• Wednesday, April 16, 2025

मदन भण्डारी भएको भए एकता त्यति बेलै हुन्थ्यो – अध्यक्ष दाहाल

इलाम, भदौ २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताउनुभएको छ । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गर्नुभयो ।

“पार्टी एकतालाई हल्का रूपमा नलिनु होला”, अध्यक्ष दाहालले भन्नुभयो, “एकता भनेको असल नेतृत्व, असल नेता र नेतृत्वशैलीबाट मात्र हुन्छ । त्यो सबै मिलेकै कारण मात्र एकता सम्भव भएको हो ।”

विगतमा कम्युनिष्ट शक्ति विभाजित हुँदा गैर–कम्युनिष्ट शक्तिले प्रभाव जमाएको उल्लेख गर्दै अध्यक्ष दाहालले असल नेतृत्व र नेतृत्वशैलीको प्रभावले गर्दा मात्र एमाले र माओवादीबीच एकता सफल भएको बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट एकताको बारेमा चर्चा गर्दै २०२८ सालदेखिको कम्युनिष्ट आन्दोलन र त्यसबेलाको परिस्थितिपछि राष्ट्र र जनताको मागले गर्दा अहिले आएर एकता सम्भव भएको बताउनुभयो ।

अध्यक्ष दाहालले विगतमा पनि एकताका प्रयास भए पनि विभिन्न कारणले हुन नसकेको बताउनुभयो । “मैले २०५० सालमा पनि तत्कालीन मालेका महासचिव मदन भण्डारीलाई एकताका लागि आग्रह गरेको थिएँ, तर उहाँको असामयिक निधनका कारण एकता हुन सकेन ।” उहाँले भावुक हुँदै भन्नुभयो, “यदि मदन भण्डारी भएको भए एकता पक्कै त्यति बेलै हुन्थ्यो होला ।”

अध्यक्ष दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताउनुभयो । उहाँले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताउनुभयो ।

उहाँले कार्यकर्तालाई पार्टी एकता नेताले चाहेर मात्र भएको नभई परिस्थिति र असल नेतृत्वका कारण भएको स्पष्ट पार्नुभयो । “पार्टी एकता त्यसै भएको छैन, तपाईंहरूले कम्युनिष्ट इतिहास पढ्नु भयो भने मात्र यसको मर्म बुझ्नु हुन्छ ।” अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रो यो एकतालाई विश्वले समेत सराहना गरेको छ, दुई फरक ठूला पार्टी एकता हुने कुरा मामुली रूपमा नलिनु होला ।”

उहाँले पहिलो संविधान निर्माणका लागि चुनाव लड्दै गर्दासमेत तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालसँग आफूले एकताका लागि आग्रह गरेको तर सम्भव नभएको उल्लेख गर्नुभयो ।

यसैबीच, कार्यकर्तालाई प्रशिक्षण दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकलाई आवश्यकता परेकै कारण दुई ठूला शक्ति (एमाले र माओवादी केन्द्र)बीच एकता भएको बताउनुभएको छ ।

समान विचारधारा भएका शक्तिहरू फरक सङ्गठन र पार्टीमा रहँदा मुलुकको आवश्यकता पूरा नहुने भएपछि पार्टी एकता भएको खनालले जिकिर गर्नुभयो । उहाँले सबै कम्युनिष्ट एक नभएमा मुलुकमा विकास सम्भव नहुने बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता खनालले पुष्पलालले पार्टी निर्माण गरेको ५६ वर्षपछि मात्र एकता भएर एक ठाउँ आइपुगेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले निर्वाचन पद्धति महँगो भएकाले परिवर्तन गर्नुपर्नेसमेत विचार व्यक्त गर्नुभयो । निर्वाचन प्रणाली महँगो हुँदा सामान्य व्यक्तिले चुनाव लड्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

‘अधिनायक भन्नेहरु संविधान पढ्नुहोस्’

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान सरकारलाई अधिनायकवादी र लोकतन्त्र विरोधी भन्नेलाई संविधान पल्टाएर पढ्न सुझाव दिनुभएको छ । आफ्नै नेतृत्वले निर्माण गरेको संविधान आफैँले ‘कुल्चन’ नसक्ने भन्दै नेम्वाङले संविधानको मर्म र भावना बाहिर कोही पनि जान नसक्ने स्पष्ट पार्नुभयो ।

संविधानले सबै पक्षको भावना समेटेर अघि बढेको भन्दै नेम्वाङले यसबारेमा औँला उठाउनु नपर्ने बताउनुभयो । नेम्वाङले कम्युनिष्ट नेतृत्वमा नभएको भए संविधान निर्माण नहुने बताउनुभयो । उहाँले मुलुकमा विभिन्न समयमा भएका आन्दोलनको प्रतिफलसमेत संविधानले दिएको बताउनुभयो । नेम्वाङले मुलुक स्थिरता र विकासको ढोका मानिने संविधान निर्माण गर्ने काम कम्युनिष्ट नेतृत्वकै कारणमात्र सम्भव भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “सबै दललाई एक बनाउने काम हामीले नै ग¥याँै ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter