सवारीमा जोर बिजोर, पसल व्यवसाय खुला, कार्यालय दुई शिफ्टमा

काठमाडौँ, जेठ २९ गते । सरकारले निजी सवारी चलाउन जोर बिजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यकाभित्रका सवारी साधनको हकमा उपत्यकाभित्र मात्र चलाउन पाउने निर्णय गरेको छ ।

त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर खुल्ला गर्न पाउने तर सपिङ मलहरू भने खुलाउन नपाउने निर्णय गरेको छ । निजी सवारीमा चालकबाहेक दुई जनाले यात्रा गर्न पाउने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

बैंक, वित्तीय संस्था, सहकारी र विमा सेवा, सरकारी कार्यालय शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने र ती संस्थाका कर्मचारी ओसार्ने सवारी साधनको काम असार १ गतेबाट र अन्य तत्काल लागू हुनेछ । जोर विजोर सवारी सञ्चालनमा सवारी साधनको नम्बर प्लेटमा पछिल्लो दुई अङ्क जोर भएको सवारी साधन जोर गतेको दिनमा र विजोर भएको अङ्क भएको सवारी साधन विजोर दिनमा सञ्चालन हुनेछ ।

शिक्षण संस्थाहरूका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउने, त्यस्तै सरकारी वा अन्य सङ्घसंस्थाका कार्यालय दुई सिफ्टमा चलाइने बताउनुभयो । उहाँका अनुसार विहान ८ देखि १ पहिलाे र १ देखि ६ बजेसम्म दोश्रो सिफ्ट सञ्चालन हुनेछ ।

रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय पनि गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाउने उहाँले जानकारी दिनुभयो ।

सामान्य हिँड्डुल गर्न पाउने र त्यसको लागि अनिवार्य मास्क लगाउनुपर्ने र भिडभाड गर्न नपाउने बताइएको छ । राससका अनुसार सः

आजैबाट सञ्चालन हुने सेवा

मन्त्रिपरिषद्को निर्णयअनुसार केही सेवा आजैबाट लागू हुने गरी सञ्चालन गर्न गर्न पाइने छ । जसअनुसार स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि तथा पशुपक्षी व्यवसाय, उद्योग व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका ढुवानी, भौतिक दुरी कायम गर्दै भिडभाड नहुने गरी पैदल आवागमन, साइकल र मोटरसाइकल (एक जना मात्रै चढ्ने गरी) सञ्चालन गर्न पाइने छ ।

काठमार्डाैँ उपत्यकाको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्ला भित्र मात्र जोर विजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर यसरी सवारी सञ्चालन गर्दा चालक बाहेक दुई जना मात्र राख्नुपर्नेछ । विगतदेखि नै सञ्चालन भएका फोहरमैैला व्यवस्थापन, विद्युत्, दमकल, एम्बुलेन्स, सञ्चार, हुलाकसम्बन्धी विगत कै सेवालाई कायम गरिएको छ ।

यस्तै नर्सरी तथा वनजन्य उद्यम, विकास आयोजना र निर्माण सेवा (निजी क्षेत्रको समेत) नदी तथा खानीजन्य उत्खनन्, सङ्कलन र ढुवानी तथा बिक्री वितरणलाई पनि सहजीकरण गरिएको छ । रेष्टुरेन्टबाट चलाउन नपाइने तर प्याकिङ सेवा लान सकिने व्यवस्था गरिएको छ । क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन पनि सञ्चालन हुने छन् । यसरी सेवा शुरु गर्दा मास्क, सेनिटाइजर व्यवस्था आफैँले गर्नुपर्ने भौतिक दूरी कायम गर्नुपर्ने, पटकपटक सावुन पानीले हात धुनुपर्नेलगायत जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

असार १ गतेदेखि सञ्चालन हुने सेवा

सरकाले आगामी असार १ गतेदेखि लागू हुने गरी केही सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । विभिन्न कार्यालयको सेवा भने दुई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । बैक, वित्तीय संस्था, सहकारी, बीमा सेवा असार १ गतेबाट मात्रै सञ्चालन हुनेछन् ।

यस्तै सरकारी कार्यालय तथा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तयि संस्था (दुई सिफ्टमा) सञ्चालन हुने छन् । सार्वजनिक तथा जोरविजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत असार १ गतेबाट मात्रै सञ्चालन हुन पाउने छन् ।

उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदुर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।

सञ्चालन गर्न नपाइने सेवा

सरकारले मानिसको बढी भिडभाड हुने र सहभागिता बढी हुने क्षेत्रको हकमा भने हालको व्यवस्थालाई नै कायम गरेको छ । त्यस्तो सेवा सञ्चालन गर्न पाइने छैन । जसअनुसार शैक्षिक संस्था, अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेला पनि सञ्चालन गर्न पाइने छैन ।

यस्तै सञ्चालन नहुनेमा सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा व्यूटीपार्लर, स्विमिङ्पुल, सपिङ मल, समूहमा खेलिने खुलकुद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुवाहक सवारी साधान छन् । जोरविजोर प्रणालीअन्तरगत उपत्यकाभित्र सञ्चालन हुने निजी सवारी बाहिर जान नपाउने तथा बाहिरका नीजि सवारी उपत्यका भित्रिन नपाउने व्यवस्था छ ।

निजी सेवा प्रदायक संस्थाका कर्मचारी ओसार्न सार्वजनिक सवारी चलाउन पाउने तर त्यसमा एक लहरमा एक जना मात्र राख्न पाउने, चालकबाहेक दुई जनाले यात्रा गर्न पाउने, यात्रीहरूकाे मास्क अनिवार्य र यातायातका साधन स्यानिटाइज गरेर मात्र चलाउने पाउने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter