बुद्धको देशमा हिंसा अस्वीकार्य – मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, साउन ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै भन्नुभयो, “बुद्धको देशमा हिंसा अस्वीकार्य छ ।” जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्ने उहाँले दाबी थियो ।

मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ ।” खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतङ्क मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतङ्क मच्चाउनेजस्ता गतिविधि गलत भएको बताउनुभयो । “अब यस्ता गतिविधि चल्नेवाला छैन, यो देशका निम्ति घातक सावित हुनेछ”, उहाँले भन्नुभयो ।

कसैले हिंसा भड्काउँदा सरकार झुक्ला भन्ने ठान्नु गलत हुने उल्लेख गर्दै सरकार कुनै पनि हालतमा कमजोर नहुने मन्त्री बाँस्कोटाले दाबी गर्नुभयो । “मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटङ्की कसैले पनि नगर्दा हुन्छ”, उहाँले भन्नुभयो । उहाँले कसैले धम्क्याए भने त्यसविरुद्ध सडकमा निस्कन पनि उद्योगीलाई आग्रह गर्नुभयो । “तपाईंहरु सडकमा आउनु पर्दैन, छलफलबाटै समस्या समाधान हुन्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो । देशमा आन्दोलन, झडप भैदिए आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने एकथरि भए पनि तिनको चाहना पूरा नहुने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री बाँस्कोटाले देश निर्माणका लागि विदेशीको सहयोग पूँजी प्रविधिमा लगानी गर्न लिइने बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशीको सहयोग पनि लिन्छौँ तर हाम्रो हितमा लिन्छौँ, उनीहरुको हितका लागि हैन ।” उहाँले उद्योगको क्षेत्रमा केही कमी कमजोरी भए छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल र किशोर मानन्धरले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा मन्त्री बाँस्कोटालाई सङ्घका जिल्लाध्यक्ष प्रकाश मानन्धरलगायतले अभिनन्दनपत्रबाट सम्मान गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter