बन्दाबन्दीमा पनि राेकिएन निर्माणाधीन विमानस्थलहरूकाे काम

सिवी अधिकारी / काठमाडौँ, जेठ ११ जेठ । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदन अनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा मन्त्रालय मातहतको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति उल्लेख्य रहेको हो ।

पर्यटन मन्त्रालयअन्तर्गत पाँचवटा राष्ट्रिय गौरवका आयोजना पर्छन् । यो अवधिमा गौतमबुद्ध विमानस्थको १५ प्रतिशत कार्य प्रगति भएको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति १४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्तसम्ममा ७५ प्रतिशत काम सम्पन्न भएको गौतमबुद्ध विमानस्थलकोे भौतिक प्रगति चालू आर्थिक वर्षको नौ महिनामा १५ प्रतिशत बढेर ९० प्रतिशत पुगेको छ । त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा ४२ प्रतिशत काम पूरा भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चालू आर्थिक वर्षको नौ महिनामा १४ प्रतिशत बढेर ५६ प्रतिशत पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले आयोजनाका प्रमुखसँग गत वैशाख १८ र २२ गते अनलाइन छलफल गरी पछिल्लो प्रतिवेदन तयार पारेको जनाएको छ । आयोगको उक्त प्रतिवेदनका अनुसार, राष्ट्रिय गौरवका अरू आयोजनाहरूमा चालू आर्थिक वर्षको चैतसम्ममा मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९७.५ प्रतिशत सकिए पनि गत असारयता २.३८ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ ।

हुलाकी राजमार्ग भौतिक प्रगति ४८ प्रतिशत र असारयता चार प्रतिशत मात्र छ भने उत्तर दक्षिण लोकमार्गको काम असारयता ०.१ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । असार अघिसम्म २० प्रतिशत काम पूरा भएकामा चालू आवको चैतसम्ममा २०.१ प्रतिशत मात्र काम भएको छ ।

त्यस्तै, भेरी डाइभर्सन काम ४०.६१ प्रतिशत सम्पन्न भए पनि असारयता २.२१ प्रतिशतमात्र काम भएको देखिएको छ । बबई सिँचाइ आयोजना ४७.७८ प्रतिशत काम सम्पन्न भए पनि असारयता १.३८ प्रतिशत बढेको छ ।

बन्दाबन्दीमा विमानस्थलको निर्माण नियमित

बन्दाबन्दीका बेला पनि पर्यटन मन्त्रालयअन्तर्गत पर्ने दुई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम एक दिन पनि रोकिएको छैन । “अवस्था सामान्य भइदिएको भए पर्यटन मन्त्रालय अन्तर्गतका आयोजनाको प्रगति अवस्था निकै राम्रो हुने थियो”, पर्यटनमन्त्री योगेशकुमार भट्टराईले भन्नुभयो, “लकडाउनकै समयमा पनि हामीले भ्याएसम्म साधन स्रोतको प्रयोग गरेर काम गरिरहेका छौँ ।” लकडाउन खुलेर अवस्था सामान्य भएपछि गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडै नै सम्पन्न हुने र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम यही अवस्थाबीच पनि तोकिएकै समयमा सम्पन्न हुने मन्त्री भट्टराईले बताउनुभयो ।

गौतमबुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अहिले पनि २९ चिनियाँसहित १५० जनाले काम गरी रहेको सो विमानस्थल आयोजनामा प्रमुख प्रवेश अधिकारीले बताउनुभयो । सन् २०२० को मार्चसम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी सन् २०१४ नोभेम्बरबाट निर्माण थालिएको यस विमानस्थलको काम विश्व महामारीको रुप लिएको कोभिड–१९ का कारण केही समय पर धकेलिए पनि महामारीकै बीच पनि उपलब्ध साधन स्रोतको उच्चतम प्रयोगका साथ भइरहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

तीन महिनामा सबै काम पूरा हुने

कोभिडको महामारी शुरु हुनुअघि भौतिक प्रगति ८५ प्रतिशत तथा आर्थिक प्रगति ५५ प्रतिशत रहेको यो विमानस्थलको काम अहिलेसम्म भौतिकतर्फ ९० प्रतिशत तथा आर्थिकतर्फ ६३ प्रतिशत प्रगति भइसकेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

मार्चमम्ममा काम सकिने भने पनि जनवरीबाटै चीनबाट आउनुपर्ने सामग्री रोकिएपछि काम प्रभावित भएको हो । अहिले पनि कतिपय सामग्री बिच बाटो (ल्हासा)मा आएर रोकिएका छन् भने कतिपय सामग्री प्याकिङ नै नभएको अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले चिनियाँ पक्षलाई आउनुपर्ने सामग्री चीनको सीमासम्म ल्याउने पहल गरिदिन आग्रह गरिरहेका छौँ । त्यहाँसम्म ल्याउने अवस्था भयो भने यताबाट हाम्रै पहलमा ल्याएर भने पनि कामलाई गति दिने थियौँ ।” सबै निर्माण सामग्री आएको खण्डमा तीन महिनामा निर्माणको सबै काम पूरा हुने उहाँको भनाइ छ ।

अहिलेसम्म विमानस्थलमा तीन किलोमिटर धावनमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ भने ट्याक्सी वे र एप्रोन निर्माणको काम पनि सकिएको छ । कार्गो टर्मिनलभवनको काम पनि करीब ५० प्रतिशत सकिएको छ । कार्गो टर्मिनल भवन आगामी कात्तिक १२ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सेक्युरिटी भवन निर्माणको काम करिब ९० प्रतिशत सकिएको छ ।

त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २५० चिनियाँ र नेपाली १०० गरी ३५० जनाले काम गरिरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताउनुभयो । उहाँले केही सामग्री केरुङ नाका र कलकता बन्दरगाहमा रोकिए पनि स्टक सामग्री भएकाले अहिलेसम्म काममा बाधा नआएको बताउनुभयो । मुनकर्मीले भन्नुभयो, “अझै पनि स्टक सामान एक महिनाका लागि छ, केरुङमा रोकिएका सामान मात्र ल्याउन सकियो भने तीन महिनालाई काम गर्न पुग्छ ।”

आगामी जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि काम प्रगतिका आधारमा लक्ष्यभन्दा छ महिना अगाडि नै योजना सम्पन्न हुने अपेक्षा गरिएको थियो । अहिले पनि बाहिरबाट सामग्री ल्याउन लकडाउनले असर नपारेको अवस्थामा तोकिएकै समयमा काम पूरा हुने पनि आयोजना प्रमुख मुनकर्मीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter