टोलटोलमा अत्यावश्यक वस्तु पु-याउने तयारीमा छौँ – आपूर्तिमन्त्री भट्ट

रमेश लम्साल /अशोक घिमिरे, काठमाडौँ, चैत १२ गते । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ ।

सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरमग्दूर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आपूर्तिको अवस्था र सरकारको तयारीका बारेमा कुराकानी गर्न आज बिहान रासस मन्त्रीनिवास पुल्चोक पुग्दा पनि उहाँ आपूर्ति व्यवस्थालाई थप सहज बनाउन खटिइरहनुभएको थियो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नेपाल–भारत सीमाक्षेत्र रक्सौलमा औषधि तथा औषधिजन्य सामग्री बोकेका १६ ट्रक रोकिएको सूचना कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको रहेछ । उपप्रधानमन्त्री पोखरेलले आपूर्तिमन्त्री भट्टलाई त्यसबारेमा जिज्ञासा राख्दै हुनुहुन्थ्यो ।

उपप्रधानमन्त्री पोखरेलले त्यसबारेमा तत्काल बुझेर जानकारी गराउन मन्त्री भट्टलाई आग्रह गर्नुभयो । संयोजक पोखरेलको आग्रहलगत्तै मन्त्री भट्टले वाणिज्य सचिव डा बैकुण्ठ अर्याललाई औषधि रोकिएको विषयमा तत्काल बुझ्न निर्देशन दिनुभयो । एकैछिनमा सचिव डा अर्यालले बुझेर मन्त्री भट्टलाई भन्नुभयो, “मन्त्रीज्यू, ती औषधि बोकेका ट्रक रक्सौलबाट काठमाडौँ हिँडिसकेका छन् । केहीबेर मात्रै रोकिएका रहेछन् ।”

सचिव डा अर्यालको भनाइलगत्तै मन्त्री भट्टले पुनः उपप्रधानमन्त्री पोखरेललाई फोन गरेर भन्नुभयो, “मन्त्रीज्यू ती ट्रक काठमाडौँ हिँडिसकेका छन् । कुनै समस्या छैन । आजै काठमाडौँ आइपुग्छन् ।” कोरोनाका कारण पर्नसक्ने आपूर्ति प्रणालीको असरलाई कम गर्न सरकारले गरिरहेको प्रयासको यो सानो उदाहरण हो । मन्त्री, सचिव, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय एवं निजी क्षेत्रसँग नियमित फोन संवाद गर्ने, आवश्यक सहयोग गर्ने र सहज तरिकाले अत्यावश्यक मालवस्तुको आयातमा सरकार २४ सै घण्टा परिचालित भइरहेको मन्त्री भट्टले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक उपभोग्य वस्तुदेखि औषधि तथा पेट्रोलिमय पदार्थको आयातका लागि सबै व्यवस्था मिलाइएको छ ।”

उपत्यकामा दुईदर्जन मिनीट्रक तयारी अवस्था

सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु पु¥याउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको छ । काठमाडौँमा १५, ललितपुर र भक्तापुरमा सात÷सात मिनीट्रक तयारी अवस्था छन् । “ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पु¥याइने छ”, मन्त्री भट्टले भन्नुभयो, “जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यहाँ पु¥याउँछौँ ।”

त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । “कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ । अहिले हामी त्यसको तयारीमा छौँ ।”

सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न पु¥याइने उहाँले बताउनुभयो । कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा पु¥याउनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उहाँको भनाइ थियो । “त्यो स्थितिको सामाना गर्न हामी तयार हुनुपर्छ”, मन्त्री भट्टले भन्नुभयो ।

जनताको भान्छामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन भाटभटेनी, बिगमार्ट, सेल्सवेरीलगायत ठूला व्यापारिक प्रतिष्ठानलाई आफ्ना ग्राहकलाई नियमित सामान पु¥याउने व्यवस्था गर्न भनिएको उहाँले बताउनुभयो । “टेलिफोन तथा अनलाइनबाट ग्राहकसँग आफ्नो अर्डर लिने र घरघरमा पु¥याउन पनि सहजीकरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “त्यस्ता कम्पनीको ‘मोबाइल टिम’ तथा ‘भ्यान’लाई लकडाउनको समयमा निर्वाध सञ्चालनमा ल्याउन दिनका लागि विशेष पासको व्यवस्था गर्दैछाँै ।”

सम्बन्धित जिल्ला प्रशासनले पास जारी गरिदिने उहाँको भनाइ छ । “सङ्कटको समयमा जसरी भए पनि सेवा दिने मनस्थिति बनाएर बस्न उनीहरुलाई आग्रह गरिएको छ”, उहाँले भन्नुभयो । काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोटलगायत जिल्लाबाट उपत्यकाका लागि तरकारी तथा दूध बोकेर आउने सवारी साधनलाई निर्वाध प्रवेशको व्यवस्था मिलाइएको छ ।

विपद्का समयमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिन सरकार प्रत्येक क्षण सचेत अवस्थामा रहेको भन्दै उहाँले ढुवानीका साधन नियमित सञ्चालन होउन् भनेर ट्रक व्यवसायी महासङ्घसँग छलफल गरेको बताउनुभयो । “मैले ट्रक व्यवसायी महासङ्घको अध्यक्ष र महासचिवलाई मन्त्रालयमा बोलाएरै छलफल गरेको छु”, उहाँले भन्नुभयो, “कुनै पनि हालतमा ढुवानीका साधन रोकिनु हुँदैन भनेर भनेको छु ।”

चालकलाई अप्ठ्यारो अवस्थामा काम गर्न प्रोत्साहित गर्न तथा विशेष भत्ताको व्यवस्था गर्न महासङ्घलाई आग्रह गरेको उहाँले बताउनुभयो । “चालकलाई जो भत्ता दिँदै आउनुभएको छ, त्यसमा थप गरेर दिनुस् भनेको छु”, मन्त्री भट्टले भन्नुभयो, “ढुवानीको लागत पनि काम नगर्नुस्, अहिलेको बेलामा तपाईंहरुले योगदान गर्नुपर्छ भनिएको छ ।” ढुवानी व्यवसायीले पनि अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिने प्रतिबद्धता जनाइसकेको उहाँले जानकारी दिनुभयो ।

मङ्गलबार रातिदेखि लागू हुने गरी भारतले २१ दिने ‘लकडाउन’को घोषणा गरेसँगै ग्यासको अभाव हुन नदिन सरकारले विशेष पहल गरिरहेको बताउनुभयो । “यसले चुनौती थपेको छ, ग्यासको बुलेट भारतको मात्रै छ, मङ्गलबार २०÷२२ बुलेट ग्यास आएको छ”, मन्त्री भट्टले भन्नुभयो, “नेपालमा ग्यास लिएर आउने भारतीय चालकले बुलेट चलाउन नमानेको अवस्थामा के गर्ने भन्ने विषयमा सरकार गम्भीर छ । हामीले त्यहाँको सम्बन्धित पक्षसँग कूटनीतिक पहलबाट छलफल गर्ने तयारी गरेका छौँ ।”

आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न नेपाल र भारतका वाणिज्य सचिवबीच नियमित कुराकानी हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अहिलेसम्म भारतबाट आयात हुने कुनै पनि वस्तुमा अवरोध नभएको उहाँको भनाइ छ ।

तीन जिल्लामा खाद्यान्न पठाइयो

अहिले हामीसँग छ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ । उपत्यका बाहिर खाद्यान्न उपलब्धताको स्थिति के हो भनेर अध्ययन थालिएको मन्त्री भट्टले बताउनुभयो । “ती जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत के कति खाद्यान्नको आवश्यकता हुने हो, अभाव के छ त्यसका बारेमा ‘रिपोर्ट’ पेश गर्न भनेका छौँ, वाणिज्य कार्यालय भएको क्षेत्रमा कार्यालयलाई सक्रिय पारेका छौँ । अनुगमन पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

मङ्गलबार साँझसम्म प्राप्त रिपोर्टअनुसार जाजरकोट, पश्चिमरुकुम र मुगुमा केही खाद्यन्न अभाव छ भन्ने पाइएको छ । त्यस्तो रिपोर्ट आउने बित्तिकै तुरुन्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खाद्यन्न आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्री भट्टले जानकारी दिनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार मेट्रिक टन चामल मौज्दात छ । त्यस्तै २० हजार मेट्रिक टन धान सञ्चित छ । साल्ट्र ट्रेडिङसँग नुन करिब १० महिनालाई पुग्ने मौज्दात छ । त्यस्तै दशैँ तिहारसम्म चिनीको कुनै अभाव नहुने देखिएको छ । साल्ट ट्रेडिङसँग दुई÷तीन महिनाका लागि पुग्ने चिनी मौज्दात रहेको छ । “हामीसँग चिनीको कुनै अभाव छैन, भर्खरै उखु क्रसिङ भएको छ”, उहाँले भन्नुभयो, “उद्योगीसँग पुरानो चिनी पनि मौज्दात रहेको छ । नयाँ चिनी उत्पादन गर्ने काम पनि भइरहेको छ ।” सात दिनलाई पुग्ने पेट्रोलियम पदार्थको मौज्दात रहेको उहाँको भनाइ छ । लकडाउनको समयमा अत्यावश्यकबाहेक अन्य सवारी सधान नचल्दा इन्धनको खपत न्यून छ ।

ग्यासको अभाव हुन नदिन नयाँ ढङ्गले योजना बनाइएको उहाँको भनाइ थियो । केहीगरी ग्यास आउन सकेन भने कसरी आपूर्ति गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले बताउनुभयो । अत्याश्वक क्षेत्रमा ग्यासको अभाव हुन नदिन एक लाख सिलिण्डर ग्यास भरेर तयारी अवस्थामा राख्न र बाँकी एक लाख सिलिण्डर तत्कालै ग्यास भर्न मिल्ने गरी तयारी हालतमा बस्न पनि उद्योगीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

उहाँले आपूर्तिमा कुनै समस्या आउन नदिने दृढतासमेत व्यक्त गर्नुभयो । “हामीलाई जनता र सञ्चारमाध्यमको सहयोग चाहिन्छ”, उहाँले भन्नुभयो, “अभाव भएका स्थानबारे सही जानकारी दिनुपर्छ हाम्रो टोली त्यहाँ पुगिहाल्छ ।”

दैनिक ज्यालादारी मजदूरको जीवनयापनमा समस्या आउन सक्नेतर्फ सरकारकाले गम्भीतापूर्वक ध्यान दिएको उहाँले बताउनुभयो । दैनिक ज्यालादारीले काम नभई तलब पाउँदैनन्, नेपाल सरकारका निकायमा पनि सयौँको सङ्ख्यामा दैनिक ज्यालादारीका कर्मचारी छन् । त्यस्तै निजी क्षेत्रमा पनि त्यस्ता मजदुर छन् । ज्यालादारी मजदुरको हातमुख जोर्ने विषयलाई कसरी समाधान गर्ने भन्नेतर्फ लागेका छौँ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter