• Saturday, May 24, 2025

दशकौंपछि बल्ल लालपुर्जा

गोपालप्रसाद बराल / महोत्तरी, पुस ११ गते । ‘याह जिनगीमें लालपुर्जा भेटगेल’ (यसै जन्ममा लालपुर्जा पाइयो) आफ्नो घरबासको जग्गाको लालपुर्जा पाएपछि दङ्ग पर्नुभएकी महोत्तरीको गौशाला नगरपालिका–१० बटौवाकी ७० वर्षीया दुखनीदेवी महतोले भन्नुभयो, “हमर नाममे भेटके छल, तब ससुर आ घरवालाके केना भेटित ?” अर्थात मेरा नाउँमा बन्नु रहेछ, अनि मेरा ससुरा र पतिले के पाउँथे र ?

शुक्रबार दुखनीसहित गौशाला नगरपालिकाका वडा नं १०, ११ र १२ का १४० घरबासीले आफ्नो घडेरीको जग्गा धनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । साविकको पञ्चायतीकालमा १ नं बहादुरगञ्ज र २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनायता २०४९ को स्थानीय निर्वाचनमा लक्ष्मीनियाँ गाउँ विकास समिति भनिएको ठाउँ हाल गौशाला नगरपालिकाको १०, ११ र १२ नं वडामा समेटिएका छन् । वर्षौदेखि आफ्नो नाउँमा जग्गा पनि छ भन्ने अनुभूति गर्न नपाएका गरीबका लागि शुक्रबार प्राप्त लालपुर्जा ठूलो खुशीको विषय बनेको छ ।

“बाबु जोहर अली लालपुर्जा हेर्ने धोकोमै जानुभयो, म पनि जीवनको अन्तिमकालमा टेकिसकें, जीवनमा यस्तो खुशी पहिलो पटक महसुस गर्दैछु”, गौशाला–१० कै ७८ वर्षीय अव्दुल रहमान चुरौटेले खुशीका आँसु पुछ्दै भन्नुभयो, “अब हाम्रो घर आफ्नै नाउँको जग्गामा भयो ।” नापी कार्यालय महोत्तरीले दिएको लालपुर्जाको जग्गाधनी महलमा अव्दुल रहमान चुरौटे र उहाँकी पत्नी जमनेशा खातुनको नाम उल्लेख छ ।

पुस्तौंपछि आफ्नो घर रहेको जग्गाको लालपुर्जा पाउँदा गौशाला–११ की गीता श्रेष्ठ, गौशाला–१० की ७३ वर्षीया माल्सरदेवी, जलिल शेष र सैपूmल खातुन पनि खुशीले दङ्ग पर्नुभएको छ । “बाजे, बाबु यसै ठाउँमा सिद्धिए, उनीहरुले लालपुर्जा हेर्न पाएनन्”, सैपूmल खातुनले भन्नुभयो, “जे होस्, अहिले हामीले पायौं, अमूल्य कुरो पाएको जस्तो खुशी छ ।

” “हामीले भोगको आधारमा गरेको नापीपछि वितरण गर्ने लालपुर्जामा घरमूली पति, पत्नी दुबैको नाउँ राख्ने गरेका छौं”, नापी कार्यालय महोत्तरीका प्रमुख नापी अधिकृत राकेशकुमार रशिकले भन्नुभयो, “यसले महिलालाई मेरो पनि घरको सम्पतिमा स्वामित्व छ भन्ने स्वाभिमान हँुदो रहेछ ।” मुख्य घरमूली पति वा पत्नीको मृत्यु भइसकेको रहेछ भने दुबैमध्ये जो जीवित छन्, उनकै नाउँमा जग्गाधनी प्रमाणपुर्जा बनाइने गरिएको रसिकले बताउनुभयो ।

लालपुर्जा वितरण गर्न नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख प्रशासकीय अधिकृत रसिक, मालपोत तथा भूमिसुधार कार्यालय महोत्तरीका प्रमुख दीपेन्द्रकुमार झासहितका अधिकारी घरबासीहरुकै बस्तीमा शुक्रबार पुग्नुभएको थियो ।

लालपुर्जा वितरण कार्यक्रममा गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले अब कोही जग्गावीहिन नरहने बताउनुभयो । “हामीले भूमि आयोगसँग सम्झौता गरिसकेका छौं”, उहाँले भन्नुभयो, “यही आर्थिक वर्षभित्र सबै अव्यवस्थित बसोबासी र सुकुम्बासीको व्यवस्थापन गरी सक्नेछौं ।”

गौशाला नगरपालिकाका–१०, ११ र १२ वडाबस्तीका १४० परिवारले शुक्रबार लालपुर्जा पाएका छन् । लालपुर्जा पाउनेमा मुस्लिम, कोइरी, नेवार र तत्मासहित आर्थिक रुपले पिछडिएका समुदाय छन् । सबै परिवारलाई प्रदान गरिएको लालपुर्जाअनुसारको जग्गा जम्मा पाँच हेक्टर क्षेत्रफल रहेको नापी कार्यालय महोत्तरीले जनाएको छ । घरबासी जग्गा नापी गरेर खडा गरेको स्रेस्ताका आधारमा जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।

यसअघि जिल्लामा कायम रहेका (२०६४ सालअघि) ७६ गाविस (गाउँ विकास समिति) र एक नगरपालिका क्षेत्रका सबै बस्तीमा घरबासी जग्गा नापी गरेर जग्गाधनी प्रमाणपुर्जा दिने गरिएको प्रमुख नापी अधिकृत रसिकले बताउनुभयो ।

चालु आर्थिक वर्षमा ११ वटा पहिलेका गाविस क्षेत्रमा लालपुर्जा वितरण गरिने गरी काममा लागिएको नापी कार्यालय महोत्तरीले जनाएको छ ।

लालपुर्जा वितरण गरिनेमा बलवा, किसाननगर, पशुपतिनगर, हाथीलेट, रामगोपालपुर, लोहारपट्टी, भटौलिया, इटहर्वाकट्टी, साँढा, धिरापुर र मनरा छन् । तीमध्ये बलवामा पुस महिनाभित्रै लालपुर्जा वितरण गरिने प्रमुख नापी अधिकृत रसिकको भनाइ छ ।

जिल्लामा बाँकी रहेका पहिलेका गाविस क्षेत्रमा आउने आर्थिक वर्षका लागि पनि लालपुर्जा वितरणको पूर्वतयारी अहिलेदेखि नै थालिएको छ । अब यो निरन्तर प्रक्रियाबाट सबै बस्तीलाई समेटिने नापी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter