अब बृहत्तर लुम्बिनीको विकास हुन्छ – मन्त्री भट्टराई

भैरहवा, माघ २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनीको विकासलाई सरकारले अगाडि बढाउने बताउनुभएको छ । लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै उहाँले यसको विकास सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

बुहत्तर लुम्बिनी क्षेत्रका विषयमा मंगलबार आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । “मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर अब बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने छ”–मन्त्री भट्टराईले भन्नुभयो । लुम्बिनीको विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उहाँको भनाइ छ । मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले मायादेवी क्षेत्रको विकासले मात्रै लुम्बिनीको बृहत्तर विकास हुन नसक्ने बताउँदै विमानस्थलसँगै मायादेवी मन्दिर, देवदह, सैनामैना, तिलौराकोटलगायतका क्षेत्रहरुलाई एक अर्कासँग जोड्नुपर्ने बताउनुभयो ।

लुम्बिनी क्षेत्रमा रहेका सबै ठाउँहरुको आ–आफ्नो महत्व रहेको बताउँदै उहाँले घुम्न आउने विदेशी पर्यटक वा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई एक साता यहाँ बिताउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कोरियाली प्राध्यापक क्वाकले अघि सारेको लुम्बिनी विकासको योजनालाई पनि सरकारले प्राथमिकतामा राखेको र यसलाई पनि कार्यान्वयन गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्ने गरी कोरियन प्राध्यापक क्वाकले शान्ति शहरको गुरुयोजना कोर्नुभएको छ । उहाँको गुरुयोजनाले लुम्बिनीको पाँच वर्गमाइल क्षेत्रमा शान्ति शहर बनाउने र बाँकी १९ वर्गमाइल क्षेत्रलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । पाँच वर्गमाइल क्षेत्र भित्र लुम्बिनी वरिपरिका गाउँ समेटिनेछन् ।

लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको पनि मन्त्री भट्टराईले बताउनुभयो । “हामीले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई प्राथमिकतामा राख्यौँ, जसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले राख्यो । निर्माणको अन्तिम चरणमा पुगिसकेका छौँ । विमानस्थल पछि हट्दैन । त्यो अगाडि बढिसक्यो । त्यसको सञ्चालन छिट्टै गर्दैछौँ”–मन्त्री भट्टराईले भन्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बृहत्तर लुम्बिनीको गुरुयोजना कार्यान्वयन आवश्यक रहेको र यसका लागि प्रदेश सरकारले पनि प्राथमिकता दिएको बताउनुभयो । लुम्बिनीको विकासको नेतृत्व प्रदेश सरकारलाई दिन पनि उहाँले आग्रह गर्नुभयो । लुम्बिनी आसपासमा दबिएर रहेका सम्पदा र क्षेत्रहरुको संरक्षणको जिम्मा सम्बन्धित पालिकाहरुलाई दिनुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल पार्न लुम्बिनीमा पर्यटक बढाउने खालका गतिविधि जरुरी रहेको बताउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बृहत्तर लुम्बिनीको लगभग ८० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी २० प्रतिशत कामका लागि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भइसकेको र डेढ महिना भित्रमा ग्लोबल टेण्डर आह्वान गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सांसद फकरुद्धिन खान, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, लुम्बिनी विकास कोषका कामु सदस्यसचिव ज्ञानिन राईलगायतले बृहत्तर लुम्बिनीको विकासमा तीन तहकै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter