यक्ष एवं योगसाधक सोनाम साथीले योग, ध्यान अध्ययन केन्द्रको स्थापनाका लागि प्रधानमन्त्री ओलीसँग माग गर्नुभयो । द्वन्द्वको व्यवस्थापनका लागि योग ध्यान अत्यावश्यक रहेकाले एक मिनेट शान्त हुने अभ्यास गरे हजार मिनेटसम्म निरन्तरता दिन सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा योग स्नातकोत्तर प्रतिष्ठानका अध्यक्ष डा क्षितिज बाराकोटी, ७५ वर्षीय योगसाधक सुरेन्द्र लोहनी, पातञ्जल योग समिति, पतञ्जलि योग समिति, वाग्मती बोर्डिङ स्कूल, माउण्ट एभरेष्ट स्कूललगायतका प्रतिनिधिले योगका विभिन्न आसनको अभ्यास प्रदर्शन गर्नुभएको थियो ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयानुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महीनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।
कार्यक्रमअघि रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै राष्ट्रियसभागृ पुगेको थियो । प्रभातफेरीमा योग एवं ध्यानका क्षेत्रमा कार्यरत विभिन्न संस्थाका सदस्यको सहभागिता थियो । रासस