पोखराका ५६ उद्योग बन्दः कामदारको सुरक्षा मुख्य समस्या

पोखरा, वैशाख ६ गते । बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ । सञ्चालित उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन् ।

पोखरा महानगरपालिका वडा नं १० स्थित पोखरा औद्योगिक क्षेत्रमा ७७ उद्योग छन् । हालको अवस्थामा भने २१ उद्योग सञ्चालित छन् । तीमध्ये १४ उद्योग अनुमति लिएर पुनःसञ्चालन भएका हुन् । अन्य सात उद्योग भने कामदार त्यहीँभित्र बस्ने भएकाले भित्रभित्र काम गरिरहेका छन् । अनुमति नलिई सञ्चालित उद्योगमा फलामजन्य र ब्लक उद्योग छन् ।

औद्योगिक क्षेत्रभित्र सञ्चालित ताजा फुड्स प्रालिका सञ्चालक विनोद शर्मा न्यौपानेले सामान उत्पादन र वितरणसम्मको स्पष्ट निर्देशिका सम्बन्धित निकायले नबनाउँदा उद्योग बन्द गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित भएर उद्योग सञ्चालन गर्नू मात्र भनिएको छ, उद्योगमा कामदारदेखि उत्पादनलाई बजार हुँदै उपभोक्तासम्म पु¥याउने सुरक्षित उपायका बारेमा केही भनिएको छैन, यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्नू रु” उहाँले निकै अन्योल रहेकाले हाल उद्योग बन्द गर्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार कतिपय बेकरी उद्योगले उत्पादन गरेको सामान बजारमा लैजाँदा समेत बाटामा स्थानीयवासीले बाँसलगायत सामानले अवरोध सिर्जना गर्ने गरेकाले पनि अहिले सञ्चालन भएका बेकरी उद्योग बन्द भएका छन् । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले अहिले पानी, बिस्कुट, मसला, अक्सिजन र दुग्ध उद्योग सञ्चालनमा रहेको र चाउचाउ उद्योग केही दिनपछि आउने जानकारी दिनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कामदारको सुरक्षा अपनाउन नसक्दा उद्योग सञ्चालमा कठिनाइ भएको बताउनुभयो । “उद्योगमा कार्यरत मजदूरको स्वास्थ्य सतर्कताका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध छैन, कामदार आफू असुरक्षित महसुस गरेर काम गर्न सक्दैनन् ”, उहाँले भन्नुभयो । थर्मल गन, पिपिइलगायत आवश्यक स्वास्थ्य सामग्री खोजे पनि नपाइएको उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रको ढोकामा एउटा ‘हेल्थ डेस्क’ आवश्यक रहेको सम्बन्धित निकायमा जानकारी गराइए पनि व्यवस्था नभएको उहाँको गुनासो छ । हाल सञ्चालन भइरहेका उद्योग निकै कठिन अवस्थामा रहेको र जम्मा २५ प्रतिशत मात्र उत्पादन भएको उहाँले बताउनुभयो ।

त्यसैगरी हाल बन्द रारा, रम्बालगायत चाउचाउ उत्पादन गर्दै आएको हिमश्री फुड्सले यही वैशाख ७ गतेदेखि पुनःसञ्चालन गर्ने सोच बनाएको प्रालिका जनरल म्यानेजर अमित थापाले जानकारी दिनुभयो । उहाँले पहिल्यै उत्पादित चाउचाउले अहिलेसम्म बजार व्यवस्थापन गरेकाले अब सञ्चालनको तयारी गरिएको बताउनुभयो । “सीमित कामदारबाट स्टक राखिएको सामग्रीबाट अहिले उत्पादन गर्ने तयारी भएको छ, हेरौंँ कहिलेसम्म चलाउन सक्छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार हाल मौज्दात रहेको कच्चा पदार्थबाट १५ दिनका लागि मात्र उत्पादन गर्न सकिन्छ । औद्योगिक क्षेत्रभित्र रहेको अर्को पोखरा नुडल्स पनि हाल बन्द छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter