गौरीशंकर संरक्षण क्षेत्रको सुरक्षामा जुटे लामा गुरुहरु
कैलाश लामा / चरिकोट, दोलखा, असोज ८ गते । सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको दुई हजार १७९ वर्ग मिटर क्षेत्रफलमा फैलिएको गौरीशंकर संरक्षण क्षेत्रको सुरक्षा गर्ने जिम्मा लामागुरुले पाउनुभएको छ ।
प्राणी अधिकारलाई पूर्णतः प्रत्याभूत गरिएको बौद्ध धर्मका अनुयायी लामा गुरुहरुलाई उक्त जिम्मा दिइएको हो ।
तीन जिल्लाका १० स्थानीय तहमा ९५० देखि सात हजार १३४ मिटरको उचाईमा फैलिएको संरक्षण क्षेत्रको अधिकांश भूभाग हिमाली भेगमा पर्ने र बौद्ध धर्मका लामा गुरुहरुको समेत उक्त क्षेत्रमा बसोबास रहेकाले लामाहरुबाट संरक्षण क्षेत्रलाई बलियो सुरक्षा मिलेको संरक्षण क्षेत्र प्रमुख सत्यनारायण शाह बताउनुहुन्छ ।
अहिंसावादी लामागुरुहरुबाट गौरीशंकर संरक्षण क्षेत्रको किरा, फट्याङ्ग्रा समेतलाई सुरक्षा भएको उल्लेख गर्दै उहाँले गौरीशंकर क्षेत्रको संरक्षण र सम्वद्र्धनको लागि लामा गुरुहरुलाई अघि सारिएको बताउनुभयो ।
उहाँले मंगलबार राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर संरक्षण क्षेत्रको केन्द्रीय कार्यालय सिंगटी, दोलखामा एक कार्यक्रम आयोजना गरी संरक्षण क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा गुरुहरुलाई सम्मानका साथै भावी योजनाहरुमा साथ दिन आग्रह गर्नुभयो ।
करिब ४० गुम्बाका लामा गुरुहरुमाझ उहाँले संरक्षण क्षेत्रको सुरक्षामा जुटेका र जुट्ने लामाहरुलाई संरक्षण क्षेत्रले विशेष सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
संरक्षणमा महत्वपुर्ण योगदान गरे वापत सम्मानित हुनु भएका रोल्वालिङ साङाग छोलिङ गुम्बाको प्रमुख लामा ङावाङ तेन्जीङ लामाले प्रकृति संरक्षण गरेर मात्रै शान्ति कायम रहेने भएकोले लामाहरु प्रकृतिको सुरक्षामा प्रतिबद्ध रहेको बताउनुभयो ।
मानव र अन्य सबैको बाँच्ने अधिकारमा समानता भएको हँुदा वातावरण लगाएत सम्पूर्ण पर्यावरणीय संरचनामा पनि समान अधिकार भएको उल्लेख गर्दै उहाँले मानव जातिले मात्र पर्यावरणको दुरुपयोग हँुदा अरु प्राणीहरुको जीवन चक्रमा आघात पुगेको छ ।
हाल संरक्षण क्षेत्रले आफ्ना क्षेत्र भित्रका वनजंगल, बन्यजन्तु, जडिबुटी र अन्य प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षणका लागि संरक्षणमा पर्ने तीन जिल्लाका २५ वटा विद्यालयमा संरक्षण शिक्षा पढाइने व्यवस्था गरेको छ ।
वि.सं. २०६६ सालमा स्थापित गौरीशंकर संरक्षण क्षेत्रमा विश्वमै दुर्लभ मानिएका हिउँ चितुवा, रेड पाण्डा, सुनौलो बिरालो पाइन्छ ।
त्यसैगरी, च्छोरोल्पा हिमताल, भैरव कुण्ड, दुध पोखरी, पाँच पोखरी र बहुला पोखरी लगाएको धार्मिक आस्था रहेको सम्पदाका साथै भोटेकोसी, तामाकोशी लगायतका ठूला नदीहरु संरक्षण क्षेत्रभित्र पर्दछ ।
पर्यटन प्रवद्र्धनका लागि निकट भविष्यमै कस्तुरी मिर्गको फार्मिङ र रेड पाण्डाको प्रजनन केन्द्र स्थापनाका लागि संरक्षण क्षेत्र लागि परेको आयोजना प्रमुख सत्यनारायण शाहले बताउनुभयो ।