सुदूरपश्चिम प्रदेशसभा : कालापानी प्राथमिकतामा

धनगढी, माघ १९ गते । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले मिचिएको नेपालको भूमि कालापानी फिर्ता ल्याउनका लागि पहल गर्न सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराउनुभएको छ । आजको प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भारतले आफ्नो नक्सामा नेपालको भूमि कालापानी र लिपुलेक समावेश गरेको घटनामा प्रदेश सरकार मौन रहेको भन्दै यो विषयमा संसदले सङ्कल्प प्रस्ताव पारित गरेर मिचिएको भूमि फिर्ता ल्याउन पहल गर्न माग गर्नुभयो ।

प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले मिचिएको भूमि फिर्ता ल्याउन र कालापानी क्षेत्रको समग्र विकासमा ध्यान दिन माग गर्नुभयो । सदस्यद्वय डिल्लीराज पन्त र दुर्गाकुमारी कामीले पनि मिचिएको भूमि फिर्ता ल्याउन प्रभावकारी ढङ्गले पहल गर्न सभाको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य हर्कबहादुर कँुवरले गत मङ्सिर ३ गते बेलुकी सात बजे बझाङको छान्नामा गएको ५.७ रिक्टर स्केलको भूकम्पका कारण अछामका ६० परिवारका घरमा क्षति पुगेकोले पीडितलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो । सदस्य सुशीला बुढाथोकीले चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै यसको रोकथामका लागि समयमै पूर्वतयारी गर्न माग गर्नुभयो ।

सदस्य बलबहादुर सोडारीले अछामको ढकारी क्षेत्रमा हालैको पहिरोका कारण ४० घर परिवार जोखिममा परेकोले तिनको सुरक्षित बसोबास मिलाउन र पीडितलाई राहत उपलब्ध गराउन माग गर्नुभयो । सदस्य अर्चना गहतराजले डोटीमा बिरामीको उपचारका लागि रगतको अभाव भएकाले समयमै त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

शून्य समयमा भाग लिने कतिपय सदस्यहरुले सामाजिक विकास मन्त्रालयमा भएको भनिएको भ्रष्टाचारको छानविनका लागि अधिकार सम्पन्न संसदीय समिति गठन गरेर छानविन गर्नुपर्ने बताउनुभयो । उहाँहरूले बजेटको अख्तियारी दिन भएको ढिलाइले विकास योजनाका काम अगाडि बढ्न नसकेकाले समयमै अख्तियारी दिन पहल गर्नुपर्ने माग गर्नुभयो । सदस्यहरूले चिसो र शीतलहरका कारण आलु, गोलभेँडालगायतका हिँउदे बालीमा पुगेको क्षतिबाट, हावाहुरीलगायतको दैविप्रकोपबाट र नक्कली गरिमा धानको खेतीबाट पीडितलाई राहत दिन ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री माया भट्टले ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ र ‘साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भनी छुट्टाछुट्टै रूपमा प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । प्रदेशसभाको अर्को बैठक यही माघ २३ गते दिनको १ बजे बस्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter