सूचना प्रविधि विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, फागुन २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताउनुभएको छ ।

क्यान इन्फोटेक मेलाको २६औँ संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि विषयलाई ध्यान दिएर सरकारले विधेयक ल्याएको उल्लेख गर्नुभयो । डिजिटलको दुरुपयोग रोक्न र यसबाट हुने अपराध नियन्त्रण गर्न सरकारले नीतिगत सुधारको प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो ।

अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने तर, डिजिटल क्षेत्रमा हुन खोजेका सुशासन पारदर्शिता र डिजिटल कारोवारका वैधतालाई बेवास्ता गर्न नमिल्ने भन्दै सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, “सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतासँग मात्रै जोडिएको छैन ।”

उहाँले भन्नुभयो, “सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो कि भन्ने लाग्छ ।” उहाँले प्रश्न गर्नुभयो, “प्रविधिको पहुँच, हस्तान्तर र प्रविधिको पहुँच र अभावबीचको खाडलको पूरा गर्ने भनेर ‘डिजिटल इकोनोमी’ को कुरा गर्ने तर कानूनी व्यवस्था, सुरक्षित कारोवार, सदुपयोगजस्ता विषयलाई ख्याल नगर्ने ?”

सञ्चारमन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयकमा पहिलाको विद्युतीय कारोवार ऐनका भन्दा बढी स्वतन्त्रताका विषयहरु रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रताका नाममा हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । “सामाजिक सञ्चालका केही कुरा जोडिएको छ । त्यो मिडियासँग जोडिएको विषय होइन । विधेयकमा रहेका दण्ड, सजाय बढी भएमा त्यसलाई कम गराएर पारित गर्छौ”, उहाँले भन्नुभयो ।

उहाँले डिजिटल नेपालको सङ्कल्पको व्यवहारिक कार्यान्वयनका लागि सरकारले पर्याप्त लगानी गरेको र गाउँका कुनासम्म इन्टरनेटको पहुँच विस्तारमा लागेको बताउनुभयो । उहाँले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको सूचना प्रविधि विधेयक हाल सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले संसद्को विकास समितिको बैठकले सूचना प्रविधि विधेयकको प्रतिवेदन फरकमतसहित पारित गरेको उल्लेख गर्नुभयो ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सूचना प्रविधि विधेयक छिट्टै प्रतिनिधिसभामा पेश हुने राससलाई जानकारी दिनुभयो । यो विधेयक विसं २०७५ फागुन ११ गते प्रतिनिधिसभामा पेश भएको थियो । उक्त विधेयक उपर सामान्य छलफल भई दफाबार छलफलका लागि समितिमा पुगेको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले राष्ट्रिय आकांक्षा प्राप्त गर्नका लागि महत्वपूर्ण औजारको रूपमा रहेको सूचना प्रविधि क्षेत्रको विकास विस्तारमा आयोगले पहलकदमी लिने बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’का १० राष्ट्रिय लक्ष्यमध्ये रहेकाले त्यस क्षेत्रलाई सरकारले दरिलो बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले सरकारले अघि सारेको डिजिटल नेपालको कार्ययोजनालाई योजना आयोगले १५औँ योजनाको रुपान्तरणकारी योजनाको रूपमा स्वीकार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन र सेवाग्राहीको पहुँचलाई सहज तुल्याउन सूचना प्रविधिको उपयोग हुने उल्लेख गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले देशको ६० प्रतिशत भूभागमा इन्टरनेटको पहुँच विस्तार भएको र यसै वर्ष देशभर चौथो पुस्ताको सेवा ‘फोरजी’ विस्तार गरिने जानकारी दिनुभयो । क्यान महासङ्घका अध्यक्ष नवराज कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रविधिका नवीन विषयको प्रचारप्रसार तथा सूचना प्रविधिको विकास प्रवद्र्धन गर्ने उद्देश्यले क्यान मेलाको आयोजना गरिएको बताउनुभयो ।

क्यान इन्फोटेक मेला शुरु

कम्युटर एशोसिएशन अफ नेपाल क्यान महासङ्घले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक २०२० इन एशोसिएशन विथ वल्र्डलिङ्क’ आजदेखि शुरु भएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा छ दिनसम्म सञ्चालन हुने मेलामा १८६ व्यासायिक स्टल रहने क्यान महासङ्घका महासचिव नारायण थापाले जानकारी दिनुभयो । यो मेलामा हरेक वर्ष करीब चार लाखले अवलोकन गर्ने गरेका छन् । सन् १९९२ देखि क्यान मेला हुँदै आएको छ ।

यसपटकको क्यान इन्फोटेकको प्रमुख विशेषता इन्नोभेशन एक्स्पोजर रहने छ । यसअन्तर्गत स्टार्ट अप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ उत्पादनको प्रदर्शनी गर्ने छन् । रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतियोगिता पनि आयोजना गरिनेछ । विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री वितरण गर्ने जनाइएको छ । मेलामा इन्फोटेकमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवसर्किङ, मोबाइल फोन तथा सोलुुशन, विद्युतीय सुरक्षा आदिबारे प्रदर्शनी हुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter