हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित

इलाम, असार ४ गते । ‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्योगले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान सङ्घर्षका लागि एकजुट हुन बाध्य भएका हुन् ।

किसानले उत्पादन गरेको हरियोपत्तीको मूल्य सधैँ उद्योगीले निर्धारण गरिदिने भएकाले आफूहरू मारमा परेको किसान बताउँछन् । उद्योगमा हरियोपत्ती बेच्न नपाए आफूहरूको वर्षभरको आम्दानी गुम्ने भएकाले किसान पनि उद्योगीले तोकेकै मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य छन् । तर, यो वर्ष चाहिँ सूर्याेदय नगरपालिकाले दुई वर्षअघि तोकेको हरियोपत्तीको न्यूनतम् समर्थन मूल्यसमेत उद्योगीले उल्लङ्घन गरेपछि किसान सङ्गठित भएरै सङ्घर्ष गर्ने निर्णयमा पुगेका हुन् ।

किसानले नगरको वडा ८, १० र ११ मा ‘हरियो चिया उत्पादक कृषक सरोकार समिति’ गठन गरिसकेका छन् । चिया उत्पादन हुने नगरका सबै वडा र नगरस्तरको समेत समिति गठन गर्ने तयारी छ । समितिको वडा १० का अध्यक्ष बालकुमार भण्डारीले केही दिनभित्र नगरस्तरीय समितिसमेत गठन हुने बताउनुभयो । उहाँले सधैँ किसान हेपिने भएकाले अब सङ्गठितरूपमा आवाज उठाउन आवश्यक भएकाले नगरपालिकाभर सङ्घर्षकै लागि समिति गठन भइरहेको जनाउनुभयो ।

उद्योगले नगरले तोकेको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन नगरेको भन्दै नगरका किसानले मङ्गलबार नगरपालिकामा छबुँदे ज्ञापनपत्रसमेत बुझाएका छन् । किसानले नगरले लागू गरेको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५ पूर्णरूपमा कार्यान्वयन गर्न, पहिलो चरणमा टिपेर उद्योगमा पु¥याएको हरियोपत्तीको मूल्य दिलाइदिने पहल गर्न, लकडाउनका कारण पीडित बनेका किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

न्यूनतम् समर्थन मूल्यले हरियोपत्तीको बजार नियन्त्रण गरेकाले आन्तरिक र भारतीय बजारसमेत खुला गर्न तथा चियाको उत्पादन, मूल्यबारे बारम्बार आइरहने समस्याको दीर्घकालीन समाधान गर्न पनि किसानको माग छ । नगरको कार्यविधिले हरियोपत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो रु ४० तोकेको छ तर, यहाँका उद्योगले किसानलाई प्रतिकिलो रु २० देखि ३० मात्र दिनेगरेका छन् । सूर्याेदय टी प्रोड्युसर्स एशोसिएशनमा आबद्ध ६२ उद्योगमध्ये धेरैले किसानको चियाको मूल्य भुक्तान गर्न बाँकी छ । केही उद्योगले प्रतिकिलो रु २० देखि ३० प्रतिकिलोको मूल्य नै सार्वजनिक गरेका छन् । कतिपय उद्योगले रु २० देखि ३० कै मूल्य भुक्तान गरिरहेका छन् । हरियोपत्तीको दाम भुक्तान गर्न बाँकी केही उद्योगले चाहिँ ‘समस्या समाधान भएपछिमात्रै भुक्तान गर्ने’ भन्दै भुक्तानी रोकेका छन् ।

नगरपालिकाका प्रमुख रणबहादुर राईले चिया किसानलाई आफ्नो उत्पादन बेच्नैपर्ने बाध्यता भएकाले पनि कम मूल्यमा बेच्नुपरेका बेला नगरले कार्यविधि ल्याएको बताउनुभयो । “नगरपालिकाले चिया तथा कफी विकास बोर्ड, उद्योगी, किसानलगायतकै सहभागिता र सल्लाहमा चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो”, उहाँले भन्नुभयो, “त्यही कार्यविधि अहिले चिया किसान र उद्योगी दुवैको निम्ति उपयोगी छ ।” उद्योगीले भने राज्यले कच्चा पदार्थको समर्थन मूल्य तोक्दा तयारी वस्तुको पनि बिक्री समर्थन मूल्य तोक्नुपर्ने माग गरेका छन् । तोकिएको समर्थन बिक्री मूल्यमा बिक्री नभए राज्यले नै खरिद गरी दुवै पक्षलाई न्याय दिलाउनुपर्ने उनीहरूको माग छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter