नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो; उपत्यकामा पर्याप्त क्वारेन्टाइन निर्माण

काठमाडौँ, चैत २० गते। नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या ६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसो भएको परीक्षणमा एकजनामा यसको संक्रमण देखिएको हो ।

४ चैतमा कतारबाट आएको क्युआर ६५२ नम्बरको विमानमा आएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

यसबारे थप विवरण आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यस अघि ५ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे थियाे । एक जना उपचारपछि ठिक भइसकेका छन् ।

उपत्यकामा पर्याप्त क्वारेन्टाइन निर्माण

कोरोना भाइरस (कोभिड–१९)ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडाँैँ उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति एक क्वारेन्टाइन बेड’ पुग्ने गरी निर्माण भएका छन् । काठमाडाँै, भक्तपुर र ललितपुरका १८ वटा नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि एक व्यक्ति एक बेडको अवधारणा अनुसार क्वारेन्टाइन निर्माण गरेका हुन् । उपत्यकास्थित १८ वटा नगरपालिकाभित्र गत तीन सातामा एक हजार २० जना विदेशबाट फर्किएका छन् भने एक हजार १९१ क्वारेन्टाइन बेड निर्माण भएका छन् ।

ती नगरपालिकाले आआफ्नो नगरपालिकाभित्र भएका अस्पतालसँग आपसी समन्वय गरी २८६ बेडको आइसोलेसन वार्ड निर्माण गरेका छन् । यहाँका सबै स्थानीय तहले विदेशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने हो भने कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना नदेखिने जानकारहरूको भनाइ छ । उक्त नगरपालिकाले सामुदायिक विद्यालय, कलेज, सामुदायिक भवन, स्वास्थ्यचौकी र क्लबका भवनमा कोरोना भाइरसका लक्षण देखिएका सङ्क्रमित व्यक्ति राख्नका लागि अग्रिम रूपमा क्वारेन्टाइन निर्माण गरेका हुन् । केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरी आआफ्नो क्षेत्रभित्र सम्भव भएका ठाउँमा कोरोना भाइरसका लक्षण देखिएका व्यक्ति राख्नका लागि क्वारेन्टाइन बनाउन निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार स्थानीय तहका जनप्रतिनिधिको अगुवाइमा क्वारेन्टाइन निर्माण गरिएको उपत्यका मेयर फोरमले जनाएको छ । कतिपय ठाउँमा नगरपालिकाले आफ्नै स्रोतबाट क्वारेन्टाइन बनाएका छन् भने केहीले नेपाली सेना र प्रहरीको समेत संयुक्त लगानीमा क्वारेन्टाइन निर्माण गरेको फोरमले जनाएको छ ।

फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले क्वारेन्टाइनमा कोरोना भाइरसका लक्षण देखिएका शङ्कास्पद बिरामी र विदेशबाट आएका नागरिकलाई नियमित रूपमा मेडिकल टिमको निगरानीमा राख्ने गरिएको बताउनुभयो । त्यस्ता व्यक्तिलाई त्यहीँ बस्ने, खाने र सुत्ने व्यवस्था मिलाइएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरस भएकै भए पनि परिवारका सदस्य, समुदाय र आफन्त लगायत अन्य व्यक्तिमा नसरोस् भन्नका लागि सुरक्षित गर्न क्वारेन्टाइन निर्माण गरिएको उहाँले स्पष्ट गर्नुभयो ।

क्वारेन्टाइन नबनेका नगरपालिकामा कोरोना भाइरसको लक्षण देखिएका बिरामीलाई घरैमा ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह गरिएको ती नगरपालिका जनाएका छन् । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकामा नौ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमण हुन नदिन नगर क्षेत्रमा स्प्रे छर्ने, जनचेतना जागृत गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र सर्वसाधारणलाई साबुनपानीले हात धुने अभियान चलाइएको उहाँले बताउनुभयो ।

वडा नं. १ मा सहरी विकास विभागद्वारा गरिब निमुखा नागरिक बस्नका लागि बनाइएको भवनमा ३० बेडको क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको नागार्जुन नगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिका भने विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलनको क्रममा छ । ललितपुर महानगरमा अहिलेसम्म ४९ जना विदेशबाट फर्केको जनाइएको छ । महानगरभित्र विभिन्न सेवाका थुप्रै ठूला अस्पताल भएकाले आइसोलेसनको आवश्यकता नभएको महानगरपालिकाले जनाएको छ ।

सबैभन्दा धेरै कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा ५० बेडका दरले १० वटा वडामा गरी पाँच सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ भने सय बेडको आइसोलेसन वार्ड निर्माण गरेको छ । त्यहाँ ५५ जना विदेशबाट फर्किएका छन् ।

जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौँका ११ वटै नगरपालिकाले आआफ्नो हैसियत अनुसार क्वारेन्टाइन निर्माण गरेकाले विदेशबाट फर्किएका नागरिक अनिवार्य रूपमा दुई हप्तासम्म उक्त क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो । लकडाउनलाई पालना गरी घरैमा बस्दा कोरोना भाइरसको सङ्क्रमण नहुने भएकाले लक डाउनलाई पूर्णरूपमा कार्यान्वयन गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter