• Tuesday, April 15, 2025

नेतृत्वलाई दबाब दिन युवा नेता सक्रिय, कतै छलफल, कतै धर्ना

लक्की चौधरी / काठमाडौँ, असार २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएपछि पार्टीका युवा नेताहरूले दुई अध्यक्षलाई मिल्न दबाब दिने कार्यक्रम तय गरेका छन् । कोरोना महामारी र सलहको समस्या विद्यमान भएका बेला सरकारको नेतृत्व गरेको दल आन्तरिक विवादमा फस्नु उचित नभएको भन्दै युवा नेताहरू दबाबको कार्यक्रम अगाडि बढाउने निर्णयमा पुगेका हुन् ।

आगामी सोमबारसम्म स्थायी कमिटी बैठक पनि सरेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिल्न केन्द्रीय कमिटीका सदस्यहरूले दबाब दिने योजना बनाएका हुन् । दबाब समूहमा दुवै पक्षका नेताहरू राख्ने तयारी भएको केन्द्रीय सदस्य नारदमुनी रानाले जानकारी दिनुभयो ।

दबाब समूहका लागि महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री पार्वत गुरुङको सक्रियतामा शनिबार केन्द्रीय सदस्यहरूको बैठक भएको छ । “दुई अध्यक्ष नमिलेसम्म पार्टीको आन्तरिक विवाद कायमै रहन्छ, त्यसैले दुवैलाई मिल्न दबाब दिनेगरी कार्यक्रम बन्दैछ” केन्दीय सदस्य रानाले भन्नुयभो ।

सुदूरपश्चिमका सांसद सक्रिय

यसैबीच सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सङ्घीय संसदका सदस्यहरूले दुई अध्यक्ष, पार्टी सचिवालयका नेता र स्थायी कमिटीका सदस्यहरूलाई दबाब दिने निर्णय गरेका छन् । उद्योगमन्त्री लेखराज भट्टको मन्त्री क्वार्टरमा भएको भेलाले पार्टी फुटबाट जोगाउन सुदूरपश्चिमका सांसदहरूको तर्फबाट सामूहिक दबाबको कार्यक्रम तय गरेको छ । भेलामा सांसदहरू लेखराज भट्ट, निरुदेवी पाल, निरा जैरु, नारदमुनी राना, नरबहादुर धामी, गणेश ठगुन्ना, लालबहादुर थापा, दीपक भट्ट, यज्ञबहादुर बोगटी, दामोदर भण्डारी, प्रेमबहादुर आले, भैरवबहादुर सिंह, शेरबहादुर कुँवर, गौरीशङ्कर चौधरी, चक्रप्रसाद स्नेही, हरिराम चौधरी, महेश महरालगायतको सहभागिता थियो ।

सत्याग्रह कायमै

नेतृत्वलाई मिल्न दबाब दिने उद्देश्यले केन्द्रीय समितिका सदस्यहरूको सत्याग्रह शनिबार पनि जारी छ । पार्टी मुख्यालय धुम्बाराहीमा दिउँसो अढाई बजेबाट शुरु भएको सत्याग्रहले पार्टी फुटबाट जोगाउन नेतृत्वसँग आग्रह गरेको छ । सत्याग्रहमा डा. विजय पौडेल, नागेन्द्र चौधरी, रविन कोइराला, प्रेमलकुमार खनाल, कलावती शर्मा, ठाकुर गैह्रै, भाष्कर काफ्ले, हिमाल शर्मा, निरज आचार्यलगायत नेताहरूको सहभागिता रहेको केन्द्रीय सदस्य प्रेमकुमार खनालले जानकारी दिनुभयो ।

अध्यक्षबीच वार्ताको तयारी

पार्टीको आन्तरिक समस्या समाधानका लागि बस्ने भनिएको दुई अध्यक्षबीचको बैठक अझै बस्न सकेको छैन । शनिबार बिहान बस्ने भनिएको बैठक स्थायी कमिटी बैठक सरेपछि अध्यक्षद्वय फुर्सदिला हुनुभएको एक केन्द्रीय सदस्यले बताउनुभयो । दुवै अध्यक्षले आ–आफ्ना पक्षका नेताहरूसँग आन्तरिक छलफलमा रहनुभएकाले समय व्यवस्थापन हुन नसकेको उहाँको भनाइ छ । सोमबार बिहानसम्मको दुई पक्षीय, बहुपक्षीय बैठकले मन माझामाझ भई सहमतिमा पुग्न सहज हुने ती केन्द्रीय सदस्यले विश्वास व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter