प्रचण्डले भने, ‘बीसौं शताब्दिपछि कम्युनिस्टहरू बिग्रिन थाले’

काठमाडौँ, फागुन ९ गते । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय कम्युनिस्ट शासन जनताबाट विमुख हुन खोजेको टिप्पणी गरेका छन् । प्रचण्डले विश्व राजनीतिक इतिहासमा देखिएको यो प्रवृत्ति नेपालको सन्दर्भमा पनि देखिने संकेत आउन खोजेको बताएका छन् ।
‘बीसौं शताब्दिको सुरूमा महान क्रान्तिहरू कम्युनिस्टहरूबाटै भए पनि पछि एकजनाले पनि बलिदानी नगरी त्यो सत्ता पुँजीवादी सत्तामा पतन भयो,’ प्रचण्डले भने ।
शुक्रबार बिहान प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानले भक्तपुरमा निर्माण हुन लागेको भवन शिलान्यासका लागि पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।
नेपालमा सत्तामा नभएका वेला कम्युनिस्ट नेताहरूमा जनभावना बुझ्ने, जनताहरूसँग घुलमिल हुन सक्ने क्षमता भए पनि सत्तामा पुगेपछि त्यो आदर्श नै बिर्सने गरेको टिप्पणी गरे ।
‘अहिले हाम्रो विचार र राजनीतिक प्रवृत्तिमा केही समस्याहरू देखिन थालेका छन् । सत्ता प्राप्त गरेपछि आफ्नो आदर्शबाट विचलित हुने संकेत नेपालमा पनि देखिने गरेका छन्,’ प्रचण्डले भने, ‘सत्तामा गइसकेपछि पद, प्रतिष्ठा, लोभ, लालच, भ्रष्टाचार, विसंगती, विकृति भ्रष्टाचारजन्य गतिविधि देखिने गरेको छ।’
उनले कम्युनिस्ट नेताहरू आदर्शबाट विचलित भएपछि पुँजीपति, सेना र बन्दुकविनै आफूले आफूलाई सिद्ध्याउने खतरा रहेको उनले बताए। आफूले नेपालका कम्युनिस्ट नेताहरू पनि बिग्रिने बाटोमा लागेजस्तो देखेको उल्लेख गर्दै कम्युनिस्ट नेताहरूलाई आदर्श र जनभावनाबाट विचलित नहुन आग्रहसमेत गरे ।