पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ -अध्यक्ष प्रचण्ड

पोखरा, माघ २२ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवम् सङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवम् विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले पोखरास्थित सङ्ग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवम् सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न चाहने जो कोही लाभान्वित हुने बताउनुभयो । “भूगर्भशास्त्रीय अध्ययन गर्न चाहनेका लागि पनि सङ्ग्रहालय महत्वपूर्ण बनेको छ”, उहाँले भन्नुभयो, “यसको व्यवस्थित विकासका लागि म आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

उल्लासका साथ भ्रमण वर्ष २०२० मनाइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यसको शुरुआतमा नै चीनमा देखिएको कोरोना भाइरसको हल्लाका कारण यहाँको पर्यटनमा सामान्य प्रभाव परे पनि यो चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले विश्वकै उत्कृष्ट पर्यटकीयस्थल पोखरामा सङ्ग्रहालय स्थापना भएको बताउँदै यो विश्वभरिका पर्यटकका लागि अवलोकन गर्न आउने स्थलका रुपमा विकास हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पोखरा विमानस्थल सम्पन्न हुने चरणमा रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यहाँका जनताको आर्थिक विकास एवम् समृद्धिका लागि बृहत् चक्रपथ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई व्यवस्थित एवम् प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिँदै यसमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पर्वतीय सङ्ग्रहालयले पोखराको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले वार्षिक तीन लाख पर्यटकले सङ्ग्रहालय अवलोकन गरेको जानकारी दिनुभयो । हिमाल आरोहणका क्रममा मृत्यु भएकाको आत्माशान्तिको कामना गर्दै तेस्रोपटक विश्व शान्ति पूजा गरिएको उहाँले बताउनुभयो ।

यसअघि अध्यक्ष दाहालले सङ्ग्रहालयको अवलोकनका साथै नेपाल पर्वतारोहण सङ्घको झण्डा झण्डोत्तोलन गर्नुभयो । उहाँले पर्वतीय सङ्ग्रहालयका संस्थापकहरूको सालिकमा पनि माल्यार्पण गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter