अनलाइन शिक्षा : प्रविधिमा पहुँच जरुरी

काठमाडौँ, वैशाख १६ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका बेलासमेत प्रविधिको माध्यमबाट शैक्षिक संस्थामा पठनपाठन सञ्चालन गर्ने नीति राज्यले लिए पनि यसको पहुँचमा वृद्धि गर्नुपर्ने देखिएको छ । विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुनेछ ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमध्ये १३ प्रतिशत विद्यालयमा मात्रै अनलाइन सञ्चालन गर्न सक्ने पहुँच छ । अनलाइनबाट नतिजा प्रकाशित, कक्षा सञ्चालन तथा पूर्वाधार भएका विद्यालयलाई अनलाइन सञ्चालन गर्न सक्ने विद्यालयभित्र राखिएको छ ।

हाल २८ हजारको हाराहारीमा सामुदायिक विद्यालय छन् । यस हिसाबले हेर्दा तीन हजार छ सय जति सामुदायिक विद्यालयमा मात्र इन्टरनेट प्रयोग हुने गरेको देखिन्छ ।

केन्द्रका सूचना अधिकृत माधवप्रसाद दाहालले देशभरका ३५ प्रतिशत सामुदायिक विद्यालयमा प्रविधि जोडिए पनि १३ प्रतिशत विद्यालयमा मात्र यसको सञ्चालन हुन सकेको बताउनुभयो । कतिपय विद्यालयमा कम्प्युटर तथा इन्टरनेट जडान गरिएको भए पनि सञ्चालनमा आउन सकेको छैन । विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउन यस वर्ष ६० प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गर्ने सरकारी योजना थियो ।

रेडियोबाट अध्यापन सुरु

देशभरका विद्यालयमा इन्टनरेट सुविधा नपुग्दा सरकारले विद्यालय तहको पठनपाठनमा स्थानीय एफएम रेडियोलगायतका वैकल्पिक माध्यमलाई समेत अगाडि बढाएको छ । यसका लागि केन्द्रले उत्पादन गरेका विद्यालय तहका भर्चुअल सामग्री प्र्रदेश सरकारलाई उपलब्ध गराएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा आफूहरूले ती सामग्री उपलब्ध गराएको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ । अब प्रदेश सरकारले प्रदेशमा सञ्चालित टेलिभिजन तथा एफएमको प्रयोग गरी ती सामग्रीको प्रसारण गर्ने सूचना अधिकृत दाहालले जानकारी गराउनुभयो । प्रदेश १ सरकारले वैशाख १५ बाट ती सामग्रीको प्रसारण सुरु गरेको छ । अन्य प्रदेशले पनि ती सामग्री प्रसारण गर्ने जनाएको छ । केन्द्रले कक्षा १० सम्मकै पाठ्यक्रममा आधारित भर्चुअल सामग्री उत्पादन गरिसकेको छ । प्रदेशका सरकारले हाललाई कक्षा ९ र १० का भर्चुअल सामग्रीको प्रसारणलाई प्राथमिकता दिने जनाएको छ ।

लगानी बढाउन आवश्यक

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका महासचिव गुणराज मोक्तानले शिक्षालाई अगाडि बढाउन प्रविधिमा लगानी बढाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो । त्यसो हुन सके मात्र कमजोर तथा गरिब वर्गका विद्यार्थीलाई प्रविधिसित जोड्न सकिने उहाँको भनाइ छ । सरकारले खर्च हुन नसकेको विकास बजेट प्राथमिकता अनुसार शिक्षामा लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।

सक्षम बन्ने र बनाउने चुनौती

प्रविधिबाट पढाउने सक्ने हिसाबले शिक्षकको उत्पादन तथा क्षमता विस्तार गरिएको छैन । प्रविधिमैत्री शिक्षक समाजका महासचिव हरिहर दाहालका अनुसार कति शिक्षकले प्रविधिको माध्यमबाट कक्षा लिन सक्छन् भन्ने जानकारी छैन । समाजमा आबद्ध रहनुभएका झन्डै ४० जना शिक्षकले हाल प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई पढाउन थालेको जानकारी महासचिव दाहालले दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter