महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

काठमाडौँ, माघ २४ गते । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ ।

समितिले आज पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न विश्वका विभिन्न देशमा रहेका हिन्दू धर्मसँग सम्बन्धित संस्थालाई पनि पत्राचार गर्न लागिएको जानकारी दिनुभयो ।

“विशेषगरी भारतका हिन्दू धर्मसँग सम्बन्धित संस्थाका प्रतिनिधि महाशिवरात्रिमा सहभागी गराइनेछ, ती संस्थालाई भ्रमण वर्ष सचिवालयले पत्राचार गर्नेछ, यसका लागि पशुपति क्षेत्रमा विशेष सफाइ गर्नुपर्नेछ, शौचालयमा पानीको व्यवस्थालगायत तयारी गर्न कोषलाई निर्देशन दिइएको छ”–उहाँले भन्नुभयो ।

पशुपतिनाथ विश्वस्तरमै पहिचानको केन्द्र भएकाले यहाँ पर्यटक भित्र्याउन भ्रमण वर्षको अवसरमा प्रचारप्रसार गरिने पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री भट्टराईले जानकारी दिनुभयो । कोषको सदस्य सचिव डा प्रदीप ढकालले यसवर्ष पनि महाशिवरात्रिमा पशुपति प्रवेशका लागि पासको व्यवस्था नगरिएको जानकारी दिनुभयो ।

महाशिवरात्रिमा पशुपति आउने साधु सन्तको खानपानको व्यवस्थाका लागि गुठी संस्थान र अन्नपूर्ण भण्डारलाई जिम्मेवारी दिइएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो । “भ्रमण वर्षसँग जोडेर यस वर्षको महाशिवरात्रि पर्व मनाउने तयारी गरिएकाले फागुन ६ गते बिहान प्रचारप्रसारका लागि राजधानीमा प्रभातफेरी आयोजना गर्न लागिएको छ, महाशिवरात्रिका दिन फागुन ९ गते रुद्रगाडेश्वरमा कोषका तर्फबाट विशेष पूजा आराधना गरिनेछ, महाशिवरात्रिलाई नै ध्यान दिएर आइतबारदेखि पशुपतिमा नमस्कार अभियान चलाइने छ”,मूलसमारोह समितिको समेत सदस्य सचिव रहनुभएका डा ढकालले भन्नुभयो ।

यसअघि नै पशुपति क्षेत्रलाई मगन्ते र प्लाष्टिकरहित क्षेत्र घोषणा गरिएको छ । घोषणा गरिए पनि पूर्णरुपमा कार्यान्वयनमा नआएको भक्तजनको गुनासो पटक–पटक आउने गरेको छ । महाशिवरात्रिको विशेष तयारीका लागि विभिन्न ११ वटा उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले प्रत्येक वर्ष लाममा बसेर पनि सहज रुपमा पशुपतिनाथको दर्शन गर्न पाइएन भन्ने भक्तजनको गुनासोलाई यसवर्ष व्यवस्थापन गर्न सबैको समन्वयात्मक सक्रियता जरुरी रहेको बताउनुभयो ।

महाशिवरात्रि पर्वको तयारीका लागि पशुपति क्षेत्र र सँगै जोडिएका विभिन्न स्थानमा मद्यपान एवं धूमपान निषेध गरिएको छ । चारवटै सुरक्षा निकायलाई समन्वयात्मक रुपमा पशुपति क्षेत्रमा परिचालन गर्ने गरी तयारी भइरहेको कोषको सुरक्षासमेत हेर्नुहुने प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

महाशिवरात्रिलाई भव्य रुपमा मनाउन पशुपति क्षेत्रमा स्वीकृति नलिई निर्माण गरिएका घर टहरा हटाउने अभियान पनि माघ पहिलो सातादेखि नै कोषले शुरु गरेको छ । यसैगरी कोषले प्लाष्टिक निषेधित क्षेत्रलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन पनि सार्वजनिक अपिल गरेको छ । कोषको अनुरोध नमानी प्रयोगमा ल्याउनेलाई कानूनी कारवाहीको दायरामा ल्याइने प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter