• Wednesday, April 02, 2025

तीनकुनेमा बुद्धपार्क निर्माणलाई पुनः गति दिँदै काठमाडौँ महानगर

यलु जोशी / काठमाडौँ, असार १६ गते । तीनकुनेको वडा नं ३२ मा अवस्थित खाली जग्गामा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथाकार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउने जनाइएको छ ।

‘तत्कालिन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको छ । यसपटक सबै विवादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ हामी अघि बढेका छौँ ।’

प्रमुख शाक्यले तीनकुनेको मुआब्जा विवाद सुल्झाउन काठमाडौँ महानगरपपालिकाले प्रारम्भिक अधिकारी नै तोकेको र प्रतिवेदनसमेत सम्बन्धित निकायमा पठाइसकेको जानकारी दिनुभयो । ‘हामीले जतिसक्दो छिटो तीनकुनेको विवाद अन्त्य गर्ने र पार्क निर्माणको कामलाई अघि बढाउछौँ । उहाँले थप्नुभयो, ‘प्रारम्भिक अधिकारीले सम्बन्धित निकायलाई प्रतिवेदन बुझाईसक्नुभएको छ । साथै, काठमाडौँ महानगरपालिकाले तोकेको प्रारम्भिक अधिकारीले सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहनुभएको छ ।’

डिजाइन तयारी अवस्थामा रहेको प्रष्ट पार्दे प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत नेपाल सरकार, प्रदेश सरकार तथाअन्य सरोकारवाला सङ्घसंस्था एवं व्यक्तिहरूको सहयोग र समन्वयमा तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण कार्य सुरु गर्ने कुरा उल्लेख गर्नुभयो । ‘चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला पनि हामीले तीनकुनेमा हरियाली सहितको आइल्याण्ड निर्माण गरेका थियौँ,’ प्रमुखशाक्यले भन्नुभयो, ‘सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रर्वद्धन गर्ने, सहरको सौन्दर्य बढाउन पार्क निर्माण गर्नेलगायत महानगरपालिकाको नीति नै हो । हामीले यसैअनुरुप तीनकुनेमा बुद्धपार्क निर्माण गर्न चाहेका हौँ ।’

केही जग्गाधनीले चलनचल्तीको मुल्यअनुसार मुआब्जा पाउनुपर्ने लगायतका माग गरेपछि विवाद अहिलेसम्म टुङ्गोमा पुग्नसकेको छैन । धेरै जग्गाधनीले पहिले नै मुआब्जा पाइसकेका छन् । ‘हामीले करिब ५० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको तीनकुनेमा बुद्धपार्क निर्माणका लागि डिजाइन तयार पारिसकेका छौँ,’ काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठ शाक्यले भन्नुभयो, ‘हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी निर्माण हुने उक्त पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकको डिजाइन तयार गरिएको छ ।’ शाक्यका अनुसार अण्डरग्राउण्ड पार्किङ, पहिलो तलामा क्युरिओका सामानहरू बेच्ने पसल, सार्वजनिक शौचालय, प्रदर्शनीकक्षहरू रहनेछन् ।

पार्कमा अपाङ्गमैत्री, बालबालिकाका लागि खेल्ने ठाउँ, ज्येष्ठ नागरिकका लागि आराम गर्ने स्थान, साइकल ट्रयाकलगायत पनि रहने गरी डिजाइन तयार पारिएको छ । डिजाइन अनुसार माथिल्लो तलामा दुई सय जति मानिस अटाउने ध्यानकेन्द्र रहने छ । ध्यानकेन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रमका लागि उपयोग गरिने छ ।

‘सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार पनि हामीले तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्न चाहेको हौँ,’ शाक्यले भन्नुभयो, ‘हामीले तयार पारेको डिजाइन अनुसार तीनकुनेको बीचमा १३ मिटर अग्लो र ९६ मिटर ब्यासका गुम्बज आकारको संरचना रहने छ । त्यही गुम्बज आकारमा करिब १६ मिटर अग्लो बुद्धको मुर्ति रहने छ । मूर्तिको बेस १२ मिटर ब्यासको रहने छ । बुद्धमूर्तिको तल छ मिटर चौडाइको धर्म–परिक्रमाचक्र रहने छ ।’ उहाँकाअनुसार तीनकुनेको तीन वटा कुनामा शङ्ख आकारको पार्क रहने छ ।

विवाद समाधनका प्रयासहरू

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मुअब्जा विवाद सुल्झाउन महानगरपालिकाकै निर्देशक दीपक अधिकारीलाई प्रारम्भिक अधिकारी तोक्नुभएको थियो । अधिकारीले आफूले उक्त जिम्मेवारी पाएपछि प्रारम्भिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई बुझाईसकेको जानकारी दिनुभयो । ‘मैले तीनकुनेको जग्गाका बारेमा विवाद भएको, ३५ रोपनीमध्ये २१ रोपनीजग्गाको मुअब्जा दिइसकेको, नेपाल सरकारले पठाएको १५ करोडमध्ये १० करोड ८० लाख वितरण गरेको बाँकी रकम फिर्ता पठाएकोलगायत विषय समावेश गरेर प्रारम्भिक प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छु,’ अधिकारीले भन्नुभयो, ‘म प्राविधिक व्यक्ति नभएकाले प्रतिवेदनमा त्यहाँको जग्गाको मुअब्जा दिन बाँकी रहेको र हाल साविक गरेर अधिग्रहण गर्न बाँकी रहेको जग्गाको यकिन तथ्याङ्क निकाल्न नापी र मालपोतसँग समन्वय गर्न पनि आग्रह गरेको छु ।’ अधिकारीले छिटै टुङ्गोमा पुगेर प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकासँगै नापी र पालपोतका अधिकारीसहित छलफल गर्ने जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter