• Monday, June 09, 2025

परम्परागत कृषिलाई तोड्नु नै पहिलो प्राथमिकताः कृषिमन्त्री भुसाल

भैरहवा, मड्सिर ७ गते । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले परम्परागत कृषि प्रणालीलाई तोड्नु नै आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभएको छ । कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको र यसका लागि परम्परागत कृषिप्रणाली तोड्नैपर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले शनिबार गौतमबुद्ध विमानस्थलमा आयोजना पत्रकार भेटघाटमा बोल्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । गरिबी निवारण, विकास, उत्पादन र उत्पादकत्व वृद्धि जस्ता कुरा कृषि क्षेत्रसँग जोडिएकोले कृषिमा क्रान्ति नभएसम्म समाजवादमा पुग्न नसकिने उहाँको भनाइ छ ।

मुलुकको कृषि प्रणाली परम्परागत रहेकाले यसलाई तोड्नैपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो–“परम्परागत र निर्वाहमुखी कृषिप्रणाली तोडेर व्यावसायिक कृषि नगरेसम्म कृषि क्रान्ति सम्भव छैन ।”

मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आउनुभएका भुसालले आफ्नो ध्यान परम्परागत कृषिप्रणाली तोड्नेतर्फ नै हुने बताउनुभयो । “अहिले बजेटले निर्दिष्ट गरेका कुरा इमान्दारीपूर्वक कार्यान्वन गर्नेतर्फ नै मेरो ध्यान जान्छ, तर आगामी वर्षको नीति कार्यक्रम बनाउने बेला कृषि क्रान्तिलाई बल पुग्ने गरी योजना बनाउने प्रयास रहने छ”–उहाँले भन्नुभयो ।

विकास सजिलो कुरा नभएको तर यो सम्भव रहेको भन्दै मन्त्री भुसालले कृषि क्षेत्रमा रहेको श्रम शक्तिलाई कृषि क्रान्तिमा रुपान्तरण गर्ने आफ्नो योजना रहेको सुनाउनुभयो । जिम्मेवारी निर्वाह गरिरहँदा आफू कुनै लोभ र डरबाट भने प्रभावित नहुने उहाँले बताउनुभयो ।

उहाँले धेरै ठूला कुरा गर्नुको अर्थ नहुने भएकोले व्यवहारिक पक्ष हेर्नुपर्ने पनि बताउनुभयो । मुलुकमा गुजारा श्रम र परम्परागत कृषिलाई उद्यममा ल्याउनु नै मुख्य कुरा रहेको उहाँको भनाइ छ । उहाँले कृषि मन्त्रालय काम गर्नको लागि उपयुक्त मन्त्रालय भए पनि यसमा ऐतिहासिक समस्या रहेको पनि बताउनुभयो ।

“प्रधानमन्त्रीले मलाई कृषि मन्त्रालय अफर गर्नुभयो र कृषि हाम्रो प्राथमिक क्षेत्र भएकोले म मन्त्री बने, कृषिको समस्या समाधान गर्नुपर्छ”– भुसालले भन्नुभयो । टुक्रिएको भूमि र भूस्वामित्व भएको ठाउँमा खास गरी सहकारीताको धेरै महत्व रहेको उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेनुभएका भुसालले परम्परागत गुजारामा चलेको कृषि र श्रमलाई उद्यममा ल्याउन र बढी प्रभावकारी बनाउन प्रयत्न गर्ने बताउनुभयो ।

मल विउको समस्या जतिसक्दो छिटो प्रक्रिया बनाएर समाधान गर्न सकिने भएकोले यसबारे एक महिना नसोध्न पनि उहाँले आग्रह गर्नुभयो । यसबारे आफुले प्रधानमन्त्रीसँग कुरा गर्न नपाएकोले कम्तीमा एक महिना नसोध्न उहाँले आग्रह गर्नुभयो । भारतले नेपालको भूमि आफ्नो नक्सामा प्रकाशित गरेकाबारे पत्रकारको जिज्ञासामा भुसालले कुनै पनि राष्ट्रले बहुपक्षीय विवाद युद्धले समाधान गर्न नसक्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter