अनलाइनबाटै ललितकलाको ‘भर्चुअल’ स्वाद

नारायण ढुङ्गाना / काठमाडौँ जेठ १३ गते । कोभिड–१९ का कारण मुलुक बन्दाबन्दीमा हुँदा यसपटक सिर्जनाको स्वाद लिन कला पारखीहरू आर्ट ग्यालरी घुम्ने अवस्था छैन । कला प्रदर्शनी नहुँदा ललितकलाको स्वाद लिने अवसर पनि जुरेको छैन तर उनीहरूका लागि घरमै बसेर सिर्जनाको स्वाद लिने अवसर भने प्राप्त छ । ‘भर्चुअल साउण्ड’ त्यसको नयाँ विकल्प बनेर आएको छ जुन अनलाइनमार्फत घरमै बसेर प्रत्यक्ष हेर्न सकिने छ ।

महामारीको रूपमा फैलिएको कोभिड–१९ ले समग्र विश्वलाई प्रभावित बनाएकाले अन्य विधाजस्तै ललितकला सिर्जनालाई घरमै सीमित गरिदिएको वर्तमान समयमा भोकाएका पारखीले अनलाइनमार्फत कलाको रसस्वादन गर्न पाएका छन् । कला सर्जक एनबी गुरुङको एकल प्रयासमा यो सम्भव भएको हो ।

अघिपछि कुनै आर्ट ग्यालरी दौडिएर कलाकृतिको रसमा डुबुल्की मार्ने कलाकारलाई त्यही तहको स्वाद त नहोला तर घरमै बसेर कलाको दृश्यपान भने गर्न सकिनेछ । अनलाइन कला प्रदर्शनी ‘भर्चुअल साउण्ड’ नेपाली कला क्षेत्रका लागि एउटा नयाँ फड्को हो । यो प्रयास नेपाली ललितकलामा नौलो प्रस्तुति हो भन्नुहुन्छ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य ।

बन्दाबन्दीले घरभित्रै सीमित रहेको सिर्जनाले स्थान नपाएको वर्तमान अवस्थामा अनलाइन कला प्रदर्शनीलाई कलाको सुगन्ध फैलाउने नौलो प्रयोगको रूपमा नेपाली कलाकारले हेरेका छन् । भर्चुअल साउण्डका योजनाकार अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ घरमा सीमित रहेको नेपाली ललितकलालाई अनलाइनको माध्यमबाट विश्वसामु पुर्याउने प्रयास गरिएको बताउनुहुन्छ । “लकडाउनमा थलिएको र विषम परिस्थितिबाट गुज्रिएको ललितकलालाई अनलाइनको माध्यमबाट थोरै मलम लगाउने प्रयास हो, कलाकारको सहभागिताले थप हौसला मिलेको छ”, गुरुङले भन्नुभयो ।

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन मुलुकलाई लकडाउन गरिएको दुई महिना भइसकेको छ । यसले कुची र रङमा रमाउने कलाकारलाई सिर्जना कोर्ने समय त पर्याप्त भयो तर त्यसले बजार पाउन सकेको छैन । त्यसैले भौगोलिक रूपमा प्रदर्शनी सम्भव नभएकाले अनलाइन प्रदर्शनी नयाँ प्रयास बन्न पुगेको छ । यसले बजार खोज्न पनि सहयोग मिल्ने विश्वास गरिएको छ ।

कलाकारले बनाएका सिर्जनाको महत्व भर्चुअल प्रदर्शनीमा देख्न सकिन्छ । कला सिर्जनाको महत्व झल्काउँदै नेपाली सिर्जनालाई विश्वव्यापी बनाउने प्रयास थ्रिडी श्रव्यदृश्यसहित अनलाइन कला प्रदर्शनी गरिएको हो । यसले ललितकलाको प्रवर्द्धन र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याउने आशा कलाकारको छ ।

कलाकार तथा कला पत्रकार केशवराज खनाल बाहिरी संसारबाट खुम्चिएको नेपाली कलालाई ‘भर्चुअल’ प्रदर्शनीको माध्यमबाट आमकला पारखी र दर्शकले अवलोकन गर्न पाएकामा खुलेर प्रशंसा गर्नुहुन्छ । उहाँ थप्नुहुन्छ, “प्रत्यक्ष कलाको अवलोकनको मज्जा त पूर्णरूपमा नआउला तर यसले थोरै भए पनि कलाको तिर्खा मेटाउनेछ, आउनुहोस् केही समय कलामा रमाउनुहोस् ।”

समसामयिक विषयवस्तुका सिर्जना भर्चुअल साउण्डमा राखिएको छ । कलाकारका चित्रमा उनीहरूको कल्पना मात्र छैन, अहिलेको वास्तविकता पनि झल्किएको छ । लकडाउनका बेला कलाकारले क्यानभासमा फरक–फरक शैलीमा रङ खेलाउँदै अनौठा आकार दिइरहेका सिर्जनाले पनि स्थान पाएको छ । केही अमूर्त शैली, कुनै समसामयिक, अर्धअर्मूत, फिगरेटिभ आर्ट तथा दृश्यचित्रहरू यसमा समेटिएको छ ।

पहिलो प्रयासमा ६२ कलाकार सहभागी भएका छन् । यही जेठ १० बाट शुरु भएको अनलाइन कला प्रदर्शनीमा ३१ कलाकारको चित्र समेटिएको पहिलो भाग प्रदर्शन गरिएको छ । बाँकी कलाकारका सिर्जना आज र भोलि प्रदर्शन गरिने कलाकार गुरुङले बताउनुभयो । त्यसपछि संयुक्तरूपमा पूर्ण भाग प्रदर्शनी गरिने जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter