नेपालमा कोरोनाको आशंकामा ५८ हजार ८ सय ७१ काे परीक्षण
काठमाडौं, वैशाख १८ गते । नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
ती मध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा कोरोना भाइरसका नयाँ संक्रमित विरामी नभेटिएको जनाएको छ । डा. देवकोटाले कोरोनाको आशंकामा गएको २४ घन्टामा १ हजार ६८२ जनाको नमुना परीक्षण गरिएको बताउनुभयो ।
उहाँले ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटीबाट परीक्षण भएको बताउनुभयो । देवकोटाका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमतीमा ८ हजार ३ सय ६१, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९९, कर्णालीमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडिटीबाट परीक्षण गरिएको छ ।
डा. देवकोटाले काठमाडौं उपत्यकामा ३ र बाहिर ७७ गरी ८० जना शंकास्पद बिरामी आइसोलेसनमा रहेको बताउनुभयो । मन्त्रालयका अनुसार देशभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रदेश १ मा २ हजार ५ सय ७६, प्रदेश २ मा १ हजार ४ सय, बागमतीमा ५ सय ५१, गण्डकीमा ५ सय ९३, प्रदेश ५ मा १२ हजार ७ सय ५२, कर्णालीमा ३ हजार ९ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालमा अझै तीन महिनालाई पुग्ने खोप मौज्दात रहेको जानकारी दिनुभयो । उहाँले खोप सामाग्री ढुवानी पनि नियमित रुपमा भइरहेको बताउनुभयो । खोप सञ्चालनमा केन्द्रित जनशक्ति पनि आफ्ना स्वास्थ्य सस्थामा काम गरिरहेको जानकारी दिँदै उहाँले खोप कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको बताउनुभयो ।
डा. गौतमले खोप सेवा दिँदा भिडभाड नगरी निश्चित दूरी कायम गर्नुपर्ने, खोप लिन आउनेलाई स्क्रिनिङ गर्नुपर्ने, खोप सेवा दिँदा सर्जिकल मास्कको प्रयोग गर्नुपर्ने विधि अबलम्बन गर्नुपर्ने जानकारी दिनुभयो ।