लकडाउन’ लम्बिएसँगै घर फर्किए मेलम्ची खानेपानी आयोजनाका कामदार

सञ्चिता घिमिरे / काठमाडौँ, चैत २१ गते । सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरे पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार भने धमाधम घर फर्किएका छन् । सरकारले ‘लकडाउन’ लम्बाउँदा राष्ट्रिय गौरबको सो आयोजनामा कार्यरत कामदारमध्ये अधिकांश नेपाली घर फर्कएका हुन् ।

पहिलो पटक ‘लकडाउन’ घोषणा हुँदा सिन्धुपाल्चोककै कामदारले काम छाडे पनि अरु जिल्लाबाट आएका कामदार काम गरिरहेका थिए । अहिले ती कामदार ‘लकडाउन’ लम्बिएको भनी जिल्ला प्रशासन कार्यालयबाट पास मगाएर घर फर्किएका छन् । घर जान चाहेकालाई आयोजनाले पनि आवश्यक समन्वय गरेको आयोजनामा कार्यरत वरिष्ठ डिभिजनल इञ्जिनीयर कमलराज श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो साता एक हप्ताभित्रै बसेर काम गरौँ भन्ने भए पनि अवधि थपिएपछि उहाँहरु आ–आफ्नो घर फर्कनुभयो ।”

निर्माणस्थलमा रहेका सामग्री खास गरेर सिमेन्ट त्यसै छाडिदिँदा खेर जाने भएकाले पनि पहिलो साता काम गरिएको थियो । निर्माण कम्पनी सिनो हाइड्रोले यहाँ रहेका सबै चिनियाँ र उपलब्ध नेपाली कामदारलाई काममा लगाएको थियो । दुई तीन दिन पहिलेसम्म पनि आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माणको काम भएको थियो ।

अहिले चिनियाँ दक्ष कामदार झन्डै ४० देखि ५० जनासम्म निर्माणस्थलमा रहेका छन् । उनीहरुले केही दिन पहिलेसम्म त्यति नै सङ्ख्यामा नेपाली कार्यरत थिए । अघिल्लो सातासम्म यहाँ छड बाँध्नेलगायतका काम भइरहेको थियो । अहिले बाँकी चिनियाँ दक्ष कामदार तत्काल फर्कने नदेखिएकाले उनीहरु सक्ने काम गरिरहेका छन् । खासगरी वर्षात् अघि नै नदीमा बाँध बाँध्ने काम भइरहेकाको आयोजनाले जनाएको छ ।

गत सातासम्म निर्माणको काम हुँदा स्थानीयवासीले त्यसको विरोध गरेको पनि वरिष्ठ डिभिजनल इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । त्यहाँका जनप्रतिनिधिले पनि बाहिरबाट मानिस आउने जाने हुँदा कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भन्दै तत्काल रोक्न भनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाले नै तत्काल आवातजावत नरोके समातेर क्वारेन्टाइन राख्ने भनेको थियो ।”

नयाँ निर्माण कम्पनीले नियमित रुपमा गर्दै आएको कामको गतिका आधारमा आगामी असारसम्ममा उपत्यकामा मेलम्चीको पानी आइपुग्ने आयोजनाले बताउँदै आएको थियो । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले केही महिना पहिले श्वेतपत्र जारी गर्दै असारसम्ममा पानी आइपुग्ने प्रतिबद्धता जनाउनुभएको थियो । तत्काल काम पहिलेकै गतिमा गर्न सकेमा लक्ष्यमा काम सकिने उहाँले बताउनुभयो । स्थानीयस्तरबाट हुने विरोध, कामदार उपलब्ध र निर्माण सामग्रीको आपूर्तिमा भने सरकारको समन्वय र सहयोग आवश्यक छ । उहाँले भन्नुभयो, “केही महिनाको मात्रै काम बाँकी भएको आयोजना भएकाले विशेष महत्व दिएर काम गर्ने वातावतरण बन्न सक्छ ।”

आयोजना यसअघि कार्यरत इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । आयोजनास्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झन्डै झन्डै २०० कार्यरत थिए । सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग गत वर्ष सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ० दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ ।

अहिलेसम्म पनि धेरै बाधा नपुगेकाले अझैसम्म नियमित काम हुँदा योजनानुसार वर्षाअघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । आयोजनाका कामलाई हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्रको निर्माण गरी तीन भागमा विभाजन गरिएको छ । जसमध्ये सुन्दरीजलमा दुवै प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेर परीक्षण भइरहेको छ । उहाँले भन्नुभयो, “कम्पनीले काम नियमित गर्न सके सुरुङमार्ग र हेडबक्सको पनि बाँकी काम सक्नेछ ।”

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले यो आयोजनामा सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter