वायु सेवा निगमलाई चुस्त र प्रभावकारी बनाउन प्रमको निर्देशन

काठमाडौँ, असार १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रको पहिचान र गौरवसँग जोडिएको ध्वजाबाहकको कुशल व्यवस्थापनका साथ अन्तर्राष्ट्रिय गन्तव्य विस्तारको कार्यलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।

निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत सार्थक तुल्याउन नेपाल एयरलाइन्सको महत्वपूर्ण भूमिका रहने भन्दै सम्पूर्ण जहाजलाई पूर्ण क्षमताका साथ उडाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुयभो ।

“निगमलाई काम गर्न पूर्ण अधिकार छ, जहाज बढाउनुस्, गन्तव्य बढाउनुस् तर बिनायोजना जहाज थुपारेर ‘ग्राउण्डेड’ भइरहने अवस्था आउनु राम्रो होइन । म व्यवस्थापनलाई आग्रह गर्छु, निगम सुधार्ने उचित उपाय ल्याउनुस् अनि कस्तो कदम चाल्नुपर्छ त्यो सरकारले निर्णय गर्छ, ऋण तिर्नेमात्र होइन कमाउने उपायसहितको योजना र गन्तव्यको खोजी गर्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

सिङ्गो मुलुकको अर्थतन्त्रलाई सकारात्मक उत्थान गर्ने उपयुक्त माध्यमको रूपमा रहेको निगमको प्रभावकारी सञ्चालन र सेवा स्तरीकरणमा गम्भीर ध्यान पु¥याउन पनि प्रधानमन्त्री ओलीले व्यवस्थापनलाई आग्रह गर्नुभयो ।

अहिलेकै अवस्थामा पैसा दिन सकिन्न

आर्थिकरूपमा कमजोर बनेको निगमको अवस्थालाई उकास्न सरकारलगायत सबै क्षेत्रको सक्रियता हनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले निगमको आर्थिक सबलीकरणका लागि सरकारले पूर्ण सहयोग गर्ने तर अहिलेकै अवस्थामा पैसा दिन नमिल्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “व्यवस्थापनले सञ्चालनको ठोस योजना ल्याउनुपर्छ, अहिलेकै अवस्थामा चलाउन सकिन्न भने रणनीतिक साझेदार पनि खोजौँ, यथास्थितिमै पैसा दिन सकिन्न, व्यवस्थापन सञ्चालनको सुव्यवस्थाविनै पैसा दिन मिल्छ भन्नेमा मलाई विश्वास छैन ।”

प्रधानमन्त्री ओलीले अन्य निजी वायु सेवा प्रदायक कम्पनी नाफामा रहने तर निगम चाहिँ सधैँ घाटामै रहिरहनुपर्ने अवस्था किन आयो भनी प्रश्न गर्दै आर्थिक अवस्था सुधार्न सरकारले आवश्यक परे हस्तक्षेप गरेर भएपनि निगमको साख जोगाउने विश्वास दिलाउनुभयो ।

आर्थिकरूपमा कमजोर बनेको निगमले सञ्चित पूँजी वृद्धिका लागि सरकारसँग रु २० अर्ब माग गरेको छ । निगमले अहिले रु ३७ अर्ब घाटामा रहेको जनाएको छ । भएका जहाज पनि सञ्चालन नभइरहेको अवस्थामा निगमका कर्मचारी सङ्गठनका प्रतिनिधिले भने आगामी पाँच वर्षमा २५ वटा जहाज खरीदका लागि सरकारसमक्ष आग्रह गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले निगमको प्रभावकारी व्यवस्थापन नभएसम्म जहाज मात्र किनेर थन्क्याउने पक्षमा सरकार बिलकुल नभएको प्रष्ट पार्नुभयो ।

“निगममा रु ३७ अर्ब घाटा के कारणले, कसरी हुनपुग्यो, गम्भीर समीक्षा हुन जरुरी छ, कतै निगमकै कमजोरीका कारण यो अवस्था आएको हो कि ? अहिलेको सरकार चर्चापरिचर्चाबाट प्रेरित हुँदैन, जहाज किनेर त्यसै लडाउन ? मैदानभरि जहाज छन् तर आकासमा उड्दैनन् यस्तो अवस्था सधैँ रहिरहनु उचित हुन्न”, उहाँले भन्नुभयो ।

गम्भीर चुनौतीको सङ्घारमा रहेको निगमलाई सफल बनाउन सरकारको पनि दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले ‘निगमलाई सहयोग गर्ने मात्र नभई काँधै थाप्छ, यो आफ्नै वायु सेवा निगम हो, तर, उपयुक्त ढङ्गले सञ्चालन हुनुपर्छ’ भन्नुभयो ।

उहाँले वाइडबडी जहाज लामा गन्तव्यमा उड्न नसक्नु तथा गन्तव्य विस्तारको प्रभावकारी योजना अभावले निगम आर्थिक सङ्कटमा पर्न गएको उल्लेख गर्दै लामा गन्तव्यमा उडानका लागि पहल थाल्न आग्रह गर्नुभयो ।

निगमलाई सुधार्नु निकै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले थप्नुभयो– “निगमको ६१ वर्षको उपलव्धि ३७ अर्ब ऋण छ, यो क्षेत्र ‘दान, पुण्य, समाज सेवाको’ क्षेत्र मात्र होइन, यो त व्यापार व्यवसाय पनि हो, निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो वायु सेवा निगम होइन, यसले आफूलाई टिकाउन र भविष्यलाई सुदृढ तुल्याउन व्यापार बढाउन जरुरी छ ।”

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले भ्रमण वर्षको सन्दर्भमा निमगको सञ्चालन क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गन्तव्य विस्तार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ काम अघि बढाइने जानकारी दिनुभयो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनेकन चुनौतीका बीच पनि निगमलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनीको रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।

निगमका जहाज पूर्णरूपमा सञ्चालन तथा लामा गन्तव्यमा उडान विस्तार गर्न नसकिएकै कारण अपेक्षित नाफा आर्जन गर्न नसकेको भन्दै उहाँले वाइडबडी जहाजबाट भदौ पहिलो साता जापानको ओसाका तथा क्रमशः चीनको ग्वोञ्जाओ र साउदी अरेबियाको रियाद गन्तव्यमा उडान विस्तारका लागि प्रक्रिया अघि बढाइएको पनि जानकारी दिनुभयो । निगमका नायब महाप्रबन्धक गणेशबहादुर चन्दले निगमको प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा नयाँ गन्तव्य विस्तारका लागि धमाधम काम भइरहेको उल्लेख गर्नुभयो ।

निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगी र निगम कर्मचारी सङ्घका अध्यक्ष तारिणिराज दाहालले निगम सुधारका लागि जहाजको सङ्ख्या वृद्धि र गन्तव्य विस्तारमा जोड दिनुभयो ।

निगमको सात अर्ब आम्दानी, यात्रु ६३ प्रतिशतले बढे

निगमको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय उडानबाट निगमले चालू आवको चैतसम्ममा रु सात अर्ब ५४ करोड १० लाख ३८ हजार सञ्चालन नाफा कमाएको छ । निगमले गत आवको सोही अवधिमा रु तीन अर्ब ८४ करोड ७१ लाख १५ हजार आम्दानी गरेको थियो । यात्रु सङ्ख्याको आँकडा हेर्दा गत वर्ष २०७४ साउनदेखि २०७५ जेठसम्म तीन लाख ४८ हजार ५२८ यात्रुले निगमको अन्तर्राष्ट्रिय उडानमा यात्रा गरेका छन् । यस वर्ष सोही अवधिमा पाँच लाख ६९ हजार ३४ यात्रुले यात्रा गरका छन् । यो आँकडा अघिल्लो वर्षको तुलनामा ६३.५ प्रतिशतले बढी हो ।

सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवामा निगम पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७३ यात्रुलाई सेवा पु¥याई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत पु¥याउन सफल भएको छ ।

निगमले हाल दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रियतर्फ छ देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ । आन्तरिकतर्फ दुई एम–६०, चार वाई–१२ र तीन डिएचसी–६ गरी जम्मा नौ जहाजमार्फत २२ विमानस्थलमा सेवा सञ्चालन गर्दै आएको छ । निगमले नेपाल आउने ३० विदेशी वायु सेवा प्रदायक कम्पनीलाई भूमिस्थ प्रबन्ध सेवा प्रदान गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter