वनमा व्यावसायिक केराखेती
पाल्पा, माघ २३ गते । यहाँका स्थानीय बासिन्दाले वनको उचितरुपमा व्यवस्थापन गरी आम्दानी गर्न सफल बनेका छन् । निस्दी गाउँपालिका–७ ज्यामिरेस्थित मोलोग्रामका स्थानीय बासिन्दाले खरिया फँडानी गरी व्यावसायिक केराखेतीबाट आम्दानी लिन सफल भएका हुन् ।
वन क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् । वनको रेखदेख भएको छ भने स्थानीय बासिन्दाको आम्दानीको स्रोतका रुपमा वन क्षेत्रको विकास हुँदै गएको हो ।
वनभित्रको झाडी तथा कुकाठ विस्थापित गरी तीन वर्षदेखि केराखेतीले स्थानीय बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । स्थानीय बासिन्दाको अगुवाइमा भिरालो जमिनकोे झाडी र वनमारा हटाइ सिङ्गो बस्ती केराखेतीमा परिणत भएको हो । व्यावसायिक केराखेतीले आन्तरिक पर्यटकको मन लोभ्याउने गरेको छ । केराखेती हेर्न यस क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका छन् ।
अनुत्पादक अवस्थाको वन क्षेत्रमा २५ हजार केराका बोट रोपिएको छ । स्थानीय बासिन्दाले अनुत्पादनक क्षेत्रमा व्यावसायिकरुपमा केराखेती गरी आर्थिकरुपमा टेवा पु¥याउने उद्देश्य रहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताउनुभयो ।
सत्ताइस हेक्टर जमिन केराखेतीका लागि कबुलियती वन कार्यक्रमअन्तर्गत यहाँका स्थानीय बासिन्दालाई वन क्षेत्र हस्तान्तरण गरिएको छ । चालिस वर्षसम्म स्थानीयले केराखेती गरी जीविकोपार्जन गर्ने उद्देश्यसाथ समुदायलाई वन हस्तान्तरण भएको हो ।
गाडादी कबुलियती वन उपभोक्ता समूहका सचिव सञ्जिता ठाडाले भन्नुभयो, “वनबाट दाउरा र घाँस ल्याउने मात्र थाहा थियो, अहिले वनबाट पैसा कमाउन थालेका छौँ । वनभित्र रहेका झाडी तथा वनमारा मासेर केराखेती गरेपछि भएको आम्दानीले स्थानीय बासिन्दालाई निकै उत्साहित बनाएको छ ।”
स्थानीय बासिन्दाले स्वदेशमा नै बसेर दुई चार पैसा कमाउनका लागि विदेश जानु पर्दैन । नेपाली भूमिमा पसिना बगान मेहनत गरे खेतबारी वनबाट पैसा कमाउन सकिने नमूना बनेको सचिव ठाडाले बताउनुभयो । ज्यामिरेस्थित मोलोग्रामको बस्ती वन क्षेत्रसँग जोडिएकाको छ । पच्चीस घरपरिवार वनमा व्यावसायिक केराखेतीमा आबद्ध छन् ।
वन कार्यालय पाल्पासँग स्थानीय बासिन्दाले कबुलियती वन कार्यक्रम सम्झौता गरी व्यावसायिक केराखेतीमा जुटेका हुन् । चालिस वर्ष स्थानीय बासिन्दाले व्यावसायिक केराखेती गर्नेछन् । वन क्षेत्रको रेखदेख र संरक्षणका लागि दुई कबुलियती वन समूह गठन भएका छन् । ती समूहको सहकार्यमा वनमा व्यावसायिक केराखेती हुँदै आएको हो ।
गाडादी–टोकल्कदी कबुलियती वन उपभोक्ता समूहका अध्यक्ष रमनबहादुर सारुले २५ घरपरिवारको सहकार्यमा सञ्चालित व्यावसायिक केराखेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएको बताउनुभयो । यो आवमा १० लाख आम्दानी हुने अनुमान छ ।
कम लगानी र मेहनतमा व्यावसायिक केराखेती हुँदा यहाँका किसानसमेत खुशी छन् । केराखेतीबाट भएको आम्दानी समूहका सदस्यलाई बराबर वितरण हुँदै आएको छ । सामूहिकरुपमा केरा रोपियो, सामूहिकरुपमा नै केरा झारपात हटाउने र पाकेको केरालाई बजार व्यवस्थापन गर्ने काम हुँदै आएको समूहका अध्यक्ष सारुले बताउनुभयो ।
नवलपरासीको विडीपुर, छिमेकी पूर्वखोला गाउँपालिका र होंसी सिमेण्ट कम्पनीको सडक क्षेत्रमा केराको खपत आएको छ । नवलपरासीको बर्दघाट क्षेत्रबाट यहाँ उत्पादित केरा ठूलो मात्र छ । हप्तामा दुई तीन ट्रक केरा माग रहे पनि एक ट्रक निकासी हुँदै आएको अध्यक्ष सारुको भनाइ थियो ।
मालभोग र राहुस्टार प्रजातिको केरा रोपिएको छ । केराबाट अचार, सब्जी, चिप्स, मःमलगायत विविध परिकार तयार हुन्छ । पाहुनालाई केराका विविध परिकारको स्वाद लिन सकिन्छ । पहाडी जिल्लामा उत्पादित केरा मीठो हुँदा यसको माग तराईका जिल्लामा बढी छ । जिल्ला कृषि विकास कार्यालय र ओकेबाजेको आर्थिक सहयोगमा केराखेती थालिएको हो । डिभिजन वन कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक केराखेती विस्तार गरिएको हो । व्यावसायिकरुपमा केराखेतीले स्थानीय बासिन्दाको जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सफल बनेको हो ।रासस
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले केराको निकासी गर्न समस्या हुँदा वन क्षेत्रदेखि बस्तीसम्म चालू आवको असार मसान्तसम्म मोटरबाटो विस्तार गर्ने बताउनुभयो । पाल्पाको निस्दी आर्थिकरुपमा केराखेतीबाट एक÷दुई वर्षको अवधिमा जुर्मुराउन थालेको छ ।