• Sunday, May 25, 2025

ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा घुम्न आउने पर्यटक बढ्दै

उदयपुर, मङ्सिर ३० गते। चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा मङ्सिरको दोस्रो हप्तादेखि घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । गतवर्ष चैतदेखि यस वर्षको कात्तिकसम्म कोरोना सङ्क्रमणको महामारी र बन्दाबन्दीका कारण पर्यटक आगमन ठप्प भएको चौदण्डीगढी क्षेत्रमा अब दैनिक पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ ।

बन्दाबन्दी खुलेर कोरोनाको सङ्क्रमणको अवस्थामा सुधार हुँदै गएपछि दैनिक सयौंँको सङ्ख्यामा पर्यटक चौदण्डी क्षेत्रको भ्रमणमा जाने गरेको चौदण्डी पर्यटन विकास व्यवस्थापन समितिका संयोजक रोहित तामाङ बताउनुहुन्छ । अहिले जिल्लाभित्रका साथै प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, इलामसहित प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषासहित भारतको पश्चिम बङ्गाल क्षेत्रबाट समेत पर्यटक चौदण्डीको भ्रमणमा आउन थालेको जनाइएको छ ।

चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधारका सम्पूर्ण कार्य तथा व्यवस्थापन भइसकेको कारण पर्यटकलाई आवतजावत गर्न सहज भएको बताउनुभयो । चौदण्डीमा दृश्यावलोकन स्तम्भ, खानेपानीसहित सडक व्यवस्थापन सम्पन्न भइसकेका छन् । नगरपालिकाले प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गर्दै चौदण्डीको पर्यटन विकासको नयाँ योजना सञ्चालन शुरु गरेको छ ।

समुद्री सतहबाट एक हजार ८०० मिटरको उचाइमा अवस्थित चौदण्डीगढीबाट उत्तरी क्षेत्रका महत्वपूर्ण आठ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । प्रदेश नं १ का पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङ र सङ्खुवासभाको पनि एकैचोटि अवलोकन गर्न सकिन्छ ।

यस्तै तराईका जिल्ला सुनसरी, झापा, मोरङ, सप्तरी र सिरहाका साथै सप्तकोशी नदीको सुन्दर दृश्य र दक्षिण भारतको विहार क्षेत्रसहित वीरपुर सुपौला जिल्ला अवलोकन गर्न सकिने संयोजक तामाङ बताउनुहुन्छ । सन् १७७३ सम्म पूर्वमा सेनवंशको राजधानी र राज्य रहेको उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्रको चौदण्डीगढीमा केही वर्ष यतादेखि पर्यटन विकासको पूर्वाधार तीव्र रुपमा तयार हुँदै गएपछि यसको मुहार फेरिँदै गएको छ ।

चौदण्डीगढीलाई पर्यटन विकासको हिसाबले अगाडि बढाउन अहिले सङ्घीय सरकार, शहरी विकास मन्त्रालयदेखि जिल्ला समन्वय समिति उदयपुर, प्रदेश नं १ सरकार र चौदण्डीगढी नगरपालिकाले महत्वपूर्ण योजना सञ्चालन शुरु गरेपछि यस क्षेत्र प्रदेश नं १ को नै महत्वपूर्ण पर्यटन केद्र बन्दै गएको छ ।

विगतमा चौदण्डी गढीमा रहेका सेनराजाका दरबारको पर्खाल तथा महत्वपूर्ण वस्तुका भग्नावशेषको संरक्षण र दरबार क्षेत्र वरपर घेराबेरा गरेर यसलाई अझ व्यवस्थित बनाउने कार्य तथा दरबार परिसरको संरक्षण गर्ने कार्यसमेत भइरहेको चौदण्डी विकास समितिका संयोजक तामाङ बताउनुहुन्छ ।

सन् १६७१ सम्म पूर्वका चौदण्डी विजयपुर र कमलाक्षेत्रसम्म एउटै चौदण्डी सेनराज्य रहेको स्नातकोत्तर क्याम्पस विराटनगरका प्रा डा अपार लम्साल बताउनुहुन्छ । १६७१ मा पूर्वको सेनराज्य विभाजन भएपछि विजयपुर र चौदण्डी गढीमा विभाजन भई चौदण्डीगढी राज्य रहन गएको इतिहासकार बताउँछन् ।

चौदण्डीका पहिलो राजा जगत सेन थिए । त्यसपछि विक्रम सेन, मुकुन्दसेन तृतीय र अन्तिम राजा बुद्धिकर्ण सेनले राज्य गरेका थिए । सन् १७७३ जुलाई १६ मा गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्ना फौज अभिमानसिंह बस्नेत, स्वरुपसिंह कार्कीलगायतको नेतृत्वमा पठाई चौदण्डीगढी नेपालमा गाभेको इतिहासकार बताउँछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter